• १५ वैशाख २०८१, शनिबार

चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्तालाई कुलमानको आह्वान

blog

कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

काठमाडौं, चैत १५ गते। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्तालाई आह्वान गर्नुभएको छ। 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो। उहाँले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेसन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानमा करिब चार सय वटा फास्ट चार्जिङ स्टेसन राखिएको बताउनुभयो। 

उहाँले एकै ठाउँमा चार्जिङ स्टेसन बढी भएकाले यो सम्बन्धी नीति बनाइदिन लगानीकर्ताले आग्रह गरिरहेको बताउनुभयो। धुलिखेलदेखि सिन्धुली बर्दिबाससम्म धेरै सङ्ख्यामा चार्जिङ स्टेसन बनेको बताउनुभयो। उहाँले चार्जिङ स्टेसनमा गरिएको लगानी पेट्रोल पम्पमा गरिने लगानी भन्दा ठुलो हुने बताउनुभयो। 

उहाँले प्राधिकरणले चार्जिङ स्टेसनबाट नाफा कमाउन नभई प्रोत्साहनका लागि लगानी गरिरहेको बताउनु भयो। उहाँले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताउनुभयो।

उहाँले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको बताउनुभयो। ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने बताउनुभयो।