• ३१ वैशाख २०८१, सोमबार

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

blog

धुलिखेल, वैशाख १६ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बुडोलडाँडाका गगनराज श्रेष्ठले इनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उहाँले इनारकै पानी प्रयोग गर्दै आउनुभएको थियो ।

“पुरानो बनेपामा खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ तर बुडोलडाँडामा भने त्यस्तो सुविधा कहिल्यै पाएनौँ । त्यसैकारण लाइनबसेर धारामा पानी थाप्नुपर्ने वा इनारकै पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो हामीलाई”, गगनराजले भन्नुभयो ।

स्थानीय रामचन्द्र थापाले पनि धारासम्म पुग्न पाँच/सात मिनेट लागे पनि पालो पाउन धेरै कुर्नुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको गुनासो गर्नुभयो । यो समस्या गगनराज र रामचन्द्रको मात्रै होइन । अधिकांश नगरवासीका लागि खानेपानी नै सबैभन्दा ठूलो समस्याका रूमा गुनासो छ ।

पछिल्लो समय भने बनेपा नगरपालिका वडा नं ६ ले खानेपानी आपूर्तिमा सक्रियता बढाएपछि स्थानीयहरू उत्साहित भएका छन् । वडाले राजीतिक दल र सामाजिक अगुवाहरूसहित ‘वडासँग नगरबासिन्दा अभियान’ सञ्चालन गरी खानेपानी समस्या समाधानको प्रयास गरिरहेको छ । त्यसका लागि सहयोग तथा समन्वय समिति गठन गरी खानेपानी व्यवस्थापन अभियान सुरूगरेपछि स्थानीयहरू उत्साहित भएका हुन् ।

सहयोग तथा समन्वय समितिका अध्यक्ष कृष्णबुद्ध बजगाईले वडाबासीलाई खानेपानी उपलब्ध गराउन वडाअध्यक्षको सक्रियतामा वैकल्पिक स्रोतका रूपमा स—साना मुहान एकीकृत गर्ने र डीप बोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने अभियान अगाडि बढाइएको बताउनुभयो । उहाँले उपभोक्ता समितिको लागत सहभागितामा करिब रु. दुई करोड लागतको ‘एक घर एक धारा’ अभियानसहित खानेपानी व्यवस्थापनका काम अगाडि बढाइएका र चालु आर्थिक वर्षभित्र करिब आठ सय घरधुरीलाई खानेपानी खुवाउने गरी काम भइरहेको बताउनुभयो ।

वडाध्यक्ष सचितानन्द केसीले वडामा मुख्य समस्याका रूपमा रहेको खानेपानीको अभाव पूर्ति गर्न समिति बनाएर काम सुरू गरिरहेको बताउनुभयो । “अहिले वडाको मुख्य समस्या नै खानेपानीको व्यवस्थापन गर्नु हो । निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले समेत यहाँको समस्या समाधान गर्दाजस्तो नलागेपछि हामी आफैँ खानेपानी व्यवस्थापनमा जुटका छौँ”, उहाँले रासससँग भन्नुभयो । पानीको दीगो व्यवस्थापन र समानुपातिक वितरणका लागि सबै राजनीतिक दल र सरोकारवालाको सामूहिक सहभागितामा पानीको स्रोत व्यवस्थापन र डीप बोरिङमार्फत पानी सङ्कलको काम गरिने उहाँको भनाइ छ ।

उहाँका अनुसार हाल प्रदेश सरकारको रु. ३० लाख रुपियाँबाट खत्रीगाउँमा डीपबोरिङ र एक लाख ७५ हजार क्षमताको पानी ट्याङ्की, डाँडागाउँमा तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण र मुख्य पाइपलाईन विछ्याउने काम भइरहेको छ भने गोसाइँस्थानमा डीप बोरिङ खानेपानी सम्पन्न भई कार्कीगाउँ, कुइँकेलगाउँ, चाल्नेढुङ्गा, २८ किलो क्षेत्र र गैरीगाउँ क्षेत्रमा पानी वितरणको काम भइरहेको छ । त्यसैगरी काभ्रे क्याम्पसभन्दा माथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउने काम भइरहेको छ भने बुडोल, रातामाटे, सुवाल टोललगायत स्थानका लागि करिब रु. दस करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वडाध्यक्ष केसीले बताउनुभयो । रासस