• १३ साउन २०८१, आइतबार

प्रज्ञा स्मृति साइक्लिङको तयारी

blog

फाइल तस्बिर

काठमाडौँ, चैत ८ गते । तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुरमा प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रसकन्टी ओलम्पिक (एमटिब–एक्ससिओ) हुन लागेको हो । 

आयोजक प्रज्ञा स्मृति प्रतिष्ठान, प्रकाश दाहाल र ज्ञानु दाहालको नाममा स्थापित संस्था हो । प्रतियोगिताका संयोजक सन्तु दराइले यस संस्थाले खेलकुदबाहेक अन्य विभिन्न सामाजिक कार्य  गरिरहेको भए पनि हाल खेलकुदमा बढी केन्द्रित भएको छ, भन्नुभयो । उहाँले भरतपुर भ्रमण वर्ष मनाउने क्रममा चितवनमा साइक्लिङ आयोजना गर्न लागेको जानकारी पनि दिनुभयो । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको छ ।

यस प्रतियोगितामा इलाइट पुरुष र महिला, पुरुष मास्टर्स (४० वर्षमाथि), जुनियर पुरुष (१७ र १८ वर्ष) तथा चितवन विशेष महिला र पुरुष विधा रहनेछ । जसमा राष्ट्रिय स्तरका स्वदेशी र विदेशी गरी करिब १५० जना साइक्लिस्टले सहभागिता जनाउने बताइएको छ ।

यो प्रतियोगिता मलेसियामा हुने एसियन माउन्टेन बाइक च्याम्पियनसिप २०२४ को छनोट प्रतियोगिता पनि हो । यस प्रतियोगितामा पुरुष र महिला विधाका विजेता एसियन माउन्टेन बाइक च्याम्पियनसिप खेल्न योग्य हुने बताइएको छ । मलेसियाको पुत्र जयमा सो प्रतियोगिता मे ७ देखि १२ तारिखसम्म हुनेछ । विजेताहरूले मलेसियाको टिकटसँगै ट्रफी र नगद पुरस्कार पनि प्राप्त गर्नेछन् । पुरुष र महिला इलाइटमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँ पाउनेछन् । अनय विधामा शीर्ष तीन स्थानमा रहने साइक्लिस्टले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ प्राप्त गर्नेछन् ।  पछिल्लो संस्करणमा पुरुषतर्फ एपीएफका सुरज राना मगर र महिलातर्फ लक्ष्मी मगर च्याम्पियन हुनुभएको थियो ।

यस प्रतियोगितामा नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोग रहनेछ । यसै गरी चितवन साइकल राइडर्स क्लब पनि सहयोगीको रूपमा रहनेछ । भरतपुर महानगरपालिका प्रवर्द्धकको भूमिकामा छ । प्रमुख प्रतियोगीको एक दिनअघि शुक्रवार भरतपुरमा भरतपुर भ्रमण वर्ष २०२४अन्तर्गत बृहत् साइकल र्‍याली पनि हुनेछ । संयोजक दराइले भरतपुर साइकल सिटी भएकोले हुनाले पनि सो र्‍यालीमा चार सयदेखि पाँच सयसम्मको सहभागी हुने अनुमान छ, भन्नुभयो ।