logo
२०८१ बैशाख २२ शनिवार



पर्यटक भुलाउन वाटरपार्क

पर्यटन |


पर्यटक भुलाउन वाटरपार्क


भैरहवा समाचारदाता

भैरहवा, चैत २७ गते । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित भैरहवामा ४५ करोडको लागतमा वाटरपार्क सञ्चालनमा आउने भएको छ ।
नयाँ वर्षसँगै यस क्षेत्रमै ठूलो लगानीका रूपमा तयार भएको लुम्बिनी अम्युजमेन्ट पार्क एन्ड रिसोर्ट सेन्टर सञ्चालनमा आउन लागेको हो । वाटरपार्क सञ्चालनमा आउने भएपछि यसले आन्तरिक पर्यटकका साथै भारतका पर्यटकलाई पनि आकर्षित गर्ने बताइएको छ । वैशाख १५ गते उद्घाटन भएपछि पार्क सबैका लागि खुला गरिने छ ।
साढे छ बिघा क्षेत्रफलमा रहेको पार्कमा वाटरपार्क, बैङ्केट हल, रेस्टुरेन्ट, कन्फ्रेन्स हल तथा रिसोर्टलगायत अन्य मनोरञ्जन प्रदान गरिने लुम्बिनी अम्युजमेन्ट पार्क एन्ड रिसोर्ट सेन्टरका सञ्चालक कमलनिरज बरालले जानकारी दिनुभयो ।
वाटरपार्कअन्तर्गत नौवटा स्लाइड रहेका छन् भने यस क्षेत्रमै ठूलो ४० फिटको अग्लो टावरबाट स्लाइड एवं अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको बरालले बताउनुभयो । यस्तै प्राकृतिक सामुद्रिक छालकै जस्तै अनुभव लिने गरी वेभ पुल, रेन डान्स, क्रेजी रिभरलगायतका सुविधा रहेको छ । यहाँ वयस्क र बालबालिकाका लागि अलग–अलग स्लाइडको व्यवस्था गरिएको सञ्चालक बरालले बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकको नेपाल बसाइ अवधि बढाउने लक्ष्यसहित सञ्चालनमा आउन लागेको पार्कमा नेपालको संस्कृति झल्किने विभिन्न हस्तकला, पेन्टिङ आदि खरिद गर्न मिल्ने पसल, फुड कोर्ट, प्रतीक्षालय, लकरलगायतका सुविधा प्रदान गरिँदै छ ।
नेपाल–भारतको सीमा बेलहिया नजिकै रहेको पार्कमा १० हजार वर्ग फिटको बहुउद्देश्यीय हल, तीन तलाको रेस्टुरेन्ट र १५ हजार वर्ग फिटको खुला पार्किङको सुविधा रहेको छ । यस्तै बसाइका लागि दुई महिनामा रिसोर्ट निर्माण सुरु गरिने बताइएको छ ।
अहिलेलाई जग्गासमेत गरी ४५ करोड रुपियाँ लगानी भए पनि भविष्यमा यसलाई बढाएर एक अर्ब रुपियाँ पु¥याइने लक्ष्य रहेको सञ्चालक बरालले जानकारी दिनुभयो । बरालले कोभिडलाई ध्यानमा राख्दै पार्कमा सेनिटाइजर टनेल, आपत्कालीन एम्बुलेन्स सेवा, स्वास्थ्य कक्षका साथै सबै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइएको बताउनुभयो ।
वाटरपार्क र रिसोर्ट सञ्चालनमा आएपछि यहाँको निजी क्षेत्र एवं पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । भैरहवामै ठूला–ठूला लगानीका योजना आउनुले यसले भैरहवा लगानीका लागि उपयुक्त रहेको सन्देश दिएको उद्योगी व्यवसायीको भनाइ छ । उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले यस क्षेत्रमा पर्यटक घुम्ने ठाउँ नभएको गुनासो गरिरहेको अवस्थामा यसले उनीहरूको गुनासो मेट्ने आधार तय भएको बताउनुभयो । त्यस्तै नाठट्टाका प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले कोभिड अन्त्य भएपछि पार्कका माध्यमबाट भारतीय पर्यटकबाट ठूलो आयआर्जन गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।
“पार्क सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह थपेको छ, प्याकेजका रूपमा समावेश गरी पर्यटकलाई भुलाउने थलोको रूपमा विकसित गरिने छ”, उहाँले भन्नुभयो । पार्कमा निरज बराल, कमल भुसाल, पुष्पराज पौडेल, लोकनाथ भण्डारी र नारायण आचार्यको लगानी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?