logo
२०८१ बैशाख १४ शुक्रवार



आर्मी एएफसी कपको दोस्रो चरणमा

खेलकुद |


आर्मी एएफसी कपको दोस्रो चरणमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । त्रिभुवन आर्मी क्लबले बुधबार पछाडि परेर पनि श्रीलङ्का पुलिस स्पोर्टस् क्लबलाई ५–१ ले हराएर एएफसी कप २०२१ को प्लेअफको दोस्रो चरणमा स्थान बनाएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टङ्क बस्नेत र स्थानापन्न खेलाडी सुदिल राईले एक/एक गोल गर्नुभयो । नवयुगले पहिलो मिनेटमा नै लामो दूरीबाट गोल गर्ने राम्रो प्रयास गरेर आर्मी क्लबले आक्रामक रणनीतिसहित मैदानमा उत्रेको सङ्केत गर्नुभएको थियो । त्यसपछि सुरुवातबाट राम्रो फुटबल खेलेको त्रिभुवन आर्मी क्लबले शृङ्खलाबद्ध आक्रमण ग¥यो । खेलको १२औँ मिनेटमा नवयुगको गोल लाइन नजिकबाट र लगत्तै भरत खवासको हेडर श्रीलङ्काली गोलरक्षक दिनेश मेहनोरनले दर्शनीय ढङ्गले विफल पारेपछि आर्मी क्लब निराश बनेको थियो ।
यसबीच श्रीलङ्काका आयातित खेलाडी इभान्सअसान्टेसमक्ष पनि गोल गर्ने अवसर प्राप्त भएको थियो । एक्लो स्ट्राइकारका रूपमा खेलेका इभान्सले समय–समयमा आर्मी क्लबलाई तर्साउनुभयो । खेलको २१औँ मिनेटमा इभान्सको हेडर आर्मीका गोलरक्षक विवश चौधरीको हातमा पुग्यो तर खेलको २८आँै मिनेटमा इभान्सले पाएको मौका खेर फाल्नुभएन । आर्मीका डिफेन्डर गौतम श्रेष्ठले राम्ररी निगरानीमा राख्न नसक्दा डिबक्समा रहेका इभान्सले राम्रो फिनिसिङद्वारा गोल गरेर घरेलु टिम र समर्थकलाई स्तब्ध पार्नुभयो ।
यद्यपि सो गोलले पहिलो पटक एएफसी खेल्दै गरेको आर्मी हतास बनेन । खेलको ४१औँ मिनेटमा सन्तोषले करिब २० गजबाट सीधै बल गोलपोस्टमा छिराएर दर्शनीय गोल गरी आर्मीलाई पूर्वाद्र्धमा नै खेलमा फर्काउनुभयो । आर्मीले दुई मिनेटपछि नै अग्रता बनायो । कप्तान भरत खवासले डिबक्सबाट गरेको हल्का क्रसमा अनुभवी स्ट्राइकर नवयुगले हेड गोल गरेपछि आर्मी २–१ को अग्रतासहित मध्यान्तरमा गयो । पूर्वाद्र्धको इन्जुरी समयमा भरतको पासमा नवयुगले श्रीलङ्काली गोलरक्षक दिनेशसँग ‘वनभर्सेज वन’मा गोल गर्ने अवसर पाउनुभएको थियो । यद्यपि उहाँको प्रहार गोलरक्षक दिनेशले दर्शनीय ढङ्गले विफल पार्नुभयो ।
पूर्वाद्र्धमा सुरुवातमा लगातार आक्रमण गरेर पनि गोल प्राप्त गर्न नसकेको आर्मीले उत्तराद्र्धमा भने चाँडै गोल प्राप्त ग¥यो । दोस्रो हाफको पाँचौँ मिनेटमा नवयुगको पासमा बिनानिगरानीमा रहेका टङ्क बस्नेतले नजिकबाट बल गोलपोस्टमा छिराएपछि आर्मीको पक्षमा स्कोर ३–१ भयो । खेलको ७६औँ मिनेटमा इभानको निकै सशक्त प्रहार गोलपोस्टमा लागेर फर्किंदा श्रीलङ्काली टिमलाई भाग्यले पनि साथ दिएन । खेलको ८३औँ मिनेटमा श्रीलङ्काका डिफेन्डर निकोलस एन्सिलापुको गल्तीमा बल पाएका स्थानापन्न खेलाडी सुदिलले गोलरक्षक दिनेशलाई पनि छलाउँदै गोल गर्नुभयो । इन्जुरी समयको अन्तिम मिनेटमा नवयुगले अन्तिम गोल गर्नुभयो । सो गोलमा श्रीलङ्काली गोलरक्षकको गल्तीको पनि ठूलो भूमिका रह्यो । इन्जुरी समयमा नै सुदिलले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो ।
आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले आप्mना खेलाडीले दुई सय प्रतिशत प्रदर्शन दिएकाले सजिलै खेल जित्न सफल भएको प्रतिक्रिया दिनुभयो । हामी यस खेलका लागि लामो समयदेखि प्रशिक्षणमा थियौँ । त्यसैले आज खेल राम्रो पनि भयो– उहाँले भन्नुभयो । प्रशिक्षक न्यौपानेले आप्mना पहिलो रोजाइका गोलरक्षक विकेश कुथु र स्ट्राइकर जर्ज प्रिन्स कार्की बेंगलुरुविरुद्धको खेलमा पनि उपलब्ध नहुने जानकारी दिनुभयो ।
श्रीलङ्का पुलिसका प्रशिक्षक रोहन अलपोन्सु हारपछि पनि दुःखी देखिनुभएन । मेरो टिममा अनुभवको कमी छ । यो हाम्रो लागि पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो । हाम्रो टिममा राष्ट्रिय खेलाडी पनि छैनन् । तर पनि मेरो टिमले राम्रै खेल्यो । त्यसैले म सन्तुष्ट छु– उहाँले भन्नुभयो ।
आर्मी क्लबले अब बेंगलुरुमा गएर खेल्नुपर्नेछ । आगामी अप्रिल १४ तारिखमा हुने सो खेल जितेमा आर्मी क्लबले समूह चरणको समूह ‘डी’ मा स्थान बनाउने छ । जुन समूहमा भारतको मोहन बगान, बङ्गलादेशको बसुन्धरा किङ्स र माल्दिभ्सको माजिया एन्ड रिक्रिएसन पनि छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?