logo
२०८१ जेष्ठ ७ सोमवार



तिहार र छठले बडिखेलमा नाङ्लो बुन्ने चटारो

समाज |


तिहार र छठले बडिखेलमा नाङ्लो बुन्ने चटारो


दीपक श्रेष्ठ
बडिखेल (ललितपुर), कात्तिक २८ गते । काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा ललितपुर छ, शताब्दीऔं पुरानो कोड्कु गाउँ । जुन गाउँलाई अहिले बडिखेल भनेरै चिनिन्छ । यो वस्तीका प्रायः घरमा यतिबेला नाङ्लो बुन्ने चटारो छ ।
पहरी जातिको पुख्र्यौली पेशा हो, बाँसका चोयाबाट डोको, डालो, सोली, नाङ्लो, मान्द्रो बनाउनु । कतिपय पहरीले घरकोठा सजावटका सामान, निगालोका र्याक र बेतका कुर्सीसमेत बनाउने गरेका छन् । यद्यपि, तिहार र छठ नजिकिएसँगै नाङ्लो बुन्ने चटारो वस्तीमा छ । मागअनुसारको सामान समयमै बजारमा पुर्याउने हतारो छ । मोवाइलमा म्युजिक भिडियो हेर्दै नाङ्लीमा बिट लगाउँदै गरेकी मनिषा पहरीले भन्नुभयो, “यहि बेला त हो, नाङ्लो, नाङ्ली अलिअलि बेच्ने । तिहार र छठमा अलि धेरै बिक्री हुन्छ ।”
कात्तिकको आखिरी दिनतिर उपत्यकामा एक्कासि चिसो बढेको छ । घामको न्यानो ताप्दै, गीत सुन्दै आँगनमा नाङ्लो बुन्दै गरेको दृश्य, बडिखेलमा प्रायः देखिन्छ । बडिखेल पस्माकी रविना पहरीले भन्नुभयो, “यो बेला नाङ्गो नै बढी बिक्री हुन्छ ।”
पस्मा गाउँमा विहे गरेर आएपछि हो, रविनाले नाङ्लो बुन्न सिक्नुभएको । यसपटक तिहार र छठमा एक सयवटा नाङ्लो बेच्ने लक्ष्य रविनाको छ । उहाँलाई नाङ्लोको भूँइ नाङ्लोको फराकिलो भाग मात्र बुन्न आउँछ । त्यसैले नाङ्लो उठाउने बीट मार्ने लगायत सामग्री तयार पार्नका लागि पर्मका रुपमा छिमेकीसँग सहयोग लिनुभएको छ । पर्म आउनुभएका स्थानीय धने पहरीले भन्नुभयो, “हाम्रो गाउँमा बाँसका सामान बनाउन पर्म चल्छ । एक दिन एउटाकोमा काम गर्ने, अर्को दिन अर्को घरमा ।”
विशेषगरी तिहार र छठको बेला नेपाली बजारमा नाङ्लोको माग बढ्छ । बजारमा प्लाष्टिकका नाङ्ला पनि प्रसस्त पाइन्छन् । यद्यपि, पाएसम्म चाडवार्डका लागि बाँसकै नाङ्लो खरिद गरिने भएकाले जति उत्पादन गरे पनि बजारमा बिक्री हुन्न कि भन्ने समस्या नरहेको धने पहरीले बताउनुभयो ।
बाँसको सामग्री बनाउने प्रक्रिया लामो र समय धेरै लाग्ने भए पनि मूल्यचाहिँ खासै नभएको गुनासो पहरी समुदायको छ । यस वर्ष नाङ्लोको मूल्य २१० रुपियाँ तोकिएको छ । एक दिनमा एक जनाले मात्रै काम गर्ने हो भने पाँच वटा जति नाङ्लो बनाउन सक्छ । नाङ्लोको रिङ बनाने काममा व्यस्त धने पहरीले भन्नुभयो, “एउटै बाँसको चार सय जति पर्छ । बन्न त एउटा बाँसबाट १२ वटा जति नाङ्लो बन्छ ।”
बडिखेलमा बाँसका सामग्री उत्पादन गरिने भए पनि पर्याप्त बाँस भने पाइन्न । नाङ्लो, डालो बनाउन तामे बाँस चाहिन्छ । र्याक र कुर्सी बनाउन निगालो र बेतबाँस चाहिने भए पनि यी प्रजातिका बाँस तराईका जिल्लाबाट मगाइने गरिएको छ । गोदावरी नगरपालिका–४ की महिला सदस्य सीता तिमल्सिनाका अनुसार, बाँस खरिद, तालिम र बजार प्रवद्र्धनमा वडाले सहयोग गरिरहेको छ । बडिखेलमा रहेका विभिन्न समुहलाई चोया तास्ने मेशिनलगायत औजार समेत सहयोग गरेको महिला सदस्य तिमल्सिनाले जानकारी दिनुभयो ।
गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुकुन्द पहरीले भन्नुभयो, “पहरी जातिको पुख्र्यौली सीप र पेशा हो बाँसबाट घरायसी सामग्री उत्पादन गर्नु । त्यसैले उनीहरुको सीपलाई अझ सुधारका लागि तालिम र पेशालाई व्यवसायिकरण गर्न बजारीकरणका प्रयास गरिरहेका छौं ।”
उहाँले किसानलाई बाँस खरिदका लागि पनि सहयोग र बाँसबाट उत्पादन गरिएका वस्तुको प्रदर्शनी गरेर समेत सहयोग गरिएको बताउनुभयो ।
वडा अध्यक्ष पहरीका अनुुसार, बडिखेलमा सात सय घरधुरी पहरी जाति छन् । तिनमा ७५ प्रतिशतले बाँसको काम गर्छन् । उनीहरुको सीपलाई अन्तर्राष्ट्रिय गुणस्तