• ३१ वैशाख २०८१, सोमबार

काँसको ढकिया र थाकलको झोला बनाउने तालिम सुरु

blog

कमल खत्री

नेपालगन्ज, वैशाख १६ गते । महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले नेपालगन्जमा काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउने सिपमुलक तालिम सुरु भएको छ ।

‘एकल महिला क्षमता अभिवृद्धि तथा नव उद्यमी उत्पादन शिपमुलक तालिम कार्यक्रम’ अन्तर्गत नेपालगन्जमा सुरु भएको तालिम एक साता सम्म चल्नेछ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजना र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ को समन्वयमा तालिम सुरु भएको हो । तालिम नेपालगन्जस्थित कोशेली घरको हलमा वैशाख १६ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । 

तालिममा नेपालगन्ज नगरभित्रका १० जना एकल महिला र १० जना अन्य महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । एक लाख रुपियाँ लागतमा सुरु भएको तालिमका सहभागि १० जना एकल महिलाको लागि ५० हजार रुपैयाँ नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ ले र १० जना अन्य महिलाहरुको तालिमको लागि ५० हजार रुपैयाँ आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले आर्थिक सहयोग गरेको छ । 

तालिममा सहभागि महिलाहरुलाई काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउन सिकाउने गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोख्ररेल बस्नेतले बताउनुभयो । महिलाहरुलाई सिप सिकाएर उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्नको लागि तालिम अति उपयोगी भएको उहाँले बताउनुभयो । 

बस्नेतले भन्नु भयो, "स्थानीय स्तरमा पाइने प्राकृतिक सामानहरुको सदुपयोग गरेर आर्कषक वस्तु निर्माण गर्न सकिन्छ । यसले महिला उद्यमीहरुलाई उनीहरुको सिपको विकास गर्न, नव उद्यमी बन्न । नयाँ उद्यमी उत्पादन गर्न तालिमले सहयोग गर्छ ।"

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज कुमार श्रेष्ठले घरमा बसेर श्रम खेर फालिरहेका महिलाहरुलाई रोजगारी दिनको लागि कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनको लागि महिला उद्यमी संघ नेपाल बाँकेसँग सहकार्य गरेर महिला उद्यमीको क्षेत्रमा वडाले कार्यक्रम गर्ने योजना बनाउने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

तालिममा सहभागि भएकाहरुलाई प्रशिक्षक अन्जली चौधरी र कमल चौधरीले सहजीकरण गरिरहनु भएको छ । आइतबार भएको तालिमको उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष पोख्ररेलसँगै संघको निर्वतमान अध्यक्ष निरुपमा रस्तोगी, संघको प्रथम उपाध्यक्ष रेवती सिंह, दिृतीय उपाध्यक्ष आभा गौतम, सचिव नितु चन्द लगायतको सहभागिता  थियो ।