logo
२०७८ माघ ९ आईतवार



बालबालिकाको स्वास्थ्य प्रवद्र्धन

विचार/दृष्टिकोण |


बालबालिकाको स्वास्थ्य प्रवद्र्धन


डा. नरेन्द्रसिंह ठगुन्ना

कोरोना भाइरसको सङ्क्रमण विश्वभर महामारीका रूपमा फैलिएपछि सङ्क्रमण रोक्न नेपालसहितका विश्वका धेरै मुलुकले बन्दाबन्दीको विधि अपनाए । सङ्क्रमण बढ्दै गएपछि सरकारले २०७६ चैत ११ देखि देशव्यापी बन्दाबन्दी घोषणा ग‍रेथ्यो । यसअघि पनि इबोला, सार्स र मर्सजस्ता महामारीको समयमा विभिन्न मुलुकमा सेल्फ क्वारेन्टाइनको अभ्यास गरिएको थियो । नेपालका लागि लकडाउन, क्वारेन्टाइन र होम आइसोलेसन नयाँ अभ्यास थियो । विषम परिस्थितिका कारण उत्पन्न तनावले चिड्चिडाहट, निद्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्न नसकेजस्तो हुने वा उदास हुनेलगायतका समस्या देखिन्छन् ।
कोभिड–१९ को कारण प्राथमिक र माध्यमिक विद्यालयको राष्ट्रव्यापी बन्दले लाखौँ विद्यार्थीलाई महìवपूर्ण शैक्षिक र स्वास्थ्य स्रोतबाट विच्छेद गरेको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरमा अनलाइन पद्धति पहिलेदेखि नै प्रचलनमा रहेको छ । विश्वविद्यालय स्तरमा अनलाइन कक्षा उपयुक्त देखिएको सन्दर्भमा विद्यालय तहका लागि नियन्त्रणबिनाको अनलाइन घातक हुने कुरा अध्ययनले देखाएका छन् ।

मानसिक स्वास्थ्य समस्या
कोभिडका कारण महामारीसम्बन्धी आघात र आर्थिक अस्थिरता, असमानता, गरिबीले बालबालिका र युवाको मानसिक स्वास्थ्यलाई प्रभावित गरेको छ । यसले बालबालिकाको पोषण, शारीरिक र मानसिक स्वास्थ्यको लागि विद्यालय आधारित सेवालाई प्रभावित गरेको छ । बालबालिकाको मानसिक अस्वस्थताका लक्षणहरू पनि व्यक्तिपिच्छे फरक नै हुन्छन् । प्रकोपप्रति कसरी प्रतिक्रिया देखाउँछन् भन्ने व्यक्तिको पृष्ठभूमि र समुदायमा भर पर्छ तर प्रायः मानिस मानसिक समस्यामा पर्ने जोखिम परिस्थिति हेरिकन फरक स्तरको हुन्छ ।
कोरोना भाइरस लाग्ला भन्ने डर, पारिवारका सदस्य, आफन्त र प्रियजनको स्वास्थ्यबारे चिन्तित हुनु, खाँदै नखाने वा धैरैै खाने, आत्तिनु, छटपटी हुनु, असुरक्षित महसुस हुनु, अनिश्चितता र एक्लोपनको महसुस हुनुु, अविश्वास र डरको महसुस हुनु, काम गर्ने ऊर्जा र क्षमतामा परिवर्तन आउनु, ध्यान केन्द्रित गर्नमा कठिनाइ, निदाउनमा कठिनाइ, डरलाग्दो सपना र नराम्रो सोचाइ तथा झझल्को आइरहनु, टाउको दुख्ने, शरीर दुख्ने, पेट तथा पाचन प्रणालीमा गडबडी, रक्तचाप बढ्ने, श्वास–प्रश्वासको गतिमा परिवर्तन हुने, छालामा डाबर आउनेजस्ता शारीरिक प्रतिक्रियाहरू देखिनु, दीर्घकालीन स्वास्थ्य समस्याहरू भएमा अझै बिग्रँदै जानु, झनक्क रिस उठ्नु, मद्यपान, धूमपान वा लागू पदार्थको प्रयोग गर्नु तथा मात्रा बढ्दै जानु, उदाससीनता वा निराशा महसुस हुनु, निराशा र असहायपनको अनुभव हुनुजस्ता लक्षणहरू देखिन्छन् ।

इन्टरनेटको लत
हिंस्रक किसिमका भिडियो गेम र अश्लील किसिमका सामग्री हेर्ने लतले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने कुराको पुष्टि विभिन्न अनुसन्धानले गरेको छ । दिनमा लामो समय मोबाइलमा बिताउने बालबालिकामा रिस, आक्रामक, उदासीनता, हिनताबोध, आत्महत्याको सोच, असहनशीलता र दुखीपना बढ्दै जाने सम्भावना देखिन्छ । त्यस्तै, इन्टरनेटका माध्यमबाट गरिने बुलिङलाई साइबर बुलिङ भनिन्छ । त्यसको खराबी पनि बढेको छ । व्यक्ति र समूहले ‘ब्ल्याकमेलिङ’ गर्ने सम्भावनासमेत अत्यधिक हुन्छ । वास्तवमा इन्टरनेटको कुलतबाट बालबच्चालाई जोगाउनका लागि उपयुक्त विधि भनेकै उनीहरूलाई असल संस्कार दिने र अन्य सिर्जनात्मक काममा व्यस्त राख्ने नै हो ।

