• १८ वैशाख २०८१, मङ्गलबार

तीर्थयात्रीका लागि आश्रम निर्माण

blog

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख ५ गते । जिल्लाको रामपुर नगरपालिका–५, रामघाटमा आश्रम निर्माण गरिएको छ । कालीगण्डकी नदीको किनार धार्मिक तथा ऐतिहासिक स्थल रामघाट आश्रम निर्माण गरी सञ्चालनमा ल्याइएको हो । 

लक्ष्मीनारायण गुठी सञ्चालन संस्था द्वारा सञ्चालित राम लक्ष्मण तीर्थस्थल रामघाटमा आश्रमको बुधबार रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नुभएको हो । उहाँले तीर्थयात्राका लागि रामपुर आउनुहुने श्रद्धालु भक्तजनलाई आश्रम सञ्चालनसँगै थप सहज हुने बताउनुभयो । रामघाट जाने सडक पूर्वाधार स्तरोन्नतिको कार्य भइरहेको भन्दै रामघाटमा निर्माण भएको धर्म आश्रम तथा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

ज्येष्ठ नागरिकहरूको लागि घरदेखि मिलन केन्द्रसम्म आउन जान बस सेवा सञ्चालन गर्ने तथा स्वास्थ्य सेवाको व्यवस्था गरिने बताउनुभयो । रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले आश्रम सञ्चालनसँगै रामपुरको धार्मिक पर्यटन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले आश्रममा तीर्थयात्रीहरूका लागि निःशुल्क बास सहित न्यूनतम शुल्कमा खाना र नास्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

सङ्घीय सरकारको २५ लाख, लुम्बिनी प्रदेश सरकारको पाँच लाख, रामपुर नगरपालिकाको छ लाख र स्थानीयको चन्दा सहयोग गरी ५८ लाखको लागतमा आश्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । दुई तले भवन सहित १३ कोठा रहेको आश्रममा ३० देखि ४० जना सम्मलाई बस्ने व्यवस्था मिलाइएको छ । 

रामघाटमा भगवान् रामचन्द्रले त्रेतायुगमा वनवासका क्रममा रामघाटमा स्नान गरेको तथ्य पाइन्छ । द्वापरयुगमा पाण्डवहरू पनि यही ठाउँमा स्नान गरेको, शुक्ला गण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको बाणको सहयोग बाट जल आउने गरेको तथ्य गङ्गा महात्म्ये, बराहपुराण तथा शिव पुराणमा उल्लेख छ । दुई सय वर्षअगाडि लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको विसं १८८९ को प्राप्त सनतबाट प्रमाणित भएको छ । 

स्थानीय तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि वि.सं. १८८९ मा मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको छ  । 

आश्रम उट्घाटनसँगै लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाले बुधबार भगवान् रामसँग जोडिएको रामघाट, राममन्दिर, राम्चे वन र रामकुवा लगायतका स्थानमा कलश यात्रा निकालेको थियो । महिला समूह, क्लब तथा यहाँका विभिन्न सङ्घ संस्थाको उपस्थितिमा रामनवमीको अवसर पारेर भगवान् रामपुर क्षेत्रको धार्मिकको प्रवर्द्धनका लागि कलश यात्रा निकालिएको संस्थाका सचिव मीनराज रेग्मीले बताउनुभयो । साँझ गङ्गा आरती हुँदैछ ।