• १९ वैशाख २०८१, बुधबार

विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

blog

फुङ्लिङ (ताप्लेजुङ), वैशाख ६ गते । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । 

ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा चार वटा आयोजना निर्माण भइरहेका छन् । 

ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसै गरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङ्वा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुतगतिमा अघि बढाएको छ । रासस