वैकल्पिक शिक्षाका प्रयास
प्रायः निजी विद्यालयले बन्दाबन्दीकै अवधिमा अनलाइन कक्षा सञ्चालन गरेर सिकाइलाई निरन्तरता दिएका थिए भने सुरु भएको तीन महिनासम्म पनि सरकारले वैकल्पिक कक्षा सञ्चालनको कुनै योजना तथा खाका ल्याउन सकेको थिएन । सरकारले १८ जेठ २०७७ मा वैकल्पिक विधिबाट पढाउने गरी सिकाइ सहजीकरण निर्देशिका ल्याएर विद्यालयको पठनपाठन सञ्चालन गर्ने बाटो खुलायो । २०७७ असार १ बाट अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट र खुला शिक्षा माध्यमबाट सरकारी विद्यालयहरूमा पठनपाठन सुरु गर्न निर्देशन दियो । स्थानीय सरकारलाई स्थिति विश्लेषण गरी विद्यालय सञ्चालन गर्ने अधिकार दिइएको थियो तर पनि सरकारी विद्यालयले आवश्यक पूर्वाधार एवं जनशक्ति तत्काल तयार पार्न नसकेका कारण वैकल्पिक विधि अपनाएर पठनपाठन सञ्चालन गर्न सकेनन् ।
शिक्षा मन्त्रालयले २०७७ भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी ग‍¥यो । यस निर्देशिकाले महामारीका कारण प्रभावित पठनपाठनलाई निरन्तरता दिन रेडियो, टेलिभिजन, अनलाइन, दूर तथा खुला शिक्षा लगायतका माध्यमबाट अध्यापन चालू राख्न निर्देशन दिएको थियो । शिक्षा मन्त्रालयले २०७७ असोज १ गते सिकाइ सहजीकरण निर्देशिका पनि जारी ग¥यो । त्यसैगरी, २० कात्तिक २०७७ मा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा सार्वजनिक गरी स्थानीय सरकारले जोखिम मूल्याङ्कन गरी विद्यालय खोल्नसक्ने अधिकार प्रदान गरियो । परिणमस्वरूप अधिकांश विद्यालयले आलोपालो प्रणालीबाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न थाले ।

महामारीले सिकाएको पाठ
बन्दाबन्दीको अवधिमा स्कुलहरू पुनः खोल्ने योजना, शैक्षिक, पोषण, शारीरिक र मानसिक स्वास्थ्यको आवश्यकतालाई सुनिश्चित गर्नु अति आवश्यक देखिएको छ । बालबालिकामा कोरोना भाइरसको बारेमा जानकारी र मनोवैज्ञानिक असर कम गर्ने बारेमा समुदायस्तरमा खुलेर कुराहरू हुन थालेका छन् । बन्दाबन्दीको अवधिमा सबै बालबालिका घरपरिवारसँग भएकाले कोरोनाको बारेमा विद्यार्थीको सरसफाइप्रति चासो र ध्यान बढेको देखिन्छ । नियमित हात धुने, सरसफाइ गर्ने बानीको विकास गरेका छन् । मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन, सकारात्मक मानसिक स्वास्थ्य विकासका कुरा, स्वहेरचाहको बारेमा व्याख्या हुन थालेको छ । विद्यालयहरू बन्द भएपछि एउटा राम्रो पक्षको रूपमा विद्यार्थीले घरमै बसेर पढ्न सकिने, घरायसी काम सिक्ने पद्धतिको विकास भएको छ । जसले अभिभावकलाई घरको कामबारे सिक्नु पनि एक प्रकारको जीवनोपयोगी शिक्षाको रूपमा बुझायो ।
बालबालिकाको मानसिक स्वास्थ्य प्रवद्र्धनमा शिक्षक, अभिभावक र विद्यालयको भूमिका महìवपूर्ण हुन्छ । बालबालिकालाई अनलाइन कक्षाको सट्टा घरायसी वातावरणमा व्यावहारिक सीप सिकाउनु उपयुक्त हुन्छ । बालबालिकाका लागि छोटो समयका कक्षाको योजना गरी बढीभन्दा बढी अन्तक्र्रियात्मक क्रियाकलाप गराउनु उपयुक्त हुन्छ । बालबालिकाको मानसिक स्वास्थ्यमा पारेको असरलाई कम गर्ने तथा मानसिक रूपले स्वस्थ रहने विभिन्न उपाय छन् । क्वारेन्टाइनमा बस्दा कसरी मानसिक रूपमा स्वस्थ हुने उपायको सुुरुवात भने आफूबाटै गर्नुपर्छ ।

