• १६ असार २०८१, आइतबार

तिलगङ्गा विश्वविद्यालय विधेयक संसदमा

blog

काठमाडौँ, असार १४ गते । आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्न तथा आँखा उपचारमा पहुँच विस्तार गर्न नेत्र विश्वविद्यालय स्थापना हुने भएको छ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्को राष्ट्रिय सभामा हालै पेस भएको छ । 

आँखा स्वास्थ्य विज्ञान स्कुल स्थापना गर्ने, आफ्नै आँखा अस्पताल स्थापना गर्ने तथा आँखा स्वास्थ्यसम्बन्धी वस्तु उत्पादन र बिक्रीवितरण गर्नका लागि आवश्यकता अनुसार उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना हुन लागेको हो । यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई पर्ने छैन ।

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलगायत संलग्न रहेको ‘नेपाल आँखा कार्यक्रम’ र मकवानपुरमा रहेको ‘अन्धोपन निवारण समाज नामको सामाजिक संस्थामार्फत विश्वविद्यालय सञ्चालन हुने छ । यी दुवै संस्थाको सम्पत्ति तथा भौतिक संरचना यस विश्वविद्यालयको हुने छ । यी दुई संस्थाको ३१ जिल्लामा सम्पत्ति तथा जायजेथा रहेको छ । “सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगङ्गा नेत्र विश्वविद्यालय साँच्चै विदेशी विद्यार्थीका लागिसमेत उत्कृष्ट गन्तव्य हुने छ,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भन्नुभयो ।

विश्वविद्यालय सञ्चालनमा आएपछि अन्य मित्रराष्ट्रमा समेत हाल आँखा कार्यक्रमको सेवा विस्तार हुँदै जाने र यसबाट नेपाल प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय ख्याति वृद्धि हुने विश्वास लिएको मन्त्री श्रेष्ठले बताउनुभयो । 

उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्धनात्मक, अनुसन्धनात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्न यो विश्वविद्यालयले योगदान दिने विश्वास रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।