logo
२०८१ बैशाख १४ शुक्रवार



‘पर्यटनका समस्या समाधान गर्न सरकार तयार’

पर्यटन |


‘पर्यटनका समस्या समाधान गर्न सरकार तयार’


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । कोभिड सङ्क्रमणका कारण पर्यटन क्षेत्रले बेहोर्नु परेको समस्या समाधानमा सरकार तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । पर्यटन सम्बद्ध निजी क्षेत्रका सरोकारवालासँग आइतबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उहाँले राज्यले धान्न सक्ने अवस्थासम्म निजी क्षेत्रका समस्या समाधान गरिने बताउनुभयो ।
कोभिडबाट सिर्जित समस्याका विषयमा सरकार पूर्ण जानकार रहेको भन्दै उहाँले यतिबेला मान्छेको जीवन जोगाउनु महìवपूर्ण भएकाले कतिपय स्वास्थ्य प्रोटोकल पालना गर्नैपर्ने अवस्था रहेको बताउनुभयो ।
मन्त्री ढकालले पर्यटकलाई अन अराइभल भिसा दिने विषयलाई आफूले मन्त्रिपरिषद्मा छलफल गर्ने जानकारी दिनुभयो । त्यस्तै उहाँले कोभिडबाट अत्यन्त प्रभावित होटल व्यवसायका समस्या समाधानमा पनि सरकारले ध्यान दिएको बताउनुभयो ।
प्रोटोकल पालना गरेर होटल व्यवसाय सञ्चालन गरेको अवस्थामा जुनसुकै समयमा पनि खोल्न सक्ने उहाँले जानकारी दिनुभयो । “होटलले प्रोटोकल पालना गरेको छ भने रातिको समयमा ९, १० अथवा ११ बजेसम्म भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “जुनसुकै बेला पनि खोल्न सकिन्छ । ”
संसद् विघटन भएको अवस्थामा पर्यटनसम्बन्धी कानुन नबने पनि आवश्यक परेको अवस्थामा भने कार्यविधि र गठन आदेशका हिसाबले पनि बाधा फुकाउन सकिने उहाँले स्पष्ट पार्नुभयो । अझ तत्काल नै केही गर्नैपर्ने अवस्थामा अध्यादेश पनि ल्याउनुपर्ने हुनसक्छ, उहाँले भन्नुभयो ।
उहाँले पर्यटन व्यवसायीलाई उपलब्ध गराउनुपर्ने पुनर्कर्जाको विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभयो । पर्यटन व्यवसायीको माग अनुसार नै एकद्वार प्रणाली लागू गर्ने विषयमा पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायीले विदेशी पर्यटक आउन नसक्ने अवस्थामा सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा घोषणा गर्न आग्रह गरेका थिए । कर्मचारीलाई कम्तीमा एक हप्ता बिदा दिएर घुम्नैपर्ने व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग थियो ।
त्यस्तै विदेशी पर्यटक आकर्षित गर्न सात दिनको क्वारेन्टाइन अवधि घटाउनुपर्ने र सरकारले विशेष छुटसहितका प्याकेज घोषणा गर्नुपर्ने व्यवसायीको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?