logo
२०८१ बैशाख १५ शनिवार



वेष्टइन्डिजमाथि इंग्ल्याण्डको २६९ रनको विशाल जित

खेलकुद |


वेष्टइन्डिजमाथि इंग्ल्याण्डको २६९ रनको विशाल जित


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टेष्ट खेलमा २६९ रनले हराएपछि घरेलु टोली इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको श्रृखंला २–१ ले जितेको हो । पहिलो टेष्ट खेल वेष्टइन्डिजले र दोस्रो इंग्ल्याण्डले जितेको थियो ।
ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले प्रस्तुत गरेको ३९९ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले पाँचौं तथा अन्तिम दिनको खेलमा मात्र १२९ रनमा समेटिएपछि वेष्टइन्डिजले श्रृखंला गुमाउनुपर्यो । वेष्टइन्डिजका लागि साइ होपले बनाउनुभएको ३१ रन नै सर्वाधिक व्यक्तिगत् योगफल रहन गयो । वेष्टइन्जिलाई झिनो योगफलमा समेटन इंग्ल्याण्डका तिब्र गतिका बलर क्रिस वोक्सले पाँच तथा स्टुअर्ट ब्रोडले चार विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको घरेलु टोलीले आफ्नो पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको थियो । ओली पोपले सर्वाधिक ९१ तथा जोश बटलरले ६७ र स्टुअर्ट ब्रोडले ६२ रनको योगदान गर्दा ऊ औसत योगफलसम्म पुग्न सफल भयो । वेष्टइन्डिजका लागि केमार रोचले सर्वाधिक चार तथा शैनन गेब्रिल र रोष्टन चेजले दुई र जैसन होल्डरले एक विकेट लिनुभयो ।
जवाबमा वेष्टइन्डिज आफ्नो पहिलो पारीमा मात्र १९७ रनमा समेटिन पुग्यो । कप्तान जैसन होल्डरले बनाउनुभएको ४६ रन नै उसको पारीको सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । इंग्ल्याण्डका लागि ब्रोडले सर्वाधिक छ तथा जेम्स एन्डरसनले दुई जोफ्रो आर्चर र क्रिस वोक्सले सामान एक एक विकेट लिनुभयो ।
पहिलो पारीमा १७२ रनको बढत लिएको इंग्ल्याण्डले मात्र दुई विकेटको क्षतिमा २२६ रनमा दोस्रो पारीको घोषणा गर्दै वेष्टइन्डिज समक्ष ३९९ रनको लक्ष्य प्रस्तुत गरेको हो । इंग्ल्याण्डका लागि दोस्रो पारीमा ओपनर रोरी बन्र्सले सर्वाधिक ९० तथा डम सिब्लीले ५६ रनको योगदान दिनुभयो । कप्तान जोइ रुट ६८ रन बनाएर अविजित रहनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?