logo
२०८१ बैशाख १५ शनिवार



‘भ्रमण वर्ष सफल पार्न युवा सहभागिता जरुरी’   

पर्यटन |


‘भ्रमण वर्ष सफल पार्न युवा सहभागिता जरुरी’   


सुर्खेत, मङसिर १४ गते । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाको सहभागिता जरुरी भएको बताउनुभएको छ ।    
    
काङ्क्रेबिहारमा आयोजित ‘रन फर अ कज’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन प्रर्वद्वन, पूर्वाधारको विकास र पर्यटकीयस्थलको सरसफाइमा युवाको सहभागिता आवश्यक पर्ने बताउनुभयो । उहाँले सरकार र पर्यटन व्यवसायीको प्रयासले मात्र भ्रमण वर्ष सफल नहुने उल्लेख गर्नुभयो ।    
    
“पर्यटक भित्र्याउने कार्यमा सरकार र निजी क्षेत्रको प्रमुख भूमिका भएपनि पर्यटकलाई स्वागत सत्कार, सुरक्षा एवम् व्यवस्थापन गर्ने कार्यमा युवा जमातले अग्रसरता लिनुपर्दछ,” उहाँले भन्नुभयो, “सरकारले युवाबाट राखेको अपेक्षा पनि यही हो, सरकार, निजी क्षेत्र र युवा समुदाय एकैसाथ अघि बढ्न जरुरी छ ।” कर्णाली प्रदेश सरकारले २०२० लाई भव्य मनाउन पर्यटन प्रवद्र्धन समितिले तयारी शुरु गरिसकेको जानकारी गराउनुभयो ।    
    
मन्त्री बुढाले भ्रमण वर्षको जनवरी १ का दिन प्रदेशस्तरीय शुभारम्भ समारोह काङ्क्रेविहार, बुलबुलेमध्ये कुनै एक स्थानमा मनाइने बताउनुभयो । वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले दौड कार्यक्रमले काङ्क्रेविहारको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । युवाको सिर्जनात्मक कामले समाज सकारात्मक बाटोतर्फ जाने उहाँको भनाइ थियो ।    
    
युवाहरुको स्वयंसेवी अभियान ‘तनाव छ जिन्दगी फाउन्डेसन’द्वारा आयोजित दौड कार्यक्रम लाटीकोइलीबाट शुरु भएर काङ्क्रेविहारमा पुगेर समापन भएको थियो । कार्यक्रमलाई सामाजिक सञ्जाल फेसबुक ग्रुप मोटे ग्याङले सहजीकरण गरेको थियो । कार्यक्रमबाट सङ्कलित रकम आमाघरमा आश्रित अनाथ बालबालिकालाई प्रदान गरिने फाउन्डेसनका अध्यक्ष सञ्जय योगीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?