logo
२०८१ जेष्ठ ४ शुक्रवार



मानसखण्डमा आध्यात्मिक पर्यटन

पर्यटन |


मानसखण्डमा आध्यात्मिक पर्यटन


गोकर्ण दयाल
आध्यात्मिक पर्यटन विकास र प्रवद्र्धनका हिसाबले सुदूरपश्चिम प्रदेशमा ठूलो सम्भावना रहेको छ । सतीको अङ्गबाट पतन भएका १०८ शक्तिपीठमध्ये मानसखण्ड–सुदूरपश्चिम क्षेत्रमा अनेक शक्तिपीठ रहेका छन् । मानसखण्ड क्षेत्रका १६ भगवती बहिनी (षोड्स मात्रिका) र पौराणिक रूपमा रहेका सप्त मात्रिकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौवटा भगवती बहिनीका रूपमा पुज्ने परम्परा रहेको छ । भगवतीको पूजा हुने स्थानमा भूमिराज (भूमे देवता)को पनि अनिवार्य रूपमा पूजा गरिन्छ । भूमिराजलाई भगवतीका भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मस्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन रहेको छ । मस्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरातिर पुज्ने चलन रहेको छ । सुदूरपश्चिममा सातवटा, नौवटा र १६ वटा भगवतीको चर्चा हुने गरेको छ । भगवतीका बारेमा चर्चा गर्दा वैदिक, पौराणिक, ऐतिहासिक र लौकिक गरी चार प्रकारले तथ्याङ्कका आधारमा भगवतीका बारेमा व्याख्या हुनुपर्ने मानसखण्ड पुनर्जागरणका मूल अभियन्ता आचार्य घनश्याम लेखक बताउनुहुन्छ ।

सुदूरपश्चिमका विभिन्न शक्तिपीठमध्ये बैतडीमा निङ्गलासैनी, रणसैनी (त्रिपुरासुन्दरी), मेलौली भगवती, डिलासैनी, फालङासैनी, पोटलासैनी, कलफलासैनी, बिजासैनी, डोटीमा शैलेश्वरी, डडेलधुरामा उग्रतारा, बाजुरामा बडीमालिका, कञ्चनपुरमा मणिद्वीप भगवती, दार्चुलामा दार्चुला भगवती, बझाङमा सुर्मादेवी, अछाममा वरदेश्वरी, कैलालीमा नयनेश्वरी भगवती प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् ।

मानसखण्डका भगवती बहिनी
धार्मिक ग्रन्थमा सुदूरपश्चिम क्षेत्रलाई मानसखण्डका रूपमा मानिएको छ । शास्त्रमा उल्लेख भएअनुसार सुदूरपश्चिम क्षेत्रलाई देवभूमिका रूपमा पनि चिनिन्छ । त्यसमध्ये एक यस्तो छ, महिषासुर दानवले देवलोकमा देवताहरूको दमन गरी सृष्टिलाई दुःख, कष्ट र पीडा दिन लागेको समयमा सबै देवगण विष्णु भगवान्का पाउमा परे । महिषासुर दानवको वध गर्ने उपायका बारेमा आग्रह बिन्ती गर्दा ब्रह्मा, विष्णु, महेश्वरका मुखारविन्दबाट आएको तेज र अन्य देवताहरूका देहबाट आएको ज्वाला पृथ्वीमण्डलमा प्रकाशमान भई एकत्रित हुँदा भगवतीको रूपमा प्रकट भएको पौराणिक मान्यता छ ।

वैदिक भगवती
सुदूरपश्चिम क्षेत्रमा पुजिने अम्बिका, लक्ष्मी, रुद्राणी, वैष्णवी, शारदा, सरस्वती आदि वैदिक देवी भगवतीका रूपमा उल्लेख रहेको पाइन्छ । वर्णित काली, कपाली (छिन्नमस्ता), त्रिपुरसुन्दरी, उग्रतारा, धूम्रवती, भुवनेश्वरी, मसानी (भैरवी), कमला आदि नाम अत्यन्तै आदरसाथ मानसखण्डमा अङ्कित गरिएका छन् । मानसी महतारी (आमा)को पर्यायवाची शब्दका रूपमा प्रयोग गरिएको गोःरा (गमरा÷गौरा) नाम मानसखण्डको मौलिक, अति सम्मानित एवं पहिचान बोकेको नाम हो ।

