टोपलाल अर्याल
रेसुङ्गा, वैशाख २२ गते । इस्मा गाउँपालिका–४ कोटकोटरी पुतली बजारका ४१ वर्षीय बल बहादुर दर्जीको आधा शरीर जलेर बेहाल छ । २०४३ सालमा घरमा आगो लागेपछि बल बहादुर उम्कनै पाउनु भएन । त्यो बेला कसैले बाँचेर घर फर्किने कल्पना पनि गर्थेनन् । उहाँले भन्नुभयो,“उपचारको लागि जापान सरकारको सहयोग पाएर तीन वर्ष अस्पताल बसेँ । आफूले उपचार गर्न पर्ने भए बाँच्ने थिइन् ।”
उहाँको बाल्यकाल पीडामै बिते पनि उमेर बढ्दै जाँदा सङघर्षलेनै जीवनका ४० वर्ष धकेल्नु भएकै थियो । तर, २०८१ वैशाख ८ गते डढेलो बस्ती पसेपछि घर गोठसहित लाखौँको सम्पत्ति स्वाहा बन्यो । उहाँ र परिवारले भागेर ज्यान मात्रै बचाउन सक्नुभयो । घर गोठसँगै दुई वटा लुगा सिलाउने, एउटा काठ काट्ने मेसिन र पञ्चेबाजा सेट जलेर नष्ट भए । दर्जी ‘ख’ वर्गको अपाङ्ग हुनुहुन्छ ।
परिवारलाई छिमेकी सुखाराम दर्जीकोमा राखेर बर्षदिन कटाउनुभयो । सरकारले घर निर्माणको आस देखाएर अलपत्र पारेको दर्जीको गुनासो छ । उहाँले भन्नुभयो,“दैवले चोट भन्दा अरू केही दिएन । सरकारले पनि राहतभन्दा पीडा नै थपिरह्यो ।” दर्जीको सरकारले बनाइदिने घर आधा बनेर उभिएको मात्रै छ।
छिमेकमा पैसा जुटाउन सक्ने जेनतेन छाउनसम्म सके । तर, बल बहादुर जस्तै विपन्नहरूले आधा घरमा पहिलो तल्ला समेत पुर्न सकेका छैनन् । दैनिक ठुलो पानी पर्न थालेकाले आधा घर पनि भत्किन सक्ने दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारले आशा नदेखाएको भए बाँसले बारेरै बसिन्थ्यो । अहिले न सरकारले न हामीले बनाउने अवस्थामा बिजोग स्थिति बन्यो ।”
बल बहादुरको आमा, श्रीमती र तीन छोराछोरीसहितको परिवार छ । घरसङ्गै परिवारको जोहोको पिरलो उस्तै छ । कमाई खाने मेसिन जलेर पीडा थियो । तर, पछि दाताले मेसिन दिएपछि केही राहत भयो । अहिले नौमती बाजा सेटको आसमा बल बहादुर हुनुहुन्छ । महँगो भएकाले आफैले किन्न सक्ने अवस्था छैन । धेरै जना सङ्ग सहयोगको हात फैलाए पनि बाजा किन्न नसकिएको बल बहादुरले बताउनुभयो ।
सरकारले सम्झौता अनुसारको रकम भुक्तानी नगर्दा बल बहादुरसहित दर्जनौँ अग्निपीडित बिचल्लीमा परेका छन् । गत वर्ष जिल्लामा सबैभन्दा बढी आगलागीले क्षति गरेको इस्मामा पनि कतै घर बन्ने र कतै नबन्ने अवस्था रहेको छ । इस्मा गाउँपालिका–४ का अग्निपीडितका घर आधा मात्रै छन् । निर्माण व्यवसायीले सरकारबाट पैसा नआएसम्म काम रोकेका छन् । भने इस्मा गाउँपालिका–२ का अग्निपीडितको घर निर्माण सकिए पनि निर्माण व्यवसायीले भुक्तानी नपाउँदा अर्को समस्या सृजना भइरहेको छ ।
समग्र जिल्लाभरका अग्निपीडितको घर निर्माणको रकम भुक्तानी गर्न सङ्घीय सरकारसँगै १२ करोड बढी रकम माग भए पनि नआएकाले समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।