logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित

खेलकुद |


नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित


ईश्वरचन्द्र झा

काठमाडौं, असोज २३ गते । ओमानमा जारी ओमान पेन्टागुंलर टी ट्वान्टी शृङ्खला अन्तगर्तको आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । उत्कृष्ट सुरुवात गर्दै नेपालले आयरल्याण्ड विरुद्ध १३ रनको झिनो अन्तरले पराजित भएको हो ।
प्रतियोगितामा नेपालको यो पहिलो हार हो । यसअघि बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्स र हङकङलाई हराएर नेपालले पहिलो दुई खेलमा जित हात पारेको थियो । दुबै टोलीलाई नेपालले चार विकेटले हराएको थियो ।
बुधबार सम्पन्न खेलमा आयरल्याण्डले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरे पनि लक्ष्य पाउन १३ रन बाँकी रहँदै १९ ओभर ५ बलमा १३२ रनमा समेटिन पुग्यो ।
चौथो ओभरमा पारस खड्काको रुपमा नेपालको पहिलो विकेट ३५ रनमा झरेको थियो । कप्तान खडका २५ रन बनाएर पेभेलियन फर्किनुभयो । खड्कासँगै पारीको ओपनिङ गर्नुभएका ईशान पाण्डेले २२ रनको योगदान गर्नुभयो । आरिफ शेषले सर्वाधिक २६ रन बनाएर नेपालको पारी उकास्न सहयोग गरेपनि जितका लागि अपर्याप्त भयो ।
मध्यक्रम तथा पुुछारका ब्याट्सम्यानले संयमित पारी खेल्न नसक्दा नेपाललाई औसत लक्ष्य पाउन मुश्किल भयो । १०० रनको स्थितिमा मात्र तीन विकेट खसेको नेपालले बाँकीको ३२ रन जोड्न महत्वपूर्ण सात विकेट गुमाउन पुग्यो । नवौं विकेटको रुपमा करण केसी पेभेलियन फर्किनुअघि मात्र ९ बलको सामना गरी एक चौका र एक छक्काको सहयोगले १३ रनको योगदान गर्नुभयो ।
आयरिश बलरहरुमा अदैर र डक्रेलले समान तीन तीन विकेट लिनुभयो । यसअघि अमिरातमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्याण्डले पुरा २० ओभर खेलेर ८ विकेटको क्षतिमा १४५ रनको योगफल तयार गरेको थियो । ओपनर पिटर स्टर्लिङले उत्कृष्ट पारी खेल्दै ५९ रनको योगदान गर्नुभयो । बलब्रिनले ३८ तथा थोमसनले मात्र ११ बलमा दुई छक्काको सहयोगले २१ रनको पारी खेल्दै आयरल्याण्डलाई औसत योगफलसम्म पुर्याउनुभयो ।
तीनमध्ये दुई खेलमा जित हात पारेको नेपाल पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको तेस्रो स्थानमा रहेको छ । आयरल्याण्ड चार खेलमध्ये तीनमा जित हात पार्दै शिर्ष स्थानमा रहँदा आयोजक ओमानले दुई खेलमध्ये दुबैमा जित हात पारेर दोस्रो स्थानमा छ । नेपालले आफ्नो अन्तिम खेलमा ओमानको सामना गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?