• १२ साउन २०८१, शनिबार

सरकार समृद्धिको यात्रामा : मन्त्री भण्डारी

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ १६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नकारात्मक भाष्यलाई अन्त्य गरेर सम्भावना र अवसरको खोजी गर्दै सरकार समृद्धिको यात्रामा अघि बढिरहेको बताउनुभएको छ । गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै मन्त्री भण्डारीले समृद्धिको यात्रामा देखिएका चुनौती र कठिनाइ अन्त्य गर्न सरकार केन्द्रित रहेको बताउनुभएको हो । 

“हाम्रो भाग्य र भविष्यको फैसला आफैँले गर्नुपर्नेछ । नीतिगत जटिलतालाई सहजीकरण गर्दै सफलता प्राप्तिको बाटोमा यात्रारत छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “कानुनी र संरचनात्मक सुधार अहिलेको आवश्यकता हो । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।” कृषिजन्य उत्पादनलाई आधार बनाउने, उद्योग र उद्यमशीलता प्रवर्द्धन सरकारको नीति रहेको बताउँदै उहाँले ‘स्टार्टअप’ प्रवर्द्धन गर्न ब्याजदरमा सहुलियत, रोजगारी वृद्धि तथा सेवा प्रवाहमा सुधार ल्याउन सरकार तल्लीन रहेको बताउनुभयो । 

गणतन्त्र आइसकेपछि केही भएन भन्ने भाष्य निर्माण गर्न खोजिए तापनि भूकम्प र कोरोना महामारीले सिर्जना गरेको प्रतिकूल अवस्थामा पनि मुलुकले पूर्वाधारका क्षेत्रमा फड्को मारेको मन्त्रीले बताउनुभयो । “सिँचाइ, सडक, ऊर्जा, शिक्षा तथा स्वास्थ्य क्षेत्रका उपलब्धिलाई राससको फोटो प्रदर्शनीले प्रस्ट्याएको छ”, उहाँले भन्नुभयो । 

बेरोजगारी राष्ट्रिय समस्याका रूपमा रहेको यथार्थ स्वीकार गर्दै सरकारले यसको अन्त्य गर्न सरकारले पहल गरिरहेको बताउनुभयो । “सम्भावना हाम्रो वरिपरि छ । केही हुँदैन भन्ने भाष्य निर्माण गरेर युवा जनशक्ति जसरी पलायन भइरहेका छन् । हामीले विदेशमा सम्भावना देख्छौँ, विदेशीले नेपालमा सम्भावना देखिरहेका छन्”, उहाँले भन्नुभयो, “आशालाई सम्भावनामा बदल्न सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित छ ।”

बिदेसिएका जनशक्तिलाई फर्काउने राष्ट्रिय सङ्कल्पका साथ सरकार केन्द्रित भएको उहाँको भनाइ छ । “त्यसलाई बजेटले मुखरित गरेको छ । यसले नेपाली जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्दै टुङ्गोमा पुर्‍याउन सक्छ”, मन्त्री भण्डारीले भन्नुभयो । यसैबिच, राष्ट्रियसभा सदस्यद्वय गोपी अछामी र गङ्गा बेल्वासेले पनि राससको तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभयो । आजै पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) नेता महेश्वर गहतराजले पनि प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । रासस