logo
२०८१ बैशाख १४ शुक्रवार



पर्यटक बढाउन भ्युटावर

पर्यटन |


पर्यटक बढाउन भ्युटावर



सिन्धुली समाचारदाता

गोलान्जोर (सिन्धुली), मङ्सिर १२ गते । सिन्धुली जिल्लाको पर्यटकीय क्षेत्र गोलान्जोर डाँडामा आकर्षक भ्युटावर निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन गरी आम्दानीको स्रोत बढाउन गोलान्जोर गाउँपालिकाले वडा नं. ४, ५ र ६ को सिमानामा रहेको गोलान्जोर डाँडामा ८६ लाख रुपियाँको लागतमा भ्युटावर निर्माण गरेको हो ।
गाउँपालिकाका प्रवक्ता दौलत कार्कीका अनुसार भ्युटावर निर्माणका लागि गत आर्थिक वर्ष २०७५÷७६ मा एक करोड चार लाख रुपियाँमा टेन्डर भएकोमा ८६ लाख रुपियाँमा तामाङ मरिण कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।
नौ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७५ मा सम्झौता गरी निर्माण सुरु गरिएको भए पनि निर्माणस्थलमा सामान लैजान सडक निर्माण गर्नुपर्ने र सडक निर्माणमा लामो समय विवाद भएकाले निर्माण कार्य ढिलो भएको उक्त कम्पनीले जनाएको छ ।
नौ महिनामा निर्माण सक्ने गरी सम्झौता भएकोमा सुरुको छ महिना जति कामै हुन सकेन, निर्माण कार्यमा खटिनुभएका ओभरसियर निराजन बस्नेतले भन्नुभयो, तोकिएको समयमा काम नसकिएपछि तीन महिना म्याद थपिएको थियो । अहिले सबै काम सकिएको अवस्था छ । रेलिङ हाल्न बाँकी छ, त्यो काम पनि १५ दिन जतिमा सकिन्छ ।
बहुवर्षे आयोजनाअन्तर्गत निर्माण भइरहेको टावरले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने लक्ष्य राखिएको स्थानीयले बताएका छन् । भ्युटावर निर्माणसँगै गोलान्जोर डाँडा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थलको रूपमा विकसित भएको पनि उनीहरूको भनाइ छ ।
गोलान्जोर डाँडा दृश्यावलोकनका लागि ज्यादै उपयुक्त रहेकाले गाउँपालिकाले भ्युटावर निर्माण गरेको स्थानीय शिक्षक लेखबहादुर बस्नेत बताउनुहुन्छ । अहिलेसम्म चार तला बनेको छ, तला थप्दै जाने योजना छ, उहाँले भन्नुभयो, गोलान्जोर डाँडामा ठूलो टार छ । त्यहाँबाट तराई र हिमालको ठूलो भूभाग देख्न सकिन्छ ।
उक्त गाउँपालिकासँगै जोडिएको फिक्कल गाउँपालिकाले पनि वडा नंंं. ३ फिक्कलमा भ्युटावर निर्माण गरिरहेको छ । अहिलेसम्म करिब एक करोड छ लाख रुपियाँ लगानी भइसकेको फिक्कल भ्युटावर निर्माण समितिका अध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभयो ।
उहाँका अनुसार २०६८ सालबाटै यो टावर निर्माण सुरु गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३५ लाख बजेटसहित हालसम्म एक करोड छ लाख रुपियाँ खर्च भइसकेको जनाइएको छ । गाउँपालिकाको ७० लाख बजेट, मन्त्रालयको ३५ लाख, तत्कालीन खोलागाउँ गाविसबाट ६० हजार र सांसद विकास कोषबाट ४० हजार रुपियाँ बजेट उक्त भ्युटावर निर्माणका लागि खर्च भएको छ ।
समुद्र सतहदेखि दुई हजार ८८७ मिटर उचाइमा रहेको पर्यटकीयस्थल फिक्कलमा यातायात सुविधा पुगिसकेको छ । सिन्धुलीको फिक्कललाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन भ्युटावर निर्माण गरिएको बताउँदै अध्यक्ष मगरले भन्नुभयो, भ्युटावर र सडक निर्माणले त्यस क्षेत्रको पर्यटन विकासको ढोका खुलेको छ ।
टावर निर्माण कार्य धमाधम भइरहेको छ, उक्त वडाका अध्यक्ष टेकबहादुर रजन मगरले भन्नुभयो, हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्यो । ६४ फिट अग्लो टावरको सात तला निर्माण हुने र हालसम्म पाँच तला निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ । भ्युटावर निर्माणपछि यस क्षेत्रमा पर्यटक बढ्ने अपेक्षा स्थानीय सरकारले गरेको छ ।
फिक्कलबाट नेपालका २६ वटा जिल्लालगायत भारतको बिहार र चीनको स्वशासित क्षेत्र तिब्बतको केही पहाडसमेत अवलोकन गर्न सकिने हुँदा यसको विकासका लागि सबै पक्ष लाग्नुपर्ने उहाँको
भनाइ छ ।

 


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?