• ५ माघ २०८१, शनिबार

‘पर्यटनका लागि पूर्वाधार विकास आवश्यक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनुभएको छ ।

‘ग्रामीण पर्यटन प्रवर्धनका लागि सिक्लेस महोत्सव’ को नारासहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका–१, स्थित सिक्लेस गाउँमा आयोजित माघेसङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको धारणा राख्नुभयो ।

नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उहाँले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताउनुभयो ।उहाँले सिक्लेसमा नयाँ केबुलकार निर्माणको चरणमा रहेको र केबलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिनेसमेत बताउनुभयो ।

 “सिक्लेस एउटा आकर्षक पर्यटकीय गन्व्यका रूपमा देश तथा विदेशमा प्रख्यात नै छ । केबुलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिने छ । केबुलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ,” उहाँले भन्नुभयो । सिक्लेसदेखि कोरीसम्म बन्ने नयाँ केबुलकारका लागि प्रक्रियागत कामहरू सकिसकेको जानकारी दिँदै उहाँले केबुलकार निर्माणले सो क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

यस्तै उहाँले पर्यटनका लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।

मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन आर्थिक विकासको आधार रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा अन्य सहजीकरणका लागि सरकार सधैँ तयार रहेको बताउनुभयो ।