• २४ चैत २०८२, मङ्गलबार

धवलागिरि र अन्नपूर्ण आरोहण सिजन सुरु

blog

धवलागिरि हिमाल ।

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, चैत २४ गते । 
वसन्तयाम सुरु भएसँगै धवलागिरी र अन्नपूर्ण हिमाल आरोहण सुरु भएको छ । आरोहणको सिजन सुरु भएसँगै विदेशी तथा नेपाली आरोहीहरुको चहलपहल बढ्न थालेको छ । यस सिजनमा आठ हजार मिटरभन्दा अग्ला धवलागिरी र अन्नपूर्ण हिमाल आरोहणका लागि हालसम्म ४४ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरु आरोहणका लागि आधार शिविर पुग्न थालेका छन् ।

आठ हजार एकसय ६७ मिटर अग्लो धवलागिरी म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्दछ ।

पर्यटन विभागका अनुसार धवलागिरी आरोहणबाट ७५ लाख ६४ हजार ६ सय पचास र अन्नपूर्णबाट एक करोड २० लाख ४९ हजार एकसय ७५ रुपियाँ रोयल्टी संकलन भएको छ । विभागले पछिल्लो पटक जारी गरेको विवरणअनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएका छन् ।

यसैगरी, धौलागिरी आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएको पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जानकारी दिनुभयो । गत शरदयाममा धौलागिरी हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण आरोहणको अनुमति कसैले पनि लिएका थिएनन् ।


पछिल्ला केही दिनयता निरन्तर वर्षा र हिमपातका कारण आरोहणका लागि आएका आरोहीहरु आधार शिविरसम्म पुग्न कठिनाई भएको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यावसायी इन्द्रशिंह शेरचनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएर आएका आरोहीहरु आधार शिविर जाने क्रममा थिए । तर अचानक मौसममा आएको परिवर्तनले आरोहीहरु पुग्न कठिनाई भएको छ । अहिले आधार शिविरमा निरन्तर रुपमा हिमपात भइरहेको छ । मौसममा सुधार आए लगत्तै आरोहीहरु आधार शिविर तर्फ लाग्ने छन् ।’’