• ९ पुस २०८१, मङ्गलबार

रुम्जाटारको राडीपाखी

blog

राडीपाखी उत्पादन र व्यापार व्यवसायलाई रुम्जाटारको विकासको आधार बनाऊँ । रुम्जाटार विकासको पर्खाइमा छ । यो लोभलाग्दो ठाउँको विकासका लागि दलगत राजनीतिभन्दा एक कदम माथि उठौँ नत्र समयले धिक्कार्ला है । 

कोशी प्रदेश अन्तर्गत ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि ११ किमी पूर्वमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटनको सम्भाव्य स्थल हो रुम्जाटार । बाइसे–चौबिसे राजाको पालादेखि नै किराँत वंशीहरूले शासन गरेको यस रुम्जाटार क्षेत्रको नामकरण तत्कालीन किराँती राजा रुम बुढाको नामबाट रहन गएको कुरा स्थानीय व्यक्ति बताउँछन् । किराँती राजा रुम बुढाले शासन गरेको एक ठुलो टार भएकाले यसको नामकरण रुम्जाटार रहेको र रुम बुढाकै पुर्खाहरू अर्थात् रुम्दाली राईहरू आज पनि यसको आसपास बसोबास गरेको पाइन्छ । अहिले रुम्जाटारमा रुम्दाली राईहरू होइन गुरुङहरूको बाहुल्य पाइन्छ । यहाँ गुरुङहरूको ४७० भन्दा बढी घर बस्तीहरू रहेका छन्, जुन अन्य जातिको तुलनामा झन्डै आधा हुन आउँछ ।

नेपाल एकीकरणको समयमा यस क्षेत्रमा गुरुङ सेनाहरूको प्रवेश भएको र राज्यको एकीकरणपछि यसै क्षेत्रमा बसोबास गरेको स्थानीय समाजसेवीले जानकारी दिए । नेपाली आधुनिक गीतकी प्रथम महिला गायिका मेलवा देवी र जोसमनी धर्मका प्रवर्तक सन्त योगी ज्ञानदिलदासले यस क्षेत्रको परिचय दिलाउन खेलेको भूमिकालाई स्थानीयवासीले कहिल्यै बिर्सन सक्दैनन् । सानीटारको बाटो हुँदै रुम्जाटार प्रवेश गर्ने प्रवेशद्धारमै मेलवादेवीको कुँदिएको सालिकले रुम्जाटारको सांस्कृतिक महत्वलाई झल्काउँछ । कतिपय स्थानीयले राजा महेन्द्रले रुम्जाटारकी एक गुरुङ्सेनीसँग विवाह गरी रवीन्द्र नामका सन्तानको जन्मसमेत भएको बताए भने राजा वीरेन्द्रको धाई आमासमेत रुम्जाटारकै भएको पनि बताइन्छ । विसं १९०० को अन्त्य तिरबाट रुम्जाटारका स्थानीयको राजदरबारसँग सामीप्य र हिमचिम बढ्न थालेदेखि त्यहाँका गुरुङहरू हिन्दु धर्मप्रति झुकाव राख्न थालेको पाइन्छ ।

रुम्जाटार नेपाली महिला उद्यमीहरूको हब नै हो । करिब दुई सय वर्ष अगाडिदेखि सञ्चालित राडीपाखी उद्योग रुम्जाटारको मात्र नभएर नेपालको सान र गौरवका रूपमा चिनिन्छ । राणाकालीन तथा शाहीकालीन समयमा राज्यका उच्च पदस्थ व्यक्तिलाई उपहार वा कोसेलीका रूपमा यहीँका राडीपाखी लैजाने गरिन्थ्यो भने अहिले पनि यसले केही निरन्तरता भने पाइरहेको छ । पछिल्लो समय यहाँ उत्पादित राडीपाखीहरूको माग देश विदेशमा पनि हुने गरेको पाइन्छ । रुम्जाटारको राडीपाखी नेपालमै सुन्दर, टिकाउ र बलियो मानिन्छ । केही समय पहिलेसम्म रुम्जाटारमा महिला उद्यमका रूपमा सञ्चालित करिब तीन–चार दर्जनको हाराहारीमा रहेका राडीपाखी उद्योगहरू हाल लोपोन्मुख अवस्थामा रहेको छ । हाल दुई÷तीन घरमा मात्र यसको उत्पादन हुने गरेको पाइन्छ ।

