logo
२०८१ बैशाख २६ बुधवार



अन्तिम बलमा इंग्ल्याण्डको जित

खेलकुद |


अन्तिम बलमा इंग्ल्याण्डको जित


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ३ गते । अन्तिम दुई बलमा आवश्यक तीन रन ल्याउन नसक्दा दक्षिण अफ्रिकाले इंग्ल्याण्ड विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा हार बेहोरेको छ । अफ्रिकाको हारसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीको स्थितिमा आएको छ ।
डर्बनमा अबेर राति सम्पन्न खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा मात्र २०२ रन जोडन सक्यो । दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक थियो । टम कर्रनको अन्तिम ओभरको पहिलो चार बलमा ड्वायन प्रिटोरियसले १२ रन जोडेर दक्षिण अफ्रिकालाई दोस्रो टी ट्वान्टीमा समेत जित नजिक पुर्याउनुभएको थियो । तर टम कर्रनले फालेको योर्कर लेन्थको पाँचौं बलमा प्रिटोरियस बोल्ड हुँदै २५ रनमा पेभेलियन फर्किनुभयो । जोर्न फोरट्युन पनि अन्तिम बलमा अदिल राशिदको हातमा क्याच थमाएपछि दक्षिण अफ्रिका दुई रन पछाडि रहँदै हार बेहोर्न बाध्य भयो । कप्तान क्विन्टन डे ककले मात्र २२ बलमा दुई चौका र आठ छक्काको सहयोगले सर्वाधिक ६५ रनको योगदान दिएपनि अफ्रिकाको जितको लागि अपर्याप्त भयो । उहाँले अर्का ओपनर टेम्बा बभुमासँग पहिलो विकेटका लागि ९२ रनको उत्कृष्ट साझेदारी गर्नुभयो । भान डर दुस्सैनले ४३ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डका लागि डेथ ओभरमा टम कर्रनले महत्वपूर्ण दुई विकेट लिनुभयो । क्रिस जोर्डन र मार्क ऊडले समेत सामान दुई दुई विकेट लिदा बेन्न स्टोक्सले एक विकेट लिनुभयो ।
यसअघि किंग्समिड डर्बनमा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको पाहुना टोली इंग्ल्याण्डले २० ओभरमा सात विकेटको क्षतिमा २०४ रनको उच्च योगफल तयार गरेको थियो । इंग्ल्याण्डका लागि ओपनर जैसन रोयले ४० तथा बेन्न स्टोक्सले अविजित रहँदै ४७ रनको योगदान दिनुभयो । मोइन अलीले ३९ रन बनाउनुभयो । अफ्रिकाका लागि लुङ्गि एनगिडीले सर्वाधिक तीन तथा एन्डाइल फेलुक्वायोले दुई र तबरेज सम्सी र ड्वायन प्रिटोरियसले सामान एक एक विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच मोइन घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?