• २० वैशाख २०८१, बिहिबार

एक करोड २० लाख बराबरको कपडा बरामद

blog

वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी बरामद गरेको कपडा । तस्बिर : दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख ७ गते । 
भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी  भण्डारण गरी राखेको एक करोड २० लाख रुपियाँ मूल्य बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित तुलस्यान मार्केट (पमपम बिल्डिङ) मा रहेका दुईवटा गोदाममा छापामारी गरी एक करोड २० लाख रुपियाँ मूल्य बराबरको पाइन्ट, सर्ट तथा सर्टिङ/सुटिङको कपडा बरामद गरेको हो ।

प्रहरीले बिहीबार दिउँसो ३ः३० बजे तुलस्यान मार्केटमा रहेको आकाशकुमार गुप्ताको गोदामबाट ८० लाख रुपियाँ मूल्य बराबरको र रामएकबाल कुशवाहाको गोदामबाट ४० लाख रुपियाँ मूल्य बराबरको सर्टिङ सुर्टिङ तथा पाइन्ट र सर्टको कपडा बरामद गरेको जानकारी शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो । 

बरामद गरिएको कपडा आवश्यक थप कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।

छापामारी गर्दा सामान्यतया जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, घरेलु, उद्योग वाणिज्य सङ्घ र वडा पालिकाका प्रतिनिधि सहभागी गराउनुपर्ने भए पनि यस छापामारीमा प्रहरीबाहेक अन्य निकाय सहभागी नरहेकाले व्यापारीहरूमा त्रास फैलिएको छ ।

शुक्रबार तुलस्यान मार्केट (पमपम बिल्डिङ) मा रहेका कमला ईम्पोरियम, अंश ट्रेडर्स, गुड्डु कलेक्सन, अंशु ट्रेडर्स, काजल इम्पेक्स लगायतका अधिकांश कपडा पसलहरू बन्द देखिएका छन् ।