logo
२०८१ बैशाख १५ शनिवार



ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य,स्वर्ण विजेतालाई पुरस्कार !

खेलकुद |


ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य,स्वर्ण विजेतालाई पुरस्कार !


तारा चापागाई दुवे
कास्की, मंङ्सिर १८ गते ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पोखरामा सम्पन्न ट्रायथलन प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्ण, ५ रजत र ५ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । ट्रायथलनमा महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाउन सफल हुनुभएको थियो ।
त्यसैगरि दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदक दिलाउनु भएको छ । सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाउनु भयो । यो सँगै नेपालले ट्रायथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।
नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक हात पारेको छ । त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ । कुल ५ स्वर्ण सहित १५ पदकका लागि साग अन्तरगतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो ।
ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैया दिने घोषणा गरेका हुन् । त्यसैगरि गण्डकी प्रदेश सांसद दिपक कोईरालाले समेत पदक विजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन् । उहाँले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैया दिने घोषणा गर्नु भएको छ ।
पदक वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
१३औं सागको ट्रायथलनमा नेपालले विगतको तुलनामा निकै राम्रो खेल देखाएको छ । खेल सामाग्रीको अभावमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन देखाएका छन् । यस अघिको १२औं सागको ट्रायथलनमा १ रजत र १ कास्य मात्र हात पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?