नौरते नेपाली
जुम्ला, वैशाख २२ गते । गुठिचौर गाउँपालिका वडा नम्बर १ का पाँच वटा बस्तीका स्थानीय बिजुली विहीन भएका छन् । नापानीमा रहेको अदालिखोला लघु जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा नागरिक बिजुली विहीन भएका हुन् ।
वडा नम्बर १ मा पर्ने नापानी, गढिगाऊँ, मणि साँघु, डिल्ली कोट र मनि गाउँका ४ सय ८० घरधरीका नागरिक अन्धकारमा बस्न बाध्य छन् । गएको फाल्गुन महिनाबाट ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा पाँच वटा बस्तीका नागरिक अन्धकारमा बस्नु परेको स्थानीय तथा खड्कदेवि मावि मणि साँघुका अध्यक्ष परेक ऐडिले बताउनु भयो । उहाँका अनुसार, गाउँमा बिजुली विहीन भएको जानकारी गराउनु भयो । गाउँमा बिजुली नहुँदा सर्वसाधारणको दैनिकी मात्रै असहज भएको छैन उहाँले भन्नुभयो, “बालबालिकाको पठनपाठन पनि प्रभावित बनेको छ” । गाउँका स्थानीय दियालो र टुकीको भरमा गुजारा गरि रहेको ऐडिको भनाइ छ । छिमेकी गाउँ चोत्रा विजुलीले उज्यालो हुँदा वडा नम्बर १ भित्रकै अन्य गाउँ अन्धकारमय रहेको उहाँको भनाइ छ । गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न सोलार भएको ठाउँमा धाउनु पर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।
स्थानीय नागरिक बत्ती मुनिको अँध्यारोमा बस्न बाध्य भएको अर्का स्थानीय गणेश ऐडिको भनाइ छ । गाउँमा आयस्रोत राम्रो हुनेले सोलार प्यानल जडान गरे पनि धेरैजसो टुकीकै भरमा रहेको उहाँले जानकारी गराउनु भयो । यता अदालिखोला लघु जलविद्युत आयोजनाका सचिव काली प्रसाद बस्नेतले बिग्रेको जेनरेटर र ट्रान्समिटर आर्थिक अभावले मर्मत हुन नसकेको बताउनु भयो । २०७५ सालमा निर्माण भएको जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटर गत फाल्गुन महिनामा बिग्रेको उहाँको भनाइ छ ।
लघु जलविद्युत अवरुद्ध हुँदा पाँच गाउँका स्थानीय अन्धकारमा बस्न बाध्य भएको उहाँले बताउनु भयो । बिजुलीबाट सङ्कलन भएको महसुलले २ जना अर्पेटर र लेखापालको सेवा सुविधामा खर्च हुने गरेको बस्नेतले बताउनु भयो । स्थानीय सरकारले जेनरेटर र ट्रान्समिटर मर्मत गर्ने आश्वासन दिए पनि पुरा नभएको उहाँको भनाइ छ । जेनरेटर मर्मत गर्न करिब ७ लाख भन्दा बढी रकम लाग्ने सचिव बस्नेतले बताउनु भयो । यता वडाध्यक्ष अर्जुनकुमार महताराले लघु जलविद्युत निर्माणका लागि स्थानीय सरकारले ३ लाख विनियोजन गरेको बताउनु भयो ।
साढे २ लाख खर्च भई सकेको उहाँको भनाइ छ । यस्तै नहर मर्मतका लागि १२ लाख रकम व्यवस्थापन गरिएको वडाध्यक्ष महताराले बताउनु भयो । उक्त जलविद्युत मर्मतका लागि विनियोजन गरिएको ७ लाख मध्ये अहिले स्थानीय सरकारले रकम घटाएर ३ लाखमा झारेको वडाध्यक्ष महताराको भनाइ छ ।