logo
२०८१ बैशाख १४ शुक्रवार



एसीसी इमर्जिङ्ग कपमा नेपालमाथि भारतको सात विकेटको जित

खेलकुद |


एसीसी इमर्जिङ्ग कपमा नेपालमाथि भारतको सात विकेटको जित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २८ गते । नेपाल एसीसी इमर्जिङ्ग एसिया कपको आफ्नो पहिलो खेलमा भारतबाट ७ विकेटको भारी अन्तरले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा मात्र तीन विकेटको क्षतिमा पुरा गरेको हो ।
उत्कृष्ट सुरुवातका बावजूद दुई विकेट लगालग खसेपछि भारत दबाबमा आएको थियो । तेस्रो विकेटका लागि सन्वीर सिंहले अरमान जाफरसित ९७ रनको उत्कृष्ट साझेदारी गर्नुभएको हो । सन्वीरले अद्र्धशतकीय इनिंग्स खेल्नुहुँदै ५६ रन बनाएर करण केसीको बलमा ललितनारायण राजवंशीलाई क्याच थमाउन पुग्नुभयो । जाफरले पनि अद्र्धशतक पुरा गर्दै ५१ रनमा अविजित रहनुभयो । यश राठौडले अविजित छ रन बनाएर अविजित रहनुभयो ।
भारतका लागि ओपनर ब्याट्सम्यानद्वय बेलुर रबि शरथ र आर्यन जुयलले उत्कृष्ट साझेदारी गरेपछि ऊ बलियो स्थितिमा पुगेको थियो । पहिलो विकेटका लागि दुबैजनाले १३ ओभरमा ७४ रनको साझेदारी गर्नुभयो । शरथलाई सुशन भारीले ४९ रनको ब्यक्तिगत् योगफलमा एल बी डब्ल्युको धरापमा पार्नुभयो । अर्को ओभरमा अर्का ओपनर आर्यन जुयललाई २९ रनको योगफलमा ललितनारायण राजवंशीले बोल्ड गर्नुभएपछि भारत दबाबमा आएको छ । भारतका लागि सन्वीर सिंह र अरमान जाफरले ब्याटिङ्ग गर्दैछन् ।सोमपालले चार ओभर बलिङ्ग गर्दै २६ रन खर्चिदा विकेट हात लागेन ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले उत्कृष्ट इनिंग्स खेलेपछि नेपालले भारत समक्ष १ सय ९४ रनको औसत लक्ष्य प्रस्तुत गरेको छ । सर्राफले नेपाली इनिंग्समा सर्वाधिक ५६ रनको योगदान दिनुभयो । उहाँले मात्र ४९ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गर्दै ५६ रन बनाउनुभयो । नेपाली इनिंग्समा अन्य ब्याट्सम्यानहरु दबाबमा खेल्दा पाँच विकेट खसेपछि ब्याटिङ्क गर्न आउनुभएको सर्राफले दबाबमुक्त ब्याटिङ्क गर्दै नेपाललाई औसत योगफलसम्म पुर्याउनुभयो ।
नेपालले स्कोरबोर्डमा रन जोडन नपाउँदै कप्तान ज्ञानेन्द्र मल्ल डक आउट भएपछि कुशल भुर्तेल र शरद भेषवाकरले दोस्रो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गर्नुभयो । भेषवाकर ७६ बलको सामना गर्दै ४४ रनको योगदान दिनुभयो । भुर्तेलले ६० बलको सामना गर्दै २८ रन बनाउनुभयो । दिपेन्द्र सिंह ऐरीले २४ तथा करण केसी २० रन बनाउनुभयो । नेपाल ४४ ओभर ५ बलमा १ सय ९३ रनमा समेटिनुभयो ।
भारतका लागि प्रमुख बलर सौरभ दुबेले सर्वाधिक चार विकेट लिनुभयो । यश राठौडले तीन तथा पर्थ रखाडेले दुई र सिद्धार्थ देसाइले एक विकेट लिनुभयो ।
बङ्गलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गरेको छ । इमर्जिङ्ग कपको अन्य खेलहरुमा आज नै हङकङले बङ्गलादेशको, अफगानिस्तानले पाकिस्तानको र श्रीलङ्काले ओमानको सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?