• ३२ असार २०८२, बुधबार

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

blog

टोकियो, असार ३२ गते । यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो । यद्यपि भूकम्पको अफवाहका कारण हङकङका पर्यटकहरूमा एक तिहाइले कमी आएको छ ।

“यो सङ्ख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तीव्र गति हो”, जापान राष्ट्रिय पर्यटन सङ्गठन (जेएनटिओ) ले एक विज्ञप्तिमा भनेको छ । ‘स्कूलको बिदासँग मिलाएर बढेको मागका’ कारण जुनमा मात्र यो सङ्ख्या सात दशमलव छ प्रतिशतले बढेर रेकर्ड ३४ लाख पुगेको सङ्गठनले बताएको छ ।

चीन, दक्षिण कोरिया, सिङ्गापुर, भारत, संयुक्त राज्य अमेरिका र जर्मनीबाट आउने पर्यटकहरूमा वर्षअनुसार वृद्धि भएका कारण यो सङ्ख्या बढेको हो । तर हङकङका यात्रुहरूको सङ्ख्या ३३ दशमलव चार प्रतिशतले घटेको छ । जेएनटिओले जापानमा ठूलो भूकम्पको चेतावनी दिने अनलाइन अफवाहलाई उद्धृत गरेको छ । सन् २०२४ मा हङकङका करिब २७ लाख मानिस जापान पुगेका थिए ।

भूकम्प कहिले आउनेछ भनेर ठ्याक्कै थाहा पाउन असम्भव भए पनि चिनियाँ सहरका बासिन्दाहरूमा डर पैदा गर्ने भविष्यवाणीहरू व्यापकरूपमा फैलिएको छ । केही पोस्टहरूले जापानी मङ्गा कमिकलाई उद्धृत गरेका छन् । लेखकको सपनामा आधारित उक्त कमिकले सन् २०२५ जुलाईमा ठूलो प्राकृतिक प्रकोपको भविष्यवाणी गर्दछ । जापानी अधिकारीहरूले बारम्बार अफवाहहरू झुटो भएको बताएका छन् । सरकारले सन् २०३० सम्ममा पर्यटक सङ्ख्या दोब्बर गरेर वार्षिक छ करोड पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । 

अधिकारीहरूले उनीहरू पर्यटकहरूलाई देशभर समान रूपमा फैलाउन चाहेको र वसन्तको चेरी फूल वा शरदको चम्किलो रङहरूको तस्बिर खिच्न उत्सुक पर्यटकहरूको अवरोधबाट बच्न चाहेको बताएका छन् । तर इटालीको भेनिस जस्ता अन्य विश्वव्यापी पर्यटक आकर्षणमा जस्तै पुरानो राजधानी क्योटो जस्ता गन्तव्यहरूमा बासिन्दाहरूबाट बढ्दो प्रतिरोध आएको छ । रासस/एएफपी