• ३२ असार २०८२, बुधबार

जैमिनीमा नागरिक स्वास्थ्य उपचार कोष

blog

नागरिक स्वास्थ्य उपचार कोषमा सहयोग गर्दै जैमिनी नगरपालिकाका योजना अधिकृत प्रेम सापकोटा । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असार ३२ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारमा सहायता पुर्‍याउने उद्देश्यले एक अर्बको ‘नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्ने भएको छ । तीन वर्षअघि घोषणा गरिएको नागरिक स्वास्थ्य उपचार कोषमा ५० लाख १० हजार रुपियाँ जम्मा भैसकेको छ । 

नगरपालिकाले पहिलो वर्ष १० लाख रुपियाँ जम्मा गरेर कोषको थालनी गरेको थियो । कोषमा चालु आर्थिक वर्षमा १५ लाख जम्मा भइसकेको र आगामी आर्थिक वर्षमा २५ लाख रुपियाँ जम्मा गर्ने गरी रकम विनियोजन गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो । कोषको व्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने नगरपालिकाको लक्ष्य छ । 

‘‘हरेक वर्ष उपचार कोष वृद्धि गरेर एक अर्ब पुर्‍याउने हाम्रो योजना छ, नागरिकले साथ दिए छिट्टै लक्ष्य पूरा हुन्छ,’’ पुनले भन्नुभयो । स्वास्थ्य सेवामा जैमिनीवासीको सहज पहुँचका लागि कोष स्थापना गर्न लागिएको पुनको भनाइ छ । 

जैमिनी नगरपालिकामा योजना अधिकृतका रूपमा कार्यरत प्रेम सापकोटाले आफ्नो जन्मदिनको अवसरमा १० हजार रुपियाँ जम्मा गरेर कोषमा योगदान गर्नुभएको छ । आम नागरिकले पनि कोषमा धेरथोर आर्थिक योगदान गर्न सके आगामी वर्ष कोषमा एक करोड पुर्‍याउन लक्ष्य पूरा हुने नगर प्रमुख पुनले बताउनुभयो । जैमिनीले कर्मचारी, जनप्रतिनिधि तथा नागरिकलाई कोषमा योगदान गर्न आव्हान समेत गरेको छ । 

नगरपालिकाले कोष सञ्चालनका लागि कार्यविधि समेत बनाएको छ । ‘‘कोष सञ्चालन गर्न कार्यविधि नै बनेको छ’’ नगर उपप्रमुख हरिहर शर्माले भन्नुभयो, ‘‘गत वर्षदेखि नै नागरिक सहायताको रूपमा कोषबाट विपन्नलाई उपचारको लागि रकम प्रदान गर्दै आएका छौं ।’’ शर्माले कोषमा एक अर्ब रुपियाँ जम्मा गरेर नगरपालिकाभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग सकिने योजना सुनाउनुभयो । क्यान्सर, मुटुरोग, मृगौला रोगको उपचारमा ठुलो खर्च लाग्ने हुँदा यस्ता विरामीलाई प्राथमिकताका साथ कोषबाट आएको ब्याजको रकम प्रदान गरिने शर्माले बताउनुभयो ।