पौराणिक भगवती
मानसखण्ड सुदूरपश्चिम क्षेत्रमा रहेका पौराणिक नामहरूमा त्रिपुरसुन्दरी, उग्रतारा, पञ्चेश्वरी, हिम्बुका, तुहिनजा, कोटवी, नन्दा महादेवी, पत्रेश्वरी, दर्दुरा, कालिन्दी, सत्येश्वरी, मालिका, कालिका, ढुण्ढुपा, ज्वालावती, वृन्दारका, स्कन्दभवानी, दधिजा, भ्रामरी, मलयवासा, भवानी, अम्बिका, शतशक्ति, वाराही, गिरिजा, परमेश्वरी, धूम्रवर्णा, सुष्मा, लवङ्गा, पुङ्वी, कोपा, अन्नपूर्णा, वरदेश्वरी, छायाँ, महेश्वरी, वैजयन्ती, सुरभी, कामदा, स्वर्णा, रौप्या, भुवनेश्वरी, शिलादेवी, पूर्णगिरि, वैताली, सङ्गरा, काकेश्वरी आदि देवी भगवतीका नाम मानस भूमिका मानसी देवी भगवतीका रूपमा रहेका छन् । त्यस्तै ऐतिहासिक भगवतीका रूपमा मानसखण्डमा त्रिपुरासुन्दरी, कोटवी, शैलेश्वरी, मालिका, दुर्गा, गौरी रहेका छन् ।

लौकिक भगवती
लौकिक अर्थात् लोकले मान्दै आएका बैतडीमा सातभन्दा बढी भगवती रहेको आचार्य घनश्याम लेखक बताउनुहुन्छ । बैतडीमा रहेका सातवटा भगवती बहिनीमध्ये जेठी निङ्लासैनी, रणसैनी (त्रिपुरा), पोटलासैनी, फालङ्गासैनी, कफलासैनी, डिलासैनी, बोदलासैनी र बिजासैनी भगवती छन् ।

बैतडी–त्रिपुरासुन्दरी (रणसैनी) भगवती
बैतडी सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिम गोठालापानी–झुलाघाट सडक खण्डमा रहेको त्रिपुरासुन्दरी मन्दिरलाई रणसैनी भगवतीको नामले समेत चिनिन्छ । अन्न भर्ने एक रण्या जौ (४० माना)मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किम्बदन्ती पनि रहेको छ । त्रिपुरासुन्दरी मन्दिरमा वर्षमा ६२ दिन पूजा लाग्ने र प्रत्येक औँसी, पूर्णिमा, सङ्क्रान्ति एवं चारवटा नवरात्रिमा पूजा लाग्ने मन्दिरका पुजारी पण्डित विष्णुदत्त लेखक बताउनुहुन्छ ।

बैतडी–डिलासैनी भगवती
डिलासैनी भगवतीको मन्दिर पनि बैतडीमा रहेको छ । पुरचौँडी नगरपालिका–१०, तल्लादेही र मल्लादेहीमा डिलासैनी भगवतीको मन्दिर रहेको छ । डिलासैनी भगवती स्थानीय बोहरा जातिले प्राप्त गरेको लोकोक्ति रहेको छ । दशैँका अवसरमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मन्दिर दर्शनका लागि हजारौँ भक्तजन आउने गरेका छन् ।

बैतडी– निङलासैनी भगवती
निङलासैनी भगवती मन्दिर पनि बैतडीमै छ । दशरथ चन्द राजमार्गमै पर्ने यो मन्दिर दशरथ चन्द नगरपालिका–२, देहीमाण्डौमा अवस्थित छ । यो मन्दिरमा दशैँको अष्टमी, चैते दशैँमा राँगा, बोकाको बलि दिने चलन छ । किम्बदन्तीअनुसार स्थानीय दलित समुदायका लावड जातिले निगालोका झाङमा भगवती पाएकाले निङलासैनी नाम रहेको किंबदन्ती छ । यही कारण दशैँ पर्वको अष्टमीको दिन बलि दिने राँगामध्ये सबैभन्दा पहिले लावड जातिको राँगा बाँध्ने चलन कायम छ ।
निङलासैनी मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । वर्षको सुरुमा अनन्त चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूिर्णमा, धान्य पूर्णिमा र चैत्राष्टमीका दिन विशेष पूजा लाग्ने गरेको छ ।