रुम्जाटारमा राडीपाखी समूह अन्तर्गत कुसन, सिङ्गल राडी, डबल राडी, चारपाटे राडी, पाँचपाटे राडी, अवडा, घुमराडी, पुरुषले लगाउने बख्खु, इस्टकोट आदि बुन्ने गरिन्छ । राडीपाखी बुन्नका लागि पाल, डोको, धोक्रो, पानी राख्नका लागि ट्याङ्की, कोरेसो, चर्खा, काठका किला, सियो धागो, कैँची, हँसिया, टेपलगायतका थुप्रै सामग्री चाहिने हुन्छ । राडीपाखी बुन्नका लागि कच्चा पदार्थका रूपमा भेडाको ऊन चाहिने र ऊनलाई गर्वे, छार्वे, कार्तिके र चैते गरी चार भागमा विभाजन गरिने गरिएको साथै गर्भे ऊनबाट बुनिएका सामग्री सबैभन्दा राम्रो हुने स्थानीय ६० वर्षीय विष्णुमाया गुरुङ बताउनु हुन्छ । गर्वे ऊनपछि कार्तिके ऊनलाई राम्रो मानिने रहेछ भने जुन महिनामा भेडाको ऊन काडिन्छ त्यहीँ महिनाको नामबाट ऊनको नामकरण गरिँदो रहेछ जस्तो कार्तिके र चैते ।

राडीपाखी तथा ऊनजन्य सामग्री तयार गर्नका लागि ऊनलाई धुने वा सुकाउनेदेखि तयारी सामग्रीलाई प्रयोग गर्न माड्दै मिहिन बनाउनेसम्मका करिब नौ चरण पार गर्नुपर्ने हुँदा यी सामग्री केही महँगो जस्तो देखिन जानेर बिक्री गरिने मूल्यलाई आधार मान्दा परलमोल समेत उठ्न नसक्ने कुरा स्थानीय उद्योगी गीता गुरुङ बताउनुहुन्छ । रुम्जाटारमा बुनिने ऊनजन्य सामग्री प्राकृतिक पद्धति अपनाइ हातैले बुनिने र मेसिनरी औजारको प्रयोग नगरिने हुँदा पचासौँ वर्षसम्म टिकाउ र भरपर्दो हुने समाजसेवी दिपा लामिछाने गुरुङले बताउनुभयो । यहाँ उत्पादित राडीपाखीलगायतका सामग्रीमा अप्राकृतिक रङहरूको प्रयोग गरिँदैन । टिकाउ र बलियोपनका साथै प्रकृतिसँगको वस्तुपरक संयोजन नै यहाँका राडीपाखीको विशेषता हो ।

ऊनको स्रोतको रूपमा रहेका भेडीगोठ घट्दै जानु, भेडापालक किसानका लागि पर्याप्त चरिचरणका लागि सामुदायिक वनजङ्गल नहुँदा भेडापालनलाई व्यवसायका रूपमा लैजान नसकिनु, भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी स्थानीय बासिन्दाको भेडा पालनमा देखिएको कम उत्साह र भेडाको ऊनको उत्पादन र प्रशोधनमा देखिएको प्राविधिक ज्ञान तथा अन्य स्रोत साधनको अभावका कारण लोपोन्मुख हुने अवस्थामा पुगेको राडीपाखी उत्पादन सङ्घकी अध्यक्ष पदमकुमारी गुरुङ र स्थानीय उद्यमी लक्ष्मी गुरुङ बताउनुहुन्छ । 

ढाड दुख्ने बिरामीका लागि राडीपाखी वरदान नै हो । हातले बुनेका अर्थात् घरबुना राडीपाखीमा सुत्ने वा बस्ने हो भने ढाड दुख्ने बिरामीका लागि थेरापीकै काम गर्ने थेरापिस्टहरू बताउँछन् । भेडाको ऊनबाट बुनिएको राडीपाखी र त्यसको घर्षणबाट उत्पन्न हुने तापका कारण यसमा औषधीय गुण पाउन सकिन्छ । त्यसमा पनि रुम्जाटारमा बुनिएका राडीपाखी घरेलु अर्थात् प्राकृतिक प्रविधिको प्रयोग गरी बनाइने भएकाले यसको विशेष महìव रहेको छ ।

