logo
२०७८ कार्तिक ५ शुक्रवार



दसैं बिदामा हाइकिङ गर्ने की ? यी हुन् उपत्यका नजिकका गन्तव्य

पर्यटन |


दसैं बिदामा हाइकिङ गर्ने की ? यी हुन्  उपत्यका नजिकका गन्तव्य


काठमाडौं, असोज २६ गते । नेपालीहरु दसैंको बहानामा अधिकांशले मिठो खाने र खेलमा रमाउने गर्छन् , हिन्दु धर्मावलम्बीहरुले दसैंमा ठूलाबडाको हातबाट टीका थापेर आर्शिवाद लिने गर्छन् अनि मिठो खानेकुरा खाएर समय काट्छन् । दसैं नमनाउनेले पनि विदाको समय भन्दै देखासिकी गरेर उहिँ खाने खेल्नेभन्दा अरु कुरा सोच्ने गरेको पाइदैन ।

सहरी जीवनमा विलासीका साधन अनि मिठो खान्की त छँदै त त्यहीमाथि दसैंको खाना अन्य समयभन्दा बढी गहकिलो हुन्छ । यसरी दसैंको पूर्ण समय रमाइलोमै बिताउने हो भने घरमै बसेर बिताउनुपर्छ भन्ने छैन । शारीरिक स्फूर्त र जीवनलाई सहज बनाउन, खानालाई पचाउन दिन विराएर उपत्यकाका डाँडाकाडामा पदयात्रा (हाइकिङ) गर्नु स्वास्थ्यका दृष्टीले उपयुक्त हुने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
जीवनशैली परिर्वतन नगरे आयू पनि उत्तिनै छोटिनेमा दुई मत छैन । बालबालिकादेखि बृद्धबृद्धासम्म प्रविधिसँगै सामाजिक सञ्जालमा दिनरात रमाएर विताउनु, कोठाभित्रै जीवनलाई सीमित घेरामा बनाउनु र अझ धेरैले चाडबाड भन्दै पिउने र तास खेलेर रमाउने गर्दा विशैष गरी मुटुलाई बढी असर पर्ने सहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रका मुटुरोग विषेसज्ञा कुन्जाङ शेर्पाले बताउनुभयो ।

शरीरलाई स्वास्थ्य नराखे मुटु स्वास्थ्य हुँदैन त्यसैले हाइकिङ एक उपयुक्त माध्यम भएको उहाँको सुझाव छ । सामान्यतय एकै दिनमा पुगेर घर फर्कन सक्ने गरी गरिने पदयात्रालाई हाइकिङ भन्ने गरिन्छ । चाडबाडमा गरिने यी पद्दतिलाई परिर्वतन गरेर पदयात्रा (हाइकिङ) गर्ने बानी बसाल्नु आफ्नो लागि मात्र परिवारकै लागि फाइदा हुने स्वास्थ्यकर्मीको सुझाव छ । पदयात्रा (हाइकिङ) सहरी जीवनका लागि रहर नभएर अपरिहार्यनै बन्न थालेको छ, सातामा एक दिन हाइकिङ जीवनका लागि अनिवार्य हुन आउँछ । परिवर्तित जीवनशैलीले बढ्दो रोग र सानै उमेरदेखि विभिन्न रोगो आक्रमण गर्न शुरु गर्छ । यसका लागि बच्न शारीरिक स्फुर्तीमा अनिवार्य हुने सुझाव स्वास्थ्यकर्मीको छ ।

काठमाडौं उपत्यकामा हाइकिङ संस्कृति थोरै मात्रामा विकास भए पनि अझै संस्कारको रूपमा विकास हुन सकेको छैन । उपत्यकामा प्रदूषणको दर झन् बड्दो छ, त्यसैले पनि वरपरका डाँडापाखामा निष्कनु उपयुक्त हुन्छ । सहरी बालबालिकालाई ग्रामीण परिवेश, गाउँले जनजीवन र नयाँ ठाउँ, वस्तुको अनुभव दिनु अभिभावकको दायित्व हो । हिमालको दृश्य, उपत्यकाका चारैतिर हरिया डाँडामा हिड्न हाइकिङ र ट्रेकिङ, साइकिलिङ संस्कार सहरी जीवनमा बाध्यता बनिसकेको साइकल चलाउने अभियानकर्ता रत्न श्रेष्ठ भन्नुहुन्छ । अझ दसैं विदाको समय कोठामै बिताउनुको उचित विकल्प हाइकिङ हुने उहाँको सुझाव छ।

