logo
२०८१ बैशाख २३ आईतवार



साहबले सात विकेट लिए पनि आर्मीको हार टार्न सकेन

खेलकुद |


साहबले सात विकेट लिए पनि आर्मीको हार टार्न सकेन
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २५ गते । त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबले तीन विकेटले हराएको छ । त्रिभुवन आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउँदै पुलिसले खेल सकिन ३२ ओभर तीन बल बाँकी छँदै सात विकेटको क्षतिमा ९० रन बनाएर लक्ष्य भेट्टाएको हो।
त्रिभुवन आर्मीका लागि स्पिनर साहब आलमले सात विकेट लिए पनि हार टार्न सक्नुभएन । सामान्य लक्ष्य पछ्याउने क्रममा ४८ रनमा मात्र दुई विकेट गुमाएको पुलिसले थप १२ रन जोड्न पाँच विकेट गुमाउन पुग्यो । उसको पारीमा सुनिल धमलाले सर्वाधिक ३९ तथा पवन सर्राफले २२ रनको अविजित पारी खेल्नुभयो । विकेटकीपर ब्याट्सम्यान दिलीप नाथले १५ रन बनाउनुभयो ।
त्रिभुवन आर्मीका स्पिनर साहब आलमले नौ ओभरमा एक मैडन राख्दै ४५ रन खर्चेर सात विकेट लिनुभयो । उहाँले ओपनर कुशल भुर्तेल र सुनिल धमला तथा दिलीप नाथ, अनिल साह, अमित श्रेष्ठ, दिपेन्द्रसिंह ऐरी, योगेन्द्रसिंह कार्कीको विकेट लिनुभयो । ३९ रनमा ब्याटिंग गर्नुभएका सुनील धमलालाई बोल्ड गर्नुभएका साहबले त्यसअघि दिलीप नाथलाई समेत स्पष्ट बोल्ड गर्नुभएको थियो ।
त्यसअघि, मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको त्रिभुवन आर्मी ८७ रनको झिनो योगफलमा समेटिएको थियो । मेयर कप क्रिकेट अन्तगर्तको सातौं खेलमा त्रिभुवन आर्मीले ३० ओभर एक बलमा मात्र ८७ रनको योगफलमा समेटिएको थियो ।
त्रिभुवन आर्मीले ३२ रनमै सात विकेट गुमाएर कमजोर सुरुवात गर्यो । पवन सर्राफ र सागर ढकालले आठ विकेट बाँडेपछि आर्मी झिनो योगफलमा खुम्चिन पुग्यो ।
लोकेश बलमे ३२ रनको पारी खेल्दै आर्मीको योगफल ८७ रनसम्म पुर्याउनुभयो । उहाँले बिक्रम सोबसँग ९ औं विकेटका लागि ४१ रनको साझेदारी गर्नुभयो । बिक्रम सोब १४ रन बनाएर पेभेलियन फर्किनुभयो । मध्यक्रममा रोहित पौडेलले १३ रनको योगदान दिनुभयो । उसको पारीका सात जना ब्याट्सम्यानले दोहोरा योगफलसमेत छुन सकेनन । सातौं नम्बरमा ब्याटिङ गर्न आउनुभएका कप्तान विनोद भण्डारी समेत तीन रनको ब्यक्तिगत् योगफलमा सागर ढकालको बलमा बोल्ड हुनुभयो ।
पवन सर्राफले आफ्नो दश ओभरको स्पेलमा पाँच मैडन राख्दै मात्र १४ रन खर्चेर हरि चौहान, कुशल मल्ल र सुशन भारीको विकेट लिनुभयो । ढकालले दश ओभरमा ४० रन खर्चेर ओपनर सोमपाल कामी, राजु रिजाल, रोहित पौडेल, राजेश पुलामी र कप्तान बिनोद भण्डारीको विकेट लिनुभयो । ललित राजवंशीले विक्रम सोब र लोकेश बमको विकेट लिनुभयो ।
पवन सर्राफ प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?