देशभर गाईजात्रा मनाइयो
काठमाडौं उपत्यका एवं देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ।
धनकुटामा मनाइयो गाईजात्रा
कबिराज घिमिरे हिले, साउन २७ गते। धनकुटामा शुक्रबार गाईजात्रा मनाइएको छ। विभिन्न टोलबाट जात्रा निकालेर गाईजात्रा मनाइएको हो। नेवारी समुदायको बाहुल्य रहेको धनकुटामा निकालिएको गाईजात्रा श्रीवानीमा भेला भएर एकैपटक बजार परिक्रमा गराइएको छ। मृत व्याक्तिको सम्झनामा गाईजात्रा पर्व मनाउने गरिन्छ। गाईजात्रा मदनचोक, चुवाको बोट, कोशी ग्यास, परिचय मोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो। यसरी नगर परिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ। गाईजात्रासँगै लाखेनाच र लाठीनाच निकालिएको थियो। गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ। पछिल्लो समय गाईजात्रामा धेरै भिन्नता आएको जानकार बताउँछन्। पहिले र अहिलेको परम्परामा धेरै फरक आइसकेको छ। पहिले गाई नै चाहिन्थ्यो भने अहिले मानिसलाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको छ।
पाटनमा भव्यताका साथ मनाइयो गाईजात्रा (फोटो फिचर)
मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइएको छ ।
मिथिलाञ्चलमा मनाइयो रक्षा बन्धन
मिथिलाञ्चलमा दिदीबहिनीले आ–आफ्नो दाजुभाईको हातमा राखि बाधेर रक्षा बन्धन पर्व मनाएका छन् ।
जनैपूर्णिमाको हर्षोल्लास
नेपालीको महान् चाडमध्येको एक जनैपूर्णिमाको सुरुवातसँगै चाडबाडको लहर सुरु हुने विश्वास गरिन्छ। खेतीपाती सकेर बाली भित्र्याउन बसेको अवस्था अनि रोगव्याधी लाग्ने मौसमको प्रतिकूलता पनि सकिएपछि मनाइने चाड हो, जनैपूर्णिमा। यस दिन घरघरमा क्वाँटी खाई अन्य जस्तै नेवार समूहले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउने गरेका छन्। गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी खाने चलन छ। पछिल्लो समय सबै समुदायमा यसको लोकप्रियता बढेको छ।
क्वाँटी सबै उमेर समूहलाई लाभदायी
हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडवाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडवार्ड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।
क्वाँटी पुन्ही अर्थात् भ्यागुतालाई भात
काठमाडौं, साउन २७ गते । जनैपूर्णिमाको दिन नेवार समुदायमा ’गुन्पुन्ही’ मनाइन्छ । यस दिन तराई क्षेत्रमा राखी बान्ने चलन छ । गुन्पुन्ही नेवार समुदायमा मनाउने ठूलो पर्वमध्ये एक हो । साउन शुक्लपक्षका दिन यो पर्व मनाइने गरिन्छ । यस दिन टुसा पलाएका सिमी, केराउ, बोडी, मुगी लगायत ९ प्रकारका गेडागुडी भिजाएर त्यसलाई क्वाँटी बनाएर खाने गरिन्छ । यस्ता गेडागुडीको मिश्रण केहीदिन अघि टुसा उम्रिने गरी भिजाउने चलन छ । क्वाँटी शब्द नेपाल भाषाको ’क्वाति’ शब्दबाट बनेको हो । जसअनुसार ’क्वा’ को अर्थ तातो र ’ति ’को अर्थ झोल वा सुप भएकाले ’क्वाति’ वा ’क्वाँटी’ को अर्थ तातो सुप भन्ने बुझिन्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले भने ’ब्याञ्चायात जा नकेगु’अर्थात् भ्यागुतालाई भात खुवाएर पनि मनाउने गर्छन् । सिमीको पातमा भातसँगै नौ थरी गेडागुडीको क्वाँटी पनि हुन्छन् । पातमा भात र क्वाँटी पस्किदिएर भ्यागुताका लागि खेतमा लगेर छोड्ने चलन छ । परिवारका कम्तिमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई खाना र क्वाँटी दिने गर्छन् । धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन्। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो दिनको जात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो । रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ । खेतमा काम गर्दा जति पनि किराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन चलेको संस्कृतिविद् जोशी बताउनुहुन्छ । यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायमा यस दिनको महत्व धेरै रहेको छ । नेवार समुदायमा यस दिन नौं थरिको गेडागुडी खाएर, नौ जोर कपडा लगाएर तीर्थ स्नान गरेमा यमलोकमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, निरोगी हुने, आनन्दले जीवन कट्छ र मोक्ष प्राप्त हुनेसमेत मान्यता रहेको छ । नेपाली संस्कृतिमा नौं सङ्ख्याको विशेष महत्व छ । संस्कृतिविद् श्रेष्ठका अनुसार खेतमा किराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ । रोपाइँको समयमा खेतमा जीव खाएर भ्याग्ताले बाली जोगाउने गरेको कारण पनि भ्यागुतालाई असल साथीको रुपमा लिने गरेको उहाँको भनाइ छ । “भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, उहाँ भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।” भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुवात गरेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ । यसरी नेवार जातिले वैद्धिक काल अगाडिदेखि नै विभिन्न जात्रा र पर्व मनाउँदै आएको पाइन्छ । जनै पूर्णिमा नेवार क्यालेन्डर अनुसार नवौं महिनामा पर्छ । त्यस कारण यसलाई गुन्पुन्ही भनिन्छ । यसबाहेक क्वाँटी स्वास्थ्यको लागि पनि राम्रो भएको कारण चिसो बढेसँगै क्वाँटी खाने चलन सुरु भएको मानिन्छ । यीनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ । अहिले क्वाँटी खाने चलन नेवार समुदायमा मात्रै सीमित छैन । यो गैर नेवार समुदायमा पनि उत्तिकै प्रख्यात भएको छ । यसलाई पौष्टिक आहारका रुपमा समेत लिइन्छ । यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ । जुन शरीरका लागि आवश्यक तत्व हुन् ।
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
बजार र पसलमा देखिएको जनैपूर्णिमा, रक्षा बन्धन र गाईजात्रा (फोटो फिचर)
काठमाडौं, साउन २६ गते । यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन साउन २७ गते शुक्रबार परेको छ। यसलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ। यो दिन नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ। यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ। क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ। जनैपूर्णिको अघिल्लो दिन उपत्यकाका मुख्य चोक, बजार र पसलमा क्वाँटी, जनै, गाईजात्राका सामग्री र रक्षा बन्धन किन्नेको चहलपहल देखियो। यही चहलपहललाई १२ तस्बिरमा समेटिएको छ :