• १६ वैशाख २०८१, आइतबार

गाउँको खेलकुद : रहर छ पूर्वाधार छैन

blog

धनकुटाको सहिदभूमि गाउँपालिका एक घंघरु स्थित सहिद प्रकाश थापा स्मृतिकप भलिबल प्रतियोगिता।

कविराज घिमिरे

हिले, चैत्र ९ गते। गत फागुन पहिलो साता धनकुटाको सहिदभूमी गाउँपालिका १ घंघरुमा सहिद प्रकाश थापा स्मृतिकप भलिबल प्रतियोगिता भयो। स्थानीयले सहयोग सङ्कलन गरेर कोशी प्रदेशका विभिन्न पालिकाका टिमको सहभागितामा भएको प्रतियोगितामा खेलाडी तथा दर्शकको सहभागिता उत्साहजनक थियो। तर न त खेल मैदान खेलाडीका लागि सहज थियो न त दर्शकका लागि कुनै सुविधा। 

स्थानीय एक किसानको बारीलाई खेल मैदानको रूपमा प्रयोग गरिएको थियो। कोशी प्रदेशका विभिन्न पालिकाको भलिबल टिमको सहभागितामा गरिएको प्रतियोगितामा खेलाडी लडेर घाइते हुने जोखिम मोलेर खेलिरहेका थिए। मैदानमा डराएर खेल्नुपर्ने अवस्था थियो। सानो ठाउँ त्यसमा पनि ढुङ्गा बालुवा र धुलोले गर्दा खेललाई निक्कै असहज बनायो। खेल हेर्न आएका दर्शकलाई समेत सुख थिएन। खेल हेर्न उनीहरूले निक्कै दुःख गर्नुपर्‍यो। भिरालो ठाउँका ढुङ्गा, रुख, बाँसमा अडिएर हेर्नुपर्‍यो। सबै स्थानीयको रहर र सहयोगले भलिबल प्रतियोगिता गरे पनि पूर्वाधार नभएको सहिद प्रकाश थापा स्मृति ट्रष्टका सचिव अर्जुन थापा बताउनुहुन्छ।



खेल पूर्वाधारको अभाव हुँदा मैदानमा खेलाडी खुलेर खेल्न नसक्ने भलिबलका राष्ट्रिय रेफ्री विनय राई बताउनुहुन्छ। उहाँले भन्नुभयो, “यो इन्डोर खेल हो तर जिल्लामा कतै भलिबल खेल सञ्चालन गर्ने संरचना नै छैन। कम्तीमा म्याट मात्रै भए पनि हुने त्यो पनि छैन।” 

कोरोना सङ्क्रमणले सुस्ताएको धनकुटाको खेलकुद गतिविधि पुनः बढ्दै गएको छ। गाउँगाउँ खेलकुदका गतिविधिमा चासो बढ्दै गएको छ। तर पूर्वाधार अभावका कारण प्रतियोगिता खेतबारी तथा नदीको बगरमा गराउनु पर्ने बाध्यता छ। 

धनकुटामा फुटबल र भलिबल लोकप्रिय छ। यो बाहेक प्रत्येक वर्ष धेरै विधाका खेल समावेश गरेर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड हुन्छ। यो वर्ष गत जिल्ला सदरमुकाम बाहिर पहिलो पटक माघमा धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको आयोजना गर्‍यो। जिल्ला स्तरीय छनौट प्रतियोगितामा भलिबल र एथलेटिक्सका १५ विधा समावेश थिए। उपयुक्त मैदान र कोर्टको व्यवस्था नहुँदा खेलका सबै प्रतियोगिता दमारस्थित अरुण नदी किनारको बगरमा सञ्चालन गर्नुपर्‍यो। 

सामान्य जमिनमा बनेको मैदानमा खेल्दा जोखिम हुने भलिबल खेलाडी प्रसिद्ध श्रेष्ठ बताउनुहुन्छ। “खेल्न त खेलिन्छ तर खेल सकिँदा नसकिँदा घाइते रोइएला भन्ने चिन्ता सबै खेलाडीमा हुन्छ”, उहाँ भन्नुहुन्छ। 

धनकुटामा अहिले एक दर्जन भन्दा बढी फुटबलका प्रतियोगिता हुने गरेका छन्। सबै प्रतियोगिता अलिअलि पालिकाको सहयोगबाहेक स्थानीय स्तरमा रकम सङ्कलन गरेरै गर्ने गरिएको छ। तर धनकुटा सदरमुकाम र राजारानीमा हुने बाहेकका प्रतियोगिताको खेल मैदानको अवस्था नाजुक छ। अधिकांश प्रतियोगिता नदीका बगरमा दुखसुख निर्माण गरिएको मैदानमा हुने गरेका छन्। कतिपय मैदान धुलोका कारण खेल खेल्न नसक्ने अवस्थामा छन्। 

खेलकुदका पूर्वाधार निर्माण गर्न तिनै तहका सरकार लाग्नुपर्ने खेलाडी तथा स्थानीयको माग छ। ढुङ्गा माटोमै खेल्नु पर्दा खेलस्तर विकास नहुने, खेलाडी घाइते हुने र चोटपटक लाग्ने धनकुटा ३ साँगुरीगढीका फुटबल खेलाडी नवीन माझी बताउनुहुन्छ। सरकारले खेलकुद र त्यसका लागि आवश्यक पूर्वाधार व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउने गरे पनि बोलीअनुसारको काम नगर्ने गरेको माझीको भनाइ छ। 


धनकुटाको सागुरीगढी ३ सदामटारमा खोलाको बगरमा निर्माण गरिएको धुले खेल मैदान ।