• २१ वैशाख २०८१, शुक्रबार

ऋषिपञ्चमीमा भक्तजनको भीड (फोटो फिचर)

blog

काठमाडौंको पशुपतिस्थित गुह्येश्वरी क्षेत्रमा रहेका व्रतालु हिन्दु महिलाहरु । तस्बिरः कविन अधिकारी

काठमाडौं, असोज २ गते । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको पशुपति क्षेत्र र टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । 

महिलाले आज बिहानै उठेर स्नान गरी सोमवारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी नजिकको नदी, खोला, तालतलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन छ । 

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिउउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ । 

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।