logo
२०८१ बैशाख १४ शुक्रवार



स्वर्णको शतक, नेपाललाई उछिन्दै भारत तेह्रौं साग पदक तालिकाको शिर्ष स्थानमा

पढ्नै पर्ने |
खेलकुद |


स्वर्णको शतक, नेपाललाई उछिन्दै भारत तेह्रौं साग पदक तालिकाको शिर्ष स्थानमा


इश्वरचन्द्र झा
काठमाडौं, मङ्सिर १८ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पदक तालिकामा भारतले नेपाललाई उछिन्दै शिर्ष स्थानमा उक्लिएको छ । खेलको चौथो दिन भारतले ३४ स्वर्णसहित पदक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ ।

तेह्रौं सागको चौथो दिन भारतले १९ स्वर्ण पदक जितेको छ । नेपालले चौथो दिन भने छ स्वर्ण पदकमा चित्त बुझाउनुपर्यो । भारत शिर्ष स्थानमा उक्लिदा उसले कुल पदक संख्यामा पनि नेपालभन्दा बढेको छ । चौथो दिनको सम्पूर्ण स्पर्धा समाप्त हुँदा भारतले ३४ स्वर्ण, २३ रजत र १३ कास्यसहित ७० पदक प्राप्त गरेको छ । नेपालले भने २९ स्वर्ण, १५ रजत र २५ कास्य जितेर कुल पदक संख्या ६९ पुर्याएको छ ।

चौथो दिनको समाप्तीसँगै ८५ स्वर्ण पदकको परिणाम आइसकेको छ । तेह्रौं सागमा कुल ३२४ स्वर्ण पदकको लागि स्पर्धा हुनेछ । पहिलो तीन दिन लगातार प्रभुत्व कायम गरेको नेपालले चौथो दिनको समाप्तीसँगै पदक तालिकामा एक स्थान तल झरेको छ । कराँते र तेक्वान्दोको हरेक विधामा पदक प्राप्त गरेको नेपालले दुई स्पर्धाका खेलहरु समाप्त हुन लाग्दा पदक तालिकामा तल झरेको हो ।

यसअघि सागको चौथो दिन नेपालले तेह्रौं सागमा २९ औं स्वर्ण पदक जितेर साग इतिहासमा १०० औं स्वर्ण पदक समेत पुरा गर्यो । ऐतिहासिक पदक प्राप्त गर्न तेक्वान्दोका सक्षम कार्कीले अवसर जुराउनुभयो । उहाँले ८७ किलोमाथिको तौल समुहमा पाकिस्तानका वकार अली शाहलाई पराजित गर्नुभयो ।स्वर्ण पदकको लागि भएको स्पर्धामा शाहलाई २७–९ ले हराउनुभयो ।

१९८४ मा सुरु भएको सागको प्रथम संस्करणमा बक्सिङका पुष्कर शाहीले नेपाललाई ऐतिहासिक पहिलो स्वर्ण पदक दिलाउनुभएको थियो ।

साग उद्घाटनपछिको पहिलो दिन सोमबार नै १५ स्वर्ण जितेको नेपालले मङगलबार ८ र बुधबार छ पदक जित्दै स्वर्णको संख्या २९ पुर्याएको छ । नेपालले हालसम्म प्राप्त गरेको २९ मध्ये कराँतेमा १० र तेक्वान्दोमा ११ स्वर्ण पाएको छ । उसु थाउलोमा तीन, साइक्लिङ डाउनहिलमा दुई, ट्रायथोलन र डुवायथोलनमा सामान एक एक, एथ्लेटिक्समा एक स्वर्ण रहेको छ ।

मङ्गलबारसम्म चौथो स्थानमा रहेको पाकिस्तान भने ९ स्वर्ण, १७ रजत र १५ कास्यसहित ४१ पदक जितेर तेस्रो स्थानमा उक्लिएको छ । उसले कराँते र तेक्वान्दोको प्रायजसो स्पर्धामा फाइनलसम्म पुगेको थियो ।

श्रीलङ्का भने चौथो स्थानमा झरेको छ । उसले ८ स्वर्ण पदक जितेको छ । २१ रजत जितेको उसको कुल पदक संख्या ६७ रहेको छ । चार स्वर्णसहित बङ्गलादेश पाँचौं स्थानमा छन् । उसको कुल पदक संख्या ३७ छ । एक मात्र स्वर्ण जितेको माल्दिभ्स रजतविहीन छ । उ तीन पदकसहित छैठौं स्थानमा छन् ।पुछारमा रहेको भुटानले हालसम्म स्वर्ण जित्न सकेको छैन् । उसले हालसम्म तीन कास्य मात्रै जित्न सकेको छ ।

स्वर्णको शतक
बाह्रौं सागसम्म ७१ स्वर्ण जितेको नेपालले तेह्रौं सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । स्वर्णमा शतक पदक प्राप्त गर्न भने नेपाललाई २९ पदकको कमी थियो । सक्षमले पाकिस्तानका शाहलाई हराएर ऐतिहासिक पदक आफ्नो नाममा गराउनुभयो ।
सन् १९८४ को पहिलो सागमा नेपालले चार स्वर्ण जितेको थियो । नेपालका लागि पहिलो स्वर्ण पदक भने प्रथम सागमा बक्सिङ्गतर्फ पुष्कर शाहीले दिलाउनुभएको थियो । उक्त सागमा नेपालले चार स्वर्ण प्राप्त गरेको थियो । पुरुष फुटबल टिमसँगै एथ्लेटिक्समा वैकुण्ठ मानन्धर र बक्सिङ्गमै दलबहादुर रानामगरले स्वर्ण पदक जित्नुभएको थियो ।
१९८५ मा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुदमा एथ्लेटिक्सतर्फ वैकुण्ठ मानन्धरले जित्नुभएको स्वर्ण नै उक्त सागको लागि पहिलो र अन्तिम स्वर्ण पदक रहन गयो ।
१९८७ मा भारतको कलकत्तामा सम्पन्न तेस्रो सागमा नेपालका लागि दलबहादुर रानामगर र वैकुण्ठ मानन्धरले स्वर्ण पदक दिलाउनुभयो ।
पाकिस्तानको इस्लामावादमा सम्पन्न चौथो सागमा भने बक्सिङ्गतर्फ चित्र बहादुर गुरुङले पहिलो र एकमात्र स्वर्ण पदक जित्नुभयो ।
श्रीलङ्काको कोलम्बोमा सम्पन्न पाँचौं खेलकुदमा नेपालले टेबल टेनिस र शुटिङ्गमा गरी दुई स्वर्ण पदक जितेको थियो । शुटिङ्गमा अनिता श्रेष्ठ र टेनिसमा गिता क्षेत्री, सिर्जना शाह, पुजा थापा र निलम तुलाधर सहभागी हुनुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?