बालबालिकालाई मानसिक सुस्वास्थ्य प्रदान गर्न अभिभावकले बढी समय दिएर बालबालिकासँग कुराकानी गर्ने, संवेगात्मक अभिव्यक्तिका सीपको विकास गर्ने, शारीरिक व्यायामलगायत खेलकुदका क्रियाकलापमा सहभागी हुने र खाना पकाउने, परम्परागत सांस्कृतिक लचकताका क्रियाकलापमा संलग्न गराउने, घरायसी, सामाजिक, भौतिक रूपमा सक्रिय भएर गरिने किसिमका काम गर्ने र अवलोकन एवं घुमफिर गर्नेलगायतका काममा उनीहरूलाई व्यस्त राख्नुपर्छ । बालबालिकामा समर्थन र भावनात्मक नियमको सामना गर्न सिकाउने सीपहरू प्रकोपको बेला र अन्य तनावग्रस्त समयको बीचमा लचिलोपन निर्माण गर्नु महìवपूर्ण छ । कसरी शब्दमा भावनाहरू अभिव्यक्त गर्ने, सकारात्मक गतिविधिमा संलग्न हुने, आराम गर्ने, गहिरो सास फेर्ने, सामाजिक समर्थनमा पहुँच र समस्याहरू समाधान गर्न मद्दत पु-याउँछ ।
फुर्सदमा हुँदा बालबालिकाहरू राति अबेर सुत्ने र बिहान ढिला उठ्न खोज्छन् । यसले गर्दा उनीहरूको शारीरिक तथा मानसिक स्वाथ्यमा नकारात्मक असर पर्छ । त्यसैले सुत्ने र उठ्ने तालिका निर्धारण र नियमित गर्न आवश्यक छ ।
बालबालिकालाई सही र तथ्य कुराको जानकारी दिन सरकारी स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस् । समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पु¥याउनुहोस् । समाचार हेर्ने र पढ्ने कुनै निश्चित समय रोज्नुहोस् । सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् । कोभिड–१९ को रोकथामका लागि व्यक्तिबीचको दूरी ६ फिटभन्दा बढी कायम राख्नु महìवपूर्ण छ तर सामाजिक रूपमा अलग हुनु होइन । शारीरिक दूरी कायम भए पनि संवेगात्मक सम्बन्ध कायम गर्न फोन वा इन्टरेनटको सहयोगबाट कुराकानी गर्नुहोस् । तपाईंले सबभन्दा बढी विश्वास गरेको यो मनको कुरा त्यो मनले बुझ्ने व्यक्तिहरूसँग कुरा गर्नुहोस् । उदाहरणका लागि परिवारका सदस्यहरू वा साथीहरूसँग कुराकानी गर्दा तपाईंको भावनात्मक र संवेगात्मक अवस्था शान्त बनाउन मद्दत पुग्छ ।

समय तालिका अनुसार चल्ने
विद्यालय जाने उमेरका केटाकेटीहरू रुटिनमा जीवन बिताउने गरी समय तालिका बनाई घरमा पनि उनीहरूलाई स्वतन्त्र रूपमा सिकाइ गर्नका लागि वातावरण मिलाउनु आवश्यक छ । अभिभावकले बालबालिकाले गर्ने दैनिक क्रियाकलापलाई नियमित गराउन सहयोग गर्नुपर्छ । समय तालिका बनाउँदा प्रत्येक ५० मिनेटको काम पछि १० मिनेटको विश्राम दिनु मनोवैज्ञानिक अध्ययनले सुझाव दिएको छ । समय तालिका बनाउँदा विभिन्न बौद्धिक विकास हुनेखालको क्रियाकलापहरू जस्तै, कथा पढ्ने, चित्र कोर्ने, कविता वाचन, निबन्ध लेखन, सिर्जनात्मक लेखहरू लेख्न लगाउने, सङ्गीत सामग्रीमा भुल्ने गर्नुपर्छ ।

बालबालिकाका समस्यासँग जुध्न सकारात्मक सामना गर्ने रणनीति अपनाउनुहोस् । सधैँ गर्ने व्यवहारबाट टाढै रहने, तुरुन्तै प्रतिक्रिया दिने, विश्राम गर्न लगाउने, आरामदायिक अभ्यास (योगा, गहिरो श्वास–प्रश्वास)को क्रियाकलापमा संलग्न गराउन अल्छी गर्नु हुँदैन । अभिभावक तथा हेरचाह गर्ने व्यक्तिले पहिले आफ्नो हेरचाह गर्न तथा आफ्नो शारीरिक तथा मानसिक स्वाथ्यबारे ध्यान पु¥याउन एकदम आवश्यक छ । बालबालिकाको अगाडि शाान्त रहन कोसिस गर्नुहोस् । बालबालिकाका गुनासो तथा चिन्ताको बारेमा उनीहरूसँग कुरा गर्नुहोस् । बालबालिकाको व्यवहारमा परिवर्तन देखिएमा र परिवर्तन लामो समयसम्म रहेमा विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?