logo
२०८१ बैशाख १४ शुक्रवार



सौन्दर्यीकरण गरिँदै पर्यटकीय स्थल

पर्यटन |


सौन्दर्यीकरण गरिँदै पर्यटकीय स्थल


कोकिला ढकाल

इलाम, असार ६ गते । निषेधाज्ञाकै समयमा इलामको कन्याम र अन्तुमा पर्यटकीय पूर्वाधारका थप काम भइरहेको छ । यस बेला पर्यटक आवागमन बन्द भएको मौका छोपी बाँकी रहेका पूर्वाधार र सौन्दर्यीकरणका काम भइरहेको हो ।
वर्षैभर पर्यटकको खचाखच हुने अन्तुमा अहिले अन्तु डाँडासम्म पुग्ने बाटोमा सोलिङको काम हुँदै छ । अन्तुका होमस्टे र होटल पूर्ण रूपमा बन्द नै छन् । अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले भन्नुभयो, “अन्तु डाँडामा जाने भ्युटावरसम्मको बाटोमा सोलिङको काम हुँदै छ । ”
अघिल्लो वर्ष नेपाल सरकारले देशका विकास गर्नुपर्ने सय गन्तव्य सूचीमा राखेको कन्याम–फिक्कल–अन्तु सर्किटअन्तर्गत पनि कन्याम र अन्तुमा पर्यटकीय पूर्वाधार विकासका काम भइरहेका हुन् । गत वर्ष करिब दुई करोड रुपियाँमा अन्तुमा भ्युटावर, पटाङ्गिनीको काम भएको थियो । यस वर्ष पनि अन्तुमा करिब डेढ करोड रुपियाँ खर्चेर सौन्दर्यीकरणको काम भइरहेको सूर्योदय नगरपालिकाले जनाएको छ ।
पर्यटकीय स्थल कन्याममा पनि मेची राजमार्गको चौडा फराकिलो पारेपछि अहिले सौन्दर्यीकरणको काम भइरहेको छ । सडकमा ट्राफिक सङ्केत, रङरोगनले कन्याम यतिबेला निकै सुन्दर भएको छ । हर्कटे बजारदेखि फिक्कलसम्मको राजमार्ग चौडा बनाउने र सौन्दर्यीकरणका लागि करिब १० करोड रुपियाँको काम भइरहेको सूर्योदय नगरपालिकाले जनाएको छ । कन्याम पर्यटकको आकर्षणको मुख्य केन्द्र भएकाले यसलाई थप व्यवस्थित गर्न नगरपालिकाले विभिन्न काम र योजना अघि सारेको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “अब विभिन्न प्रजातिका बोटबिरुवा र विशेष गरी विभिन्न रङका गुराँसका बिरुवा राजमार्गको आसपासमा लगाउने तयारी गरिरहेका छौँ । ”
तेह्रथुमबाट ३६ प्रजातिका गुराँसका बिरुवा ल्याएर कन्याममा रोप्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । अहिले पशुपतिनगरमा बौद्ध पार्क, करफोकमा पर्यटकीय पार्क निर्माणका कामसमेत भइरहेको जनाइएको छ । पर्यटक भित्र्याउन पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार निर्माणका लागि जुटेको इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्ने उद्देश्यले ‘बन्जीजम्प’ निर्माणको योजना रहेको छ ।
डोलिडारले निर्माण गरिरहेको यो योजनाको अहिले दुवैतर्फ पिल्लरको काम गरिरहेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताउनुभयो । बन्जीजम्पका लागि करिब ३७० मिटर लम्बाइको पुल निर्माण हुनेछ । इलाम नगरपालिकाले अरनिको सांस्कृतिक सङ्ग्रहालय, पाटेनागी पर्यटकीय क्षेत्रमा पनि विभिन्न काम गरिरहेको इन्जिनियर गुरागाईंले बताउनुभयो । पाटेनागीमा भने जैविक विविधता संरक्षण, हाब्रे संरक्षण, पदमार्ग निर्माणका काम हुने गुरागाईंले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?