logo
२०८१ बैशाख १४ शुक्रवार



पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज   

पर्यटन |


पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज   


 
राँझा, भदौ २६ गते । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ ।    
    
निकुञ्जले पर्यटन प्रवर्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताउनुहुन्छ । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको छ । “कोभिड–१९ का कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएको छ”, उहाँले भन्नुभयो ।    
    
 निकुञ्जको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७७÷७८ सम्म आठ सय ९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये आठ सय ६५ आन्तरिक पर्यटक छन् । बीस जना सार्क मुलुकका तथा १४ पर्यटक अन्य मुलुकका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापना हुँदा चार पाटेबाघ रहेकामा हाल उक्त सङ्ख्या बढेर २१ पुगेको छ । सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार हाल यहाँ पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन् । हात्ती सफारी र जिप सफारी निकुञ्जमा निकै लोकप्रिय छ ।    
    
 सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था भएको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको उहाँको भनाइ छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?