बैतडी–मेलौली भगवती
भगवती शक्तिपीठमध्ये मेलौली भगवतीको मन्दिर पनि बैतडीमा छ । प्रसिद्ध शक्तिपीठ मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन हुने गर्छ । नेजा, ध्वजा, भाना, भोक्कर, झाँजलगायत दाइन–दमाहाको बाजा–गाजासहित श्वेत फेटा र बागो लगाई सुनचाँदीको गहनामा सुशोभित हातमा चामर लिएर मेलैली र उदयदेवका धामीहरूले सयौँ व्यक्तिले बोक्ने चक्डोलमा सवार भई पूर्णिमाको बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्ने गर्छन् ।

बैतडी–फालङासैनी भगवती
फालङासैनी भगवतीको मन्दिर बैतडीको सुर्नया गाउँपालिकाका–५, रौलेश्वरमा रहेको छ । फालङासैनी भगवतीको मन्दिरलाई भवानी माडौँ पनि भन्ने गरिन्छ ।

बैतडी–पोटलासैनी भगवती
पोटलासैनी भगवती विशेष प्रकारको कपडाको पोकोभित्र प्राप्त भएकोले पोटलासैनी नाम रहन गएको मानिन्छ । पोटलासैनी भगवतीलाई पञ्चेश्वर गाउँपालिकास्थित रोडी गाउँका भण्डारी जातिले कुलदेवीका रूपमा समेत पूजा गर्ने गरेका छन् ।

बैतडी–कफलासैनी भगवती
बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–५ मा कफलासैनी भगवती मन्दिर रहेको छ । यहाँ दशैँमा भव्य मेला लाग्ने गर्छ । मेलामा बैतडीदेखि दार्चुलासम्मका भक्तजन भगवतीको दर्शन गर्न जाने गरेका छन् ।

बैतडी–बिजासैनी भगवती
बिजासैनीको कहिले पनि पूजा नहोस् भन्ने श्रापका कारण बिजासैनी भूमिगत भगवतीका रूपमा रहेकी छन् । बिजासैनीको पूजा नहुने भएकाले बैतडीमा कहीँकतै पनि बिजासैनीको मन्दिर निर्माण भएको छैन ।

डडेल्धुरा–उग्रतारा भगवती
उग्रतारा भगवती डडेल्धुराको अमरगढी नगरपालिका–७ र ८ को सिमानामा रहेको छ । उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रातमा र दोस्रो दिन पूजाआजा गर्ने गरिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा चारवटा गाउँबाट बिहान ‘देउरो’ आएपछि दिउँसो मेला सुरु हुने गर्छ । बिहान ४ बजे धार्मिक परम्परागत रूपमा दाइना दमाह, विकुल, भोकर र शङ्ख–घण्ट बजाएर चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेपछि मात्रै उग्रतारा भगवतीको पूजा सुरु हुने गर्छ ।

डोटी–शैलेश्वरी भगवती
विभिन्न शक्तिपीठमध्ये शैलेश्वरी भगवतीको मन्दिर डोटीको सदरमुकाम सिलगढीमा छ । शैलपुत्री भगवतीलाई शैलेश्वरी भगवतीका रूपमा मान्ने चलन रहेको छ । शैलेश्वरी देशकै प्रसिद्ध शक्तिपीठमध्येको एक हो । यहाँ दिनहुँजसो पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ । यो मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्छ । मेलामा विभिन्न ठाउँबाट हजारौँ श्रद्धालु भक्तजन आउने गर्छन् । यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ ।
शैलेश्वरी भगवतीको मन्दिरमा १४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्ने गरेको छ । शैलेश्वरी परिसरमा अन्य सातवटा मन्दिर पनि छन् । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर रहेका छन् ।

