काठमाडौं, वैशाख ११ गते । नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको हो । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रमा प्राप्त भएका नाममध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिकाका प्रमुख तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी विधान अनुसार सभापति देउवालाई प्रत्यायोजन गर्ने निर्णय भएको हो । त्यसैगरी बैठकले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी पदेन रहने निर्णयसमेत गरेको छ । बैठकले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय संसदीय समितिको सदस्यमा मनोनय गरेको छ । मुख्य सचिव पौडेलका अनुसार पार्टी विधानको धारा ३१ (१) (घ) (३) बमोजिम नेता पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गरेको हो ।
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)का दोलखाका नौ वटै स्थानीय तहमा सबै पदमा मनोनयन दर्ता गरेको छ।
नेपाल फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा निर्वाचित हुनुभएको छ ।
अविनाश चौधरीधनगढी, वैशाख ११ गते। कैलालीको कैलारी गाउँपालिका-७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको छ। गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन्। खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हाे। आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ। उहाँका अनुसार धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएकाे छ ।दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। ५० देखि ६० घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको उहाँकाे भनाइ छ ।‘धुवाँ आइरहेका कारण जलेका घरको विवरण सङ्कलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘५० देखि ६० घर जलेर नष्ट भएको हामीलाई जानकारी गराइएको छ।’ आगलागीको कारण अझैसम्म पुष्टि नभएको उहाँको भनाइ छ।
जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरुले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ ७ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसहित साना दलले आइतबार मनोनयन दर्ता गराएका छन्। बाजुरामा पहिलो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर अध्यक्ष र खुला सदस्य पदमा तीन वटा पालिकामा मनोनय दर्ता गराएको हो।
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता सुरु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तनहुँको सदरमुकाम दमौली अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा प्रदान गर्न जनशक्ति खटाउने भएको छ । जनशक्तिको लागि प्रतिष्ठान र दमौली अस्पतालबीच शुक्रबार सम्झौता भएको छ ।
रेखीराम रानापाल्पा, बैशाख ११ गते । जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयको सेवा आजदेखि एक साताका लागि बन्द भएको छ । विशालबजार र असनटोलमा भाडामा रहेका यी दुई कार्यालयले नयाँ भवनमा कार्यालय व्यवस्थापन गर्न भन्दै सेवा बन्द गरेको हुन् । मालपोत र नापीको एकीकृत कार्यालय घरेलु कार्यालयसँगै निर्माण सम्पन्न भएकोले कार्यालय स्थानान्तरणका लागि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय पाल्पाका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो । मालपोतले सूचना जारी गरेर ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, लिखतलगायतका कागजात नयाँ भवनमा सार्ने र त्यसपछि नयाँ भवनबाटै सेवा सुचारु गरिने जनाएको छ । नापी कार्यालयले पनि सोहीअनुसारको सूचना जारी गरेको छ । पाल्पामा मालपोत र नापी कार्यालय टाढा हुँदा सेवाग्राहीलाई समस्या परेको थियो ।
पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो ।
नरेन्द्र ढकालगोरखा, बैशाख ११ गते । नेपाली काँग्रेस गोरखाले जिल्लाका सबै स्थानीय तह र वडाहरुमा एकल उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले केही दल र व्यक्तिका कारण गठबन्धन सम्भव नभएको बताउनुभयो । ‘हामी केन्द्रको निर्णयअनुसार अधिक लचक भएर गठबन्धन जोगाउन अन्तिम समय लागिरह्यौं । तर केही दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले सबैसँगै मिलेर जान सकेनौ, तालमेल ट¥यो’ काँग्रेस सभापति न्यौपानेले भन्नुभयो । जिल्ला कार्यसमितिको बैठक बसेर एक्लै निर्वाचनमा जाने निर्णय गरेको उहाँले बताउनुभयो । सोहीअनुरुप जिल्लाका दुई नगरपालिका, ९ वटा गाउँपालिकाका ९४ वटै वडाका सबै पदमा उम्मेदवारी दिने निर्णय काँग्रेस गोरखाले गरेको छ । ‘काँग्रेस गोरखा कसैको दबाब र प्रभावमा नपरी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सबैलाई साथै लैजाऔं भन्ने मात्र हाम्रो धारणा थियो । अब तालमेल सम्भव नभएपछि दलहरुवीच मित्रवत सम्बन्ध कायम राख्ने हाम्रो समझदारी छ ।’केन्द्रमा भएको सहमतीअनुसार जिल्लामा संयन्त्र बनेपछि गठबन्धनका दलहरुवीच ८ वटा औपचारिक र झण्डै एक दर्जन बढी अनौपचारिक छलफलहरु गरिएको काँग्रेस गोरखाको दाबी छ । जिल्लाका ११ स्थानीय तहमध्ये यसअघिको निर्वाचनमा २ नगरपालिकाको प्रमुख, ७ गाउँपालिकाको अध्यक्ष, एक नगरपालिकाको उपप्रमुख, ६ गाउँपालिका उपाध्यक्ष र ४५ वटा वडाध्यक्ष पद काँग्रेसले जितेको थियो । केन्द्रले बनाएको सहमतिअनुसार प्रमुख जितेको पालिकामा सम्बन्धित दलले नै पाउने बताइए पनि काँग्रेस २ वटा स्थानीय तह छोड्न तयार हुँदा पनि अन्य दल नमानेको सभापति न्यौपानेले बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केन्द्रीय तहबाटै हस्तेक्षप गरी जनता समाजवादी पार्टीको अबस्थाभन्दा बढी माग दाबी गरेपछि काँग्रेस र माओवादी उक्त कुरामा सहमत हुन नसकेको ती दलका नेताहरुले बताउनुभयो । यसअघिको निर्वाचनमा केही वडामा मात्र जितेको जसपाले एउटा नगरपालिका, एउटा गाउँपालिकासहित २५ वडा र १०० भन्दा बढी सदस्य दाबी गरेको थियो । जसपाको माग पूरा गर्न नसक्ने भन्दै काँग्रेस र माओवादी मिलेर जाने सहमती नजिक पुगेका थिए । काँग्रेसले ७ र माओवादी ४ स्थानीय तह लिनेगरी तालमेलको तयारी गरिरहेकाबेला जसपाको दबाबमा केन्द्रले हस्तक्षेप गर्न खोजेपछि अन्ततः एकल प्रतिस्पर्धा गर्ने सहमती दलहरुले गरेका हुन् । काँग्रेसले एक्लै जाने घोषणा गरेपनि माओवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।
भरतपुर महानगरपालिकामा स्वतन्त्रसहित साना दलबाट सातजनाले प्रमुख पदमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
नवीन शिशिर विकबागलुङ, वैशाख ११ गते । स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलहरुले दशवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएनन् । उम्मेदवार टुंगो नलागेपछि नेकपा (एमाले) र सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी दर्ता नगराएका हुन । आईतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसानजस्तै भएको सो कार्यालयका अधिकारीहरुको भनाई छ । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिनुभयो ।सत्तागठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा (एमाले) ले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाउन नसक्दा मनोनयन रोकिएको छ । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालेले उम्मेदवारी दर्ता गरेको छैन ।सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले सर्वसम्मत उम्मेदवार टुंगो लागेको मात्र स्थानीय तहमा एमालले उम्मेदवारी दर्ता गरेको छ । पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोकाय, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यहरुले आइतबार पदबाट राजीनामा दिनुभएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिनुभएको छ ।