आज रुम्जाटारको गौरव र महिला उद्यमीको पौरखका रूपमा मानिने रुम्जाटारको राडीपाखी उद्योग संरक्षण र प्रवर्धनको पर्खाइमा छ । राज्यका तीनै तहका सरकारबाट भेडापालक किसानलाई भेडा पालन गरी ऊनीजन्य उत्पादनका लागि प्रोत्साहन र सहयोग गर्ने, रुम्जाटारलाई एक गाउँ एक उत्पादन अन्तर्गत विशेष गरी राडीपाखी उत्पादनको हब बनाउँदै सुन्तला र कोदोजन्य उत्पादनमा जोड दिन सकेमा रुम्जाटार साँच्चै रुम्जाटार बन्ने छ । रुम्जाटारमा उत्पादित राडीपाखीलगायत अन्य उत्पादनलाई देश विदेशसम्म पहुँच पुर्‍याउन रुम्जाटार विमानस्थललाई सञ्चालनमा ल्याउने, भौतिक संरचनाहरूको निर्माण गर्ने, उर्वर भूमिको भरपुर उपयोगका लागि सिँचाइको व्यवस्था गर्न जरुरी छ । विकास र परिवर्तन एक जनाको एकल प्रयासबाट हुँदैन । रुम्जाटारको विकासका लागि सबै राजनीतिक स्वार्थभन्दा माथि उठ्न जरुरी छ । समुन्नत, समृद्ध रुम्जाटारका लागि सबैमा सङ्कल्पसहितको प्रतिबद्धताको खाँचो छ । कृषिमा आधुनिकीकरण गर्दै र आत्मनिर्भर रुम्जाटार बनाउन साझा सङ्कल्पको खाँचो रहेको प्रदेश सभाका पूर्वमन्त्री अमिरबावु गुरुङ बताउनुहुन्छ । 

अन्त्यमा, रुम्जाटारको विकासको सम्भावना बोकेको राडीपाखी उद्योग लोप हुने अवस्थामा पुगेको छ । भेडापालनमा किसानको कम रुचिका कारण कच्चा पदार्थका रूपमा ऊन उत्पादनमा कमी आउनु, गाउँका युवा शक्तिहरूको विदेश मोहका कारण युवाहरू गाउँमा छैनन् र गाउँमा आएर बस्न पनि मन पराउँदैनन् । युवा पलायनको यो भयावह अवस्थाबाट रुम्जाटार पिरोलिएको छ । युवापुस्तामा सिप र प्रविधि हस्तान्तरण गर्न नसकिनुका प्रमुख समस्याका रूपमा रहेका छन् । साथै स्थानीय घरेलु प्रविधिको प्रयोग गरी हातले राडीपाखी बन्नु पर्दा उत्पादन लागत बढ्ने भएकाले मेसिनले बुन्ने राडीपाखीभन्दा केही महँगो पर्न जान्छ ।

रुम्जाली राडीपाखीको महत्त्व बुझाउँदै यसको संरक्षण, प्रवर्धन र विकासका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको यसतर्फ समयमै ध्यान जानु जरुरी छ । रुम्जाटार गुरुङ बाहुल्य बस्ती हो । गुरुङहरूको मुख्य बस्ती रहेको रुम्जाटारमा उनीहरूको आफ्नो बेग्लै भाषा, लिपि र संस्कृति भने छैन । आफ्नो पुर्खौली पेसा, पहिचान बिर्सिएका गुरुङ समुदायको भाषा, धर्म र संस्कृति र पेसाको विकास र संवर्धनका लागि राज्यका तीनै तहका सरकारको रचनात्मक र सक्रिय पहल नै रुम्जाटारको विकासका लागि महत्त्वपूर्ण हुने छ । राडीपाखी उत्पादन र व्यापार व्यवसायलाई रुम्जाटारको विकासको आधार बनाऊँ । रुम्जाटार विकासको पर्खाइमा छ । यो लोभलाग्दो ठाउँको विकासका लागि दलगत राजनीतिभन्दा एक कदम माथि उठौँ नत्र समयले धिक्कार्ला है । 

रुम्जाटारको राडीपाखी रुम्जाटारको राडीपाखी रुम्जाटारको राडीपाखी रुम्जाटारको राडीपाखी
Author

विष्णुप्रसाद पाण्डेय