• २१ वैशाख २०८१, शुक्रबार

लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा

blog

गोल गरेपछि लिभरपुलका खेलाडी । तस्बिर : बीबीसी

काठमाडौँ, चैत ५ गते । बलियो प्रतिद्वन्द्वी लिभरपुललाई उसैको मैदानमा अतिरिक्त समयमा ४–३ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो ।

त्यसपछि युनाइटेडले अतिरिक्त समयमा लिभरपुललाई स्तब्ध बनाएको हो । युनाइटेडले १०औँ मिनेटमा स्टक मकटोमिनेको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि लिभरपुलले ४४औँ मिनेटमा एलेक्सिस मक्यालिसटारको गोलमा बराबरी गरेको थियो । 

पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो । ८७औँ मिनेटमा युनाइटेडका एन्टोनीले गोल गर्दै खेललाई पुनः २/२ गोलको बराबरीमा ल्याउनुभयो ।त्यसपछि १०५औँ मिनेटमा लिभरपुलका हार्भि एलियटले गोल गर्दै लिभरपुललाई अगाडि बढाउनुभयो ।

११२औँ मिनेटमा युनाइटेडका मार्कस र्यासफर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । अतिरिक्त समयको इन्जुरी समयमा युनाइटेडका अमाद डियालोले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा लग्नुभयो ।

आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै चेल्सी पनि एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ । चेल्सीलाई जिताउन मार्क कुकुरेला, कोल पाल्मर, कार्ने चुक्वाहमेका र नोनी मडेकले गोल गर्नुभयो । लेस्टरका लागि स्टेफी माविडिडीले एक गोल गर्नुभयो । लेस्टरले अर्को गोल आत्मघाती उपहार पाएको थियो । एजेन्सी