मौसमः देशभर हल्कादेखि मध्यम वर्षा
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
खाना पकाउने ग्यासको प्रयोग गर्ने पाँच गुणाले बढे
खाना पकाउने ग्यासका प्रयोगकर्ता ह्वात्तै वृद्धि भएका छन् । ग्यासको मूल्य घटेपछि यसका प्रयोग गर्ने उपभोक्ताको सङ्ख्यामा वृद्धि भएको हो । सिमकोट बजारकी सुरिकला रावतले खाना पकाउने ग्यास पहिलो पटक प्रयोग गरेको बताउनुभयो । उहाँले विद्युत् नियमित नहुने र दाउराभन्दा ग्यास प्रयोग गर्दा मूल्य सस्तो पर्ने भएपछि ग्यासको प्रयोग गर्न थालेको बताउनुभयो । उहाँले दाउरा किन्दा महिनामा १० हजारभन्दा बढी खर्च हुने गरेको तर ग्यास प्रयोग गर्दा महिनामा तीन हजार चार सय मात्र खर्च हुने भएपछि यसैको प्रयोग गर्न सुरु गरेको बताउनुभयो । उहाँले आफूसहित १० जना गृहिणीले पहिलो पटक ग्यासको प्रयोग गर्न थालेको बताउनुभयो ।
महिलालाई उद्यमसँग जोड्न दुनाटपरी उद्योग
दाङको गढवा गाउँपालिका–१ की सुषमा केसी दुनाटपरी उत्पादनमा व्यस्त हुनुहुन्छ । कुनै समय भान्साको काम सकाएर दिउँसो फुर्सदमा बस्ने सुषमालाई अहिले भने फुर्सद छैन । उहाँ जस्तै सोही ठाउँकी सन्ध्या केसी पनि दुनाटपरी उत्पादनमा लागेपछि समय बचत भएको महसुस गर्नुभएको छ । दाङको गढवा गाउँपालिकाले जुरौनी गाउँका २० जना महिला दिदीबहिनीलाई तालिम दिएर गाउँमै दुनाटपरी उत्पादन गर्न लगाएपछि यहाँका स्थानीय महिला दुनाटपरी उत्पादनमा लागेका हुन् ।
बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह
लुम्बिनी प्रदेश सरकारले लमही नगरपालिकामा बाली कटानी रिपोर्टिङका लागि चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ५० हजार रुपियाँ बजेट विनियोजन गर्यो । सोही पालिका अन्तर्गत काम हुने गरी कृषि पशुपन्छी अनुगमनका लागि एक लाख रुपियाँ बजेट विनियोजन गरियो । जुन शीर्षकमा विनियोजन गरेको बजेट यदि आवश्यकता नै भएको खण्डमा वडा कार्यालयबाटै सहजै विनियोजन गरेर काम हुन सक्छ । सामान्य सिद्धान्त पालिकास्तरबाट हुन नसक्ने ठुला खालका योजना प्रदेश सरकारबाट सम्पन्न गर्ने भनिए पनि राजनीतिक पहुँच र भनसुनका आधारमा यति साना योजनामा पनि प्रदेश सरकारले लगानी गर्ने गरेको छ ।
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार गरेको छ । राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको छ । विनियमावलीको मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याउनु अगाडि सरोकारवालासँग आवश्यक राय सुझाव मागेको छ ।
नेपाली उत्पादन, उपभोग कार्यक्रम कार्यान्वयनको चरणमा
सरकारले घोषणा गरेको प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ हालै मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको प्रक्रियामा गएको हो । स्वदेशी उत्पादनको उत्पादन र उपभोग अभिवृद्धि गर्ने र निर्यात बढाउने उद्देश्यसहित आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सो कार्यक्रम घोषणा गरिएको थियो ।
कालीमाटीमा ठाउँ नपाएको किसानको गुनासो
नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान सङ्घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा ठाउँ नपाएको सङ्घले पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । सङ्घका अध्यक्ष माया केसीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गुनासो गर्दै नेपाली किसानले उत्पादन गरेको तरकारी कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रवेश नपाएको दाबी गर्नुभयो । भारतको तरकारीले बजार ओगटेको छ भने नेपाली किसानको तरकारी सडकमा फ्यालिएको उहाँले बताउनुभयो ।
चौध वर्षमा बदलिएको दिन, ९७ वर्षीय महिलाको सफल शल्यक्रिया
जेठ ४ गते वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा. भक्तमान श्रेष्ठका लागि कालो दिन हो । १४ वर्षअघि जेठ ४ गतेकै दिन तत्कालीन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठ अपहरणमा पर्नुभएको दिन थियो त्यो तर आफू अपहरणमा परेको १४ वर्षपछिको जेठ ४ गतेको कालो दिन उहाँले जीवनमा सम्झनलायक दिन बन्यो ।
बागमतीबाट २१ हजार मेट्रिक टन फोहोर सङ्कलन
बागमती सफाइ महाअभियान अन्तर्गत अहिलेसम्म २१ हजार मेट्रिक टन फोहोर सङ्कलन गरी सोको व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ११ वर्षको अवधिमा यतिको परिणाममा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको हो । त्यसै गरी सो अवधिमा बागमती नदी किनारमा छ हजार बिरुवा रोपी हुर्काएको जानकारी गराइएको छ भने विभिन्न ठाउँमा १२ वटा पार्क निर्माण गरिएको छ । यस अवधिमा सफाइ महाअभियानमा १५ लाख मानिसको सहभागिता भएको छ ।