• १५ वैशाख २०८१, शनिबार

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

blog

मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ । बिहीबार मन्त्रालयमा आयोजित भेटमा दुई देशबिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यबारेमा कुराकानी भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्यान्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई महत्त्व दिएको बताउनुभयो ।

भेटमा मन्त्री चौधरीले भन्नुभयो, ‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुसी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्यान्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्न उच्चस्तरीय भ्रमणको आदान–प्रदान आवश्यक छ ।’

मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेषगरी नेपालको ग्रामीण समुदायको उत्थान गर्ने प्रयासमा फिनल्यान्डको सहयोग नेपालको लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्याण्ड सरकार र जनतालाई उहाँले धन्यवाद दिनुभयो । 

नेपाल सन् २०२६ मा एलडीसी स्थितिबाट उत्तीर्ण भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको बताउँदै मन्त्री चौधरीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको चर्चा गर्नुभयो । ‘हामी फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरममा जलवायु एजेन्डाहरू प्राप्त गर्ने तरिकाको प्रशंसा गर्छौँ । नेपालले जलवायु एजेन्डा विशेषगरी हिमाली एजेन्डालाई जलवायुसम्बन्धी फोरममा पनि वकालत गर्दैआएको छ’ मन्त्री चौधरीले भन्नुभयो ।

भेटमा राजदूत रिना रिक्का हेक्काले नेपाल र फिनल्यान्डबिचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताउनुभयो ।