logo
२०८१ जेष्ठ ५ शनिवार



बार्सिलोनालाई पछि पार्दै रियल शिर्ष स्थानमा

खेलकुद |


बार्सिलोनालाई पछि पार्दै रियल शिर्ष स्थानमा


एजेन्सी
काठमाडौं, माघ ५ गते । क्यासेमिरोले दुई गोल गर्नुभएपछि सेभिल्लामाथि जित हात पार्दै रियल मड्रिड स्पैनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना भने दोस्रो स्थानमा झरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार अबेर राति सम्पन्न खेलमा रियलले सेभिल्लामाथि २–१ को जित निकाल्यो । जितसँगै रियलले २० खेलबाट ४३ अङ्क जोडेको छ । बार्सिलोनाले भने १९ खेलबाट ४० अङ्क जोडेको हो । बार्सिलोनाले आज राति ग्रनडासँग खेल्दैछ । उक्त खेलमा जित हात पारे बार्सिलोना फेरी अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिनेछ । बराबरी वा पराजित भए दोस्रो स्थानमा यथावत रहनेछ ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दोस्रो हाफमा रियलका लागि क्यासेमिरोले गोल गर्नुहुँदै रियललाई सुरुवाती अग्रता दिलाउनुभयो । ५७ औं मिनेटमा उहाँले लुका जोभिकले चलाखीपूर्ण रुपमा पछाडि धकेल्नुभएको बललाई दिशा दिनुहुँदै गोलमा परिणत गर्नुभयो । ६४ औं मिनेटमा सेभिल्लाका स्ट्राइकर लुक डे जोङ्गले बराबरी गोल गर्नुभयो ।
लुकास भाजक्वेजको क्रसलाई गोलमा परिणत गर्नुहुँदै क्यासेमिरोले रियललाई जित मात्रै दिलाउनुभएन बरु तालिकाको शिर्ष स्थानमा उकास्न सफल हुनुभयो ।
तेस्रो स्थानको एटलेटिको मड्रिड शनिबार सम्पन्न खेलमा ऐबरसँग २–० ले पराजित हुँदै शिर्ष स्थानको रियलभन्दा आठ अङ्क पछाडि परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?