बाजुरा–बडिमालिका भगवती
भगवती बहिनीमध्येको बडिमालिकाको मन्दिर बाजुरामा पर्दछ । बडिमालिका क्षेत्र बाजुराको बडिमालिका र त्रिवेणी नगरपालिकाको सिमानामा रहेको छ । बडिमालिका क्षेत्रमा पुग्न बाजुराको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल हिँडेर पुगिन्छ ।
बडिमालिकामा वर्षको दुई पटक गङ्गा दशहरा र जनैपूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । बडिमालिका क्षेत्रमा २२ वटा हरियाली फाँट, दुई सयजति प्रजातिका रङ्गीचङ्गी फूल, लोपोन्मुख प्रजातिका वन्यजन्तु डाँफे, मुनाल र कस्तुरीको बासस्थान पनि रहेको छ । सयभन्दा बढी बहुमूल्य जडीबुटी र हरियाफाँटको बीचबाट बग्ने आकर्षक नदीहरूको सङ्गमस्थल त्रिवेणी क्षेत्र बडिमालिकाको प्रमुख आकर्षण हुन् ।

कैलाली–नयनेश्वरी भगवती
कैलाली जिल्लाको धनगढी बजारको बीचमा नयनेश्वरी भवतीको मन्दिर छ । यस मन्दिरमा नवरात्रिमा विशेष मेला लाग्ने गर्छ । साउनमा विशेष पूजा हुने नयनेश्वरी मन्दिरमा रामलीलासमेत लाग्ने गर्छ ।

कञ्चनपुर–मणिद्वीप भगवती
कञ्चनपुर जिल्लाको महेन्द्रनगरबाट पाँच किलोमिटर उत्तरतिर चुरेपहाडको फेदमा मणिद्वीप भगवती मन्दिर छ । यहाँ रहेको सुमेरुमणि आकारको पहाडलाई नै श्रीदेवी अर्थात् मणिद्वीपका रूपमा मानिन्छ । यस मणिद्वीप पहाडमा आज पनि रातको समयमा प्राकृतिक रूपमा आफैँ मणि अर्थात् दियो बलिरहने लोकविश्वास रहेको छ । मानसगुरुका अनुसार यो स्थान श्रीमद् देवीभागवत पुराणमा वर्णन गरिएको भूमणिद्वीप धाम हो । भगवतीलाई यहाँ मानसी श्रीदेवीका रूपमा पूजा गरिन्छ । भक्तजन मणिद्वीप भगवतीलाई सपनामा दर्शन दिने देवी भगवतीका रूपमा लिने गर्छन् ।

दार्चुलामा दार्चुला भगवती
दार्चुलामा दार्चुला भगवती प्रसिद्ध छिन् । दार्चुलामा मालिकार्जुन (मालिका भगवती), दोस्रो शर्माली भगवती र देलथा भगवती (देवस्थल) र व्यास गाउँपालिकामा सन्तोली भगवती प्रसिद्ध छन् । यी भगवतीको मन्दिरमा नवरात्रिमा ठूलो मेला लाग्ने गर्छ ।

बझाङ–सुर्मादेवी भगवती
दुर्गाथली गाउँपालिकास्थित थली जिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट सुर्मादेवीको उत्पत्ति भएको जनविश्वास रहेको छ । साउन पहिलो औँसीका दिन बझाङ जिल्लाकै सबैभन्दा ठूलो धार्मिक सुर्मादेवी वीरी जात मेला लाग्ने गर्छ । वीरी जात बझाङको धार्मिक महìवको पर्व हो । विशेषतः सुर्मादेवी भगवती माताको लामो समयसम्म पूजाआराधना गरी मेला मनाउने परम्परा रहेको छ । यस मेलामा दार्चुला र बाजुराबाट सयौँ तीर्थयात्री आउने गर्छन् । सुर्मादेवीलाई मिनी कैलाश मानसरोवरका रूपमा समेत लिइन्छ । कैलाश मानसरोवर जान नसक्नेले सुर्मादेवी भगवतीको तलाउमा गएर स्नान गरे पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।

अछाम–वरदेश्वरी भगवती
वरदेश्वरी (वरदा) भगवती अछाम जिल्लामा पर्ने सुप्रसिद्ध देवी हुन् । अछामको गाँजरी गाउँमा पर्ने यी भगवतीलाई वरदा देवीका भनिन्छ । यहाँ असोजको नवरात्रिको आठ दिनसम्म ठूलो मेला लाग्ने गर्छ । यसका साथै अछाम सङ्गरादेवी भगवतीको पनि विशेष स्थान रहेको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?