logo
२०८१ जेष्ठ ११ शुक्रवार



प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

खेलकुद |


प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल(एपीएफ) बीच स्पर्धा हुने भएको छ । दोस्रो सेमीफाइनल खेलमा बागमती प्रदेशलाई ९५ रनले हराएपछि आर्मीले फाइनलमा एपीएफसँगको भेट तय गरेको हो । त्रिभुवन आर्मी लगातार तेस्रो पटक प्रधानमन्त्री कप क्रिकेटको फाइनलसम्मको यात्रा तय गरेको हो ।
एपीएफले पहिलो सेमीफाइनलमा नेपाल पुलिसलाई हराएर फाइनलसम्म पुगेको हो । उपाधिका लागि आर्मी र एपीएफ शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा भिड्नेछन् ।
त्रिभुवन आर्मीले प्रस्तुत गरेको २३० रनको लक्ष्य पछ्याउँदै बागमतीले ४० ओभर २ बल खेलेपनि १३५ रन मात्रै बनाउन सक्यो । १८ रनमै पाँच विकेट गुमाएको बागमतीले कमजोर सुरुवात गर्यो । मध्यक्रममा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रनको योगदान दिनुभयो । बिपीन आचार्यले २३ तथा नन्दन यादबले २२ रनको पारी खेलेपनि जितका लागि अपर्याप्त भयो ।
बागमतीलाई सस्तोमै समेट्न जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिनुभयो । उहाँले आठ ओभर २ बलमा २४ रन खर्चेर ओपनर आदिल खानसहित विभत्सु थापा, इशान पाण्डे र तिलक भण्डारीको विकेट लिनुभयो । अर्का बलर बिक्रम सोबले दश ओभरमा २५ रन खर्चेर तीन विकेट लिनुभयो । सुशन भारीले दश ओभरमा ३६ रन खर्चेर तीन विकेट लिनुभयो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको त्रिभुवन आर्मी क्लबले बागमती प्रदेश समक्ष २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मीले ८० रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर हरि चौहानले ३ तथा अनिलकुमार मण्डलले दुई रन बनाएर पेभेलियन फर्केपछि सुरुवाती दबाबमा आएको आर्मीले २६ औं ओभरसम्म उक्त दबाबबाट बाहिर आउन सकेनन । मध्यक्रममा राजेश पुलामी मगर र बिक्रम सोबले सातौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै आर्मीलाई सामान्य योगफलमा समेटिनबाट जोगाउँदै सेमीफाइनलको स्पर्धालाई मजबूत बनाउनुभयो ।
पुलामीले ९१ बलमा चार चौका र दुई छक्कासहित ६५ रनको उत्कृष्ट पारी खेल्नुभयो । बिक्रम सोबले ३५ रनको महत्वपूर्ण पारी खेल्नुभयो । त्यसअघि, भिम सार्कीले ६१ बलमा ४० रनको पारी खेलेर आर्मीको पारी उकास्न सहयोग गर्नुभयो । सुशन भारीले १६ रनको योगदान दिएर अन्तिम बलमा रन आउट हुँदा आर्मीले ५० ओभरमा २२९ रनको औसत योगफल तयार गर्न सफल भयो ।
बागमतीका लागि गौतम केसीले सुरुवाती तीन विकेट लिएर आर्मीमाथि दबाब बनाउन सफल हुनुभयो । उहाँले दश ओभरमा ६१ रन खर्चेर पाँच विकेट लिनुभयो । नन्दन यादबले दश ओभरमा मात्र ३७ रन खर्चेर एक विकेट लिनुभयो । राम नरेश गिरी, तिलक भण्डारी र बिपीन आचार्यले समेत एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?