• २१ वैशाख २०८१, शुक्रबार

सीमास्तम्भ जोगाउन चुनौती

blog

नेपाल भारत नाकामा रहेको सशस्त्र प्रहरीले रङरोगन गरेको सीमास्तम्भ ।

सिराज खान 

नेपालगन्ज, वैशाख २ गते । बाँकेका विभिन्न नदीनाला क्षेत्रको दसगजामा रहेका सीमास्तम्भ जोगाउन नेपाल भारत दुबै देशलाई चुनौती बनेको छ । राप्ती नदीलगायत अन्य विभिन्न नदी र खोलानालामा आउने बाढीका कारण हरेक वर्ष सीमास्तम्भहरु बग्ने गरेकोले उनीहरुलाई जोगाउन चुनौती बनेको हो ।  

नेपाल–भारत सीमामा पर्ने राप्ती नदी वरपरका १६ वटा सीमास्तम्भ बगेका छन् । यसरी सीमास्तम्भ बग्ने गरेको विषय नयाँ नभई धेरै पुरानो हो । खासमा बाँकेमा नेपाल–भारत सीमा हुँदै राप्ती नदी बग्छ । सोही नदीक्षेत्रमा पर्ने १६ वटा सीमास्तम्भ वर्षाैं पहिले बाढीले बगाएका हुन् । बाढीबाट सीमास्तम्भ जोगाउन दुबै देशलाई चुनौती छ । त्यसबाहेक बाँकेमा अन्य सीमास्तम्भ भने यथा अवस्थामा छन् ।

"हरेक वर्ष राप्ती नदिमा आउने बाढीले सीमास्तम्भ भएको जमिन कटान गर्छ । अनि सीमा स्तम्भ बगाउँछ । यो हरेक वर्षको समस्या हो," नरैनापुर गाउँपालिका ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले भन्नुभयो, "खासमा यो हराएको वा कसैले वरपर सारेको भन्दा पनि नदिमा आउने बाढीका कारण निम्तिएको समस्या हो ।"

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर खुला सीमा नाका अन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमास्तम्भ बगेका छन् । अन्य सीमास्तम्भ सुरक्षित र यथास्थानमा रहे पनि विगत देखिनै राप्ती नदीक्षेत्रमा पर्ने स्तम्भ भने ठूलो बाढी आउँदा बग्ने गर्छ । दुबै देशका लागि नदीनाला क्षेत्रका सीमास्तम्भ जोगाउन धौधौ पर्ने गरेको छ । 

बाँकेमा अन्य क्षेत्रको सीमास्तम्भमा कुनै प्रकारको समस्या नभए पनि स्तम्भ बग्ने समस्या भने पहिलेदेखि नै रहेको सुरक्षा स्रोतले जनाएको छ । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र २७९ सहायक गरी ३११ सीमास्तम्भ छन् । कुनै पनि सीमास्तम्भको मर्मत र रङरोगन गर्नका लागि नेपाल भारत दुबै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ ।

त्यस्तो अवस्थाका कारण बाढीले बगाएका सीमास्तम्भ बनाउन दुबै देशले सहकार्य गर्नुपर्छ । सीमास्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने व्यवस्था छ ।  

सशस्त्र प्रहरी बलले सीमास्तम्भको नियमित अनुगमन, संरक्षण गरि सम्बन्धित निकायमा पठाउने गरेको छ । दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले बाँकेका ७१ सीमास्तम्भ रङरोगन गरेको छ । सन् २०१४ यता बनेका १४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमास्तम्भ रङरोगन गरेका छन्।