• १३ साउन २०८१, आइतबार

दलित बस्तीमा खानेपानीको समस्या

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन ३० गते । जगन्नाथ गाउँपालिकाको ओबाब दलित बस्तीमा खानेपानीको समस्या भएको छ । यो बस्तीमा खानेपानी नहुँदा स्थानीयवासी पैदल हिँडेर खोलाको पानी खान बाध्य छन् । 

जगन्नाथ गाउँपालिका–६, ओबाबका स्थानीय काशीचन्द्र सार्कीले खोलाको पानी बोकेर ल्याउन घण्टौँ समय लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसमाथि खोलाको धमिलो पानी पिउनुपर्ने काध्यता छ ।”

“खोलाको पानी पिउँदा बिरामी हुने गरेका छन् । स्वास्थ्यकर्मी आएर सफा स्वच्छ पानी पिउनु पर्छ भन्नुहुन्छ, तर यहाँ सफा खानेपानी नहुँदा स्थानीयलाई खोलाकै धमिलो पानी खान बाध्यता छ,” सार्कीले भन्नुभयो । 

गत बर्खाको बाढीपहिरोका कारण गाउँमा खाने गरेका पानीका मुहान सुक्दै गएपछि अहिले यहाँका स्थानीयले खोलाको पानी खानु परेको हो । यसरी खोलाको पानी पिउँदा अधिकांश स्थानीयलाई झाडापखाला, 

आउँमासी, रुघाखोकीलगायतका विभिन्न रोग लाग्ने गरेको छ ।

केही वर्ष पहिला वडा नम्बर ६ को चौगाड खोलाबाट गाउँमा खानेपानीको तीन वटा धारा निर्माण भएका थिए । गत बर्खाको बाढीपहिरोले ती सबै धारा भत्किएपछि अहिले गाउँमा खानेपानीको समस्या भएको ओबाब गाउँका स्थानीय हिउँकला सार्कीले बताउनुभयो ।

गाउँमा खानेपानी नभएकाले यहाँका महिलालाई घरको अन्य कामभन्दा बढी पानी बोक्नकै चिन्ता छ । ज्यान जोखिम गरेर पानी ल्याउनुपर्ने भएकोले पानीकै जोहो गर्नका लागि अन्य काम छोडेर पनि पानी भर्नकै लागि घरमै समय बिताउनुपर्ने बाध्यता रहेको छ । 

यस जिल्लाको दूरदराजका गाउँबस्ती अहिले पनि खानेपानीकै समस्या प्रमुख चुनौतीको रूपमा रहेको छ, यो समस्यालाई गाउँपालिकाको रकमबाट सम्भव नभएकाले विभिन्न निकायसँग बजेटका लागि पहल गर्दै आएको जगनाथ गाउँपालिकाले जनाएको छ ।