सहरी जीवनमा सवारीसाधनको प्रयोग, कम परिश्रम हुनु अनी कार्बोहाइड्रेट र प्रोटिनयुक्त खानेकुराले शरीरलाई दिनानुदिन आलस्य हुँदै जानाले रोगी जीवन बिताउन बाध्य हुनुपरेको छ । ट्रेकिङ गर्ने पनि काठमाडौं बसेपछि खुट्टा पूरै जाम हुने, रक्तचाप बढ्नेजस्ता समस्या देखिने गरेको भन्दै दसैंमा ककनीसम्म हाइकिङ जाने योजना बनाएको पर्यटन व्यवसायी सरीता तामाङले बताउनुभयो । उपत्यकाबासीका लागि डाँडावारिपारि हाइकिङका लागि प्रशस्तै रुट छन् ।
अरु भन्दा हाइकिङ सस्तो पनि छ । घरबाटै तयारी खाना बोकेर जान पनि सकिन्छ । पानीलगायत अन्य हल्का खानेकुरा झोलामा बोकेर लान सकिन्छ । गन्तव्य अनुसार खानेकुराको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । बिहानै घरबाट निस्किएपछि निश्चित स्थान छनोट गरी खाना खाने व्यवस्था गर्नुपर्छ । हल्का खानाकै भरमा पनि दिनभर हिड्न सकिने भएकाले एक जनाका लागि पाँच सय रुपैयाँ खर्च हुने व्यसायीहरू बताउँछन् ।
हाइकिङ गर्दा ध्यान दिनुपर्ने विशेष गरी स्वास्थ्यलाई ख्याल गर्नुपर्छ शारीरिक रूपमा फिट नहुँदा हिँड्न नसक्ने अवस्था हुँदाहुँदै जानु उचित हुँदैन । तर शारीरिक तन्दुरुस्ती भए हिँड्न सहज हुने खालका स्पोर्ट सुज, सहज हुने खालको हल्का ट्राकसुट, घाम छेक्ने टोपी र लाठी अनिवार्यजस्तै हुन्छ । हाइकिङका लागि पदयात्रा गर्ने सानो बाटो भए पुग्ने भएकाले खासै रुट व्यवस्थापनको खाँचो पर्दैन । त्यसैले काठमाडौं उपत्यका वरपरका डाँडाकाडा हाइकिङ गर्न बाटो सहज भएको जानकारहरूको भनाइ छ ।
पदयात्रा (हाइकिङ) को तयारी ः
हाइकिङ जानुअघि रमाइलो गन्तव्य निश्चित गर्नुपर्छ , त्यसपछि योजना बनाउनु पर्छ । को–को जाने पहिले निश्चित हुनुपर्छ । परिवार अथवा साथीभाइसँग यसैअनुसार गन्तव्य रोज्नु उपयुक्त हुन्छ ।

काठमाडौं उपत्यका आसपासका पदयात्रा (हाइकिङ) स्पट

चन्द्रागिरी
समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइमा रहेको चन्द्रागिरि भौतिक सुविधा सम्पन्न पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेको छ । यहाँ अहिले थानकोटदेखि केबुलकारको सुविधा छ । तर, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ ।

नमोबुद्ध
समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा अवस्थित नमोबुद्ध काभ्रे जिल्लामा अवस्थित छ । यस रुटमा परिवार, साथीभाइ घुमफिरमा निस्किने जो–कोही पूरै एक दिन रमाइलो यात्राको साक्षी बन्नेछन् । काभ्रेको पनौतीदेखि परम्परागत नेवार बस्ती छिचोल्दै सुरु हुने यो रुटमा जानुअघि पनौतीसम्म भने सवारीसाधनमा जानुपर्ने हुन्छ । नमोबुद्ध आसपास सडक यातायात पुगिसकेको भए पनि स्थानीय बस्ती, कृषिभूमि, नदीनाला, पहाड र हिमाली शृंखला अवलोकन गर्न भने पैदलयात्राको विकल्प छैन ।

चम्पादेवी
एक दिनको हाइकिङका लागि उपत्यकाबासीको अर्को रोजाइ हो चम्पादेवी । हिमाली तथा पहाडी शृंखलाको अवलोकनसहित छोटो अवधिमै काठमाडौंको धुलो धुँवा छाडेर स्वच्छ वातावरण भएको ठाउँमा पुगिन्छ । समुद्री सतहबाट दुई हजार चार सय मिटर उचाइमा रहेको यस चुचुरोको यात्रा भने फर्पिङबाट प्रारम्भ गर्न सकिन्छ ।

फुलचोकी

काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो, फुलचोकी । समुद्री सतहबाट दुई हजार सात सय ५० मिटर अग्लो स्थानमा रहेको यो डाँडाबाट पनि प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पहाडी र हिमाली शृंखलाका लागि फुलचोकी धाउनेको जमात ठूलो हुन्छ । फुलचोकी यात्रा भने गोदावरीबाट सुरु गर्न सकिन्छ ।

ककनी

काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी नुवाकोट जिल्लामा अवस्थित छ । धेरैजसो मानिस ककनीसम्म पिकनिक र हाइकिङमा रमाउने उद्देश्यले पुग्ने गर्छन । तर, ककनीदेखि सूर्यचौरसम्मको हाइकिङ महत्वपूर्ण हुन्छ ।

शिवपुरी
समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । विश्वमा कुनै पनि मुलुकको राजधानीबाट नजिकको राष्ट्रिय निकुञ्जका रूपमा चर्चित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अहिले काठमाडौं उपत्यकाभित्र पिउने पानी आपूर्तिको सबैभन्दा ठूलो स्रोत हो । सेतो गुम्बा, पाइलट बाबा, बूढानीलकण्ठ, साँखु र भोटेचौर एक दिनमै घुमेर फर्किन सकिने अन्य नजिकका गन्तव्य हुन् । यी बाहेक अन्य उपयुक्तमध्ये बालाजुपार्क–तपोवन क्षेत्र, गोदावरी, त्रिभुवनपार्क, सेतोगुम्बा, चोभार, चिसापानी, इन्द्रसरोवर, सुन्दरीजल पनि महत्वपुर्ण मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप