logo
२०८१ बैशाख १४ शुक्रवार



वैतरणी धाममा दर्शनार्थी बढ्दै

खुला |




नगेन्द्र सापकोटा

ललितपुर, माघ २२ गते । मृत्युपश्चात् स्वर्गको बाटो खुला होस् भन्ने उद्देश्य राख्दै ललितपुरको महाँकाल गाउँपालिका–३ स्थित गोटीखेलमा रहेको वैतरणी धाममा दर्शनार्थीको भीड लाग्ने गरेको छ । वैतरणी धामको दर्शन गरेपछि मृत्युपश्चात् स्वर्गको बाटो खुला हुने धार्मिक विश्वास छ ।
हिमवत्खण्डको १०३ अध्यायमा मृत्युपश्चात् व्यक्तिले गरेको पाप कर्मबाट मुक्ति पाउन जिउँदै वैतरणी नदीमा स्नान गर्नुपर्ने भन्ने उल्लेख छ । वैतरणी धाममा टेकियो मात्र भने पनि मृत्युपछि स्वर्गको यात्रा गर्न पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको दर्शनशास्त्रीको भनाइ छ ।
काठमाडौँ स्कुल अफ लका दर्शनशास्त्रका प्राध्यापक एवं दर्शनशास्त्री डिल्लीराम गौतमले वैतरणी धामको दर्शन गरी वैतरणी नदी तरेर कालेश्वरको दर्शन गरेपछि अञ्जानमा गरिएको दुष्कर्मबाट मुक्ति पाउने विश्वास रहेको बताउनुभयो ।
उहाँका अनुसार वैतरणी नदीमा स्नान गरेपछि मृत्युपछि कुनै फन्दामा पर्नु नपर्ने भएकाले वैतरणी धामको दर्शन गर्ने गरिन्छ । पुराणमा वैतरणी धामलाई कालको तीर्थ पनि भन्ने गरिन्छ ।
ललितपुरको महाँकाल गाउँपालिका–३, गोटीखेलस्थित घडघडा, वैतरणी, कालमोचन नदीको त्रिवेणीमा रहेको वैतरणी धाम नेपालको एक मात्र धार्मिक तीर्थस्थल भएको दाबी महाँकाल गाउँपालिकाको छ ।
किंवदन्तीअनुसार कालले भ्रमण गर्ने क्रममा घडघडा, कालमोचन र वैतरणी नदीको सङ्गमस्थलमा स्नान गरी वैतरणीको शिरमा रहेको कालेश्वर महादेव कालको तपस्याबाट प्रसन्न भई वरदान दिने क्रममा कालले आराधना गरेको ज्योतिर्लिङ्ग कालेश्वरको नामले पूजाआजा गर्न थालिएको हो ।
वैतरणी धाम सुधार समितिका अध्यक्ष केशवप्रसाद घिमिरे (प्रभु)ले वैतरणी धामको दर्शन गरी सोही स्थानमा रहेको बूढी औँला खुम्च्याएर बनेको खाल्डोमा जल राखेर कालेश्वर महादेवको दर्शन गर्दा मनले चिताएको कुरा पुग्ने विश्वास छ भन्नुभयो ।
वैतरणी धामको शिरोभागमा कालेश्वर महादेवको मन्दिर, तल महाँकाल मन्दिर र बीचमा वैतरणी धामको पवित्र तीर्थस्थलले ललितपुरको दक्षिण क्षेत्र नै पवित्र तीर्थस्थल भएको दाबी महाँकाल गाउँपालिकाले गरेको छ । वैतरणी धाममा स्नान गरी कालेश्वर महादेवको दर्शन गरी मनले चिताएको फल प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।
घिमिरेका अनुसार वैतरणी धामको दर्शन गरेपछि धाम नजिकै गौशालामा रहेको गाईको समेत दर्शन गर्नुपर्ने परम्परा रहँदै आएको छ । उहाँले मृत्युपछि गाईको पुच्छर समातेर मात्र वैतरणी तरिन्छ भन्ने धार्मिक विश्वास रहेको धामको दर्शन गरेपछि गाईको दर्शन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले चापागाउँ, लेले, नल्लु, भारदेउ, चौघरे हुँदै गोटीखेलमा रहेको वैतरणी धाम पुग्न सकिने बताउनुभयो । लगनखेलबाट ५१ किलोमिटरमा वैरतणी धाम पुग्न सकिन्छ ।
वैतरणी धाम स्थलमा तारकेश्वर महादेव मन्दिर, अर्धचन्द्राकार कुण्ड, २२ धारा, गौशाला र भजन स्थल लगायतका संंरचना निर्माण भइसकेको छ । मन्दिरमा सोमबार र शनिबार विशेष मेला लाग्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?