logo
२०८१ बैशाख १४ शुक्रवार



मेरिलेबोन विरुद्धको तीन दिवसीय खेलमा नेपालको लज्जास्पद हार

खेलकुद |


मेरिलेबोन विरुद्धको तीन दिवसीय खेलमा नेपालको लज्जास्पद हार


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २२ गते । मेरिलेबोन क्रिकेट क्लब विरुद्धको तीन दिवसीय खेलमा नेपाल २ सय ८ रनको भारी अन्तरको हार बेहोरेको छ । ३ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली इनिंग्स ४१ ओभरमा मात्र १ सय ८४ रनमा समेटिएको हो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको योगदान दिनुभयो । करण केसी १८ रन बनाएर पेभेलियन फर्किनुभयो । सोमपालले करण केसीसँग आठौं विकेटका लागि ४६ रनको साझेदारी गर्नुभएको थियो । नवौं विकेटका लागि सोमपालले सन्दीप लामिछानेसित अद्र्धशतकीय साझेदारी गर्नुभयो । नेपालको दुबै पारीमा ओपनर र मध्यक्रमका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन ।
राजु रिजाल पाँच चौकासहित ३१ रनको योगदान दिनुभयो ।
यसअघि कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले आफ्नो पहिलो पारीमा ३ सय ६४ रन बनाएको थियो । उसको लागि मायल्स हयामोन्डले ५२, विलियम भेन्डरस्पारले ५३, यासिर अराफातले सर्वाधिक ६५ रनको योगदान दिनुभएको थियो । नेपालका लागि सोमपाल कामीले दुई, करण केसीले तीन, सन्दीप लामिछानेले तीन तथा शरद भेषवाकरले दुई विकेट लिनुभयो ।
जवाबमा नेपाल मात्र १ सय ५३ रनमा खुम्चिन पुग्यो । ३३ रनका पाँच विकेट गुमाएको नेपालका लागि विनोद भण्डारीले सोमपाल कामीसित छैठौं विकेटका लागि ७२ रनको साझेदारी गरेर इनिंग्स उकास्नुभएको थियो । भण्डारी ३६ तथा कामी २६ रन बनाएर पेभेलियन फर्किनुभयो । सन्दीप लामिछानेले उत्कृष्ट ३९ रन बनाएर नेपाललाई सहज योगफलसम्म पुर्याउनुभयो ।
पहिलो इनिंग्समा २११ रनको अग्रता लिएको एमसीसीले आफ्नो दोस्रो इनिंग्समा छ विकेटको क्षतिमा १८१ रन बनाएर नेपाल समक्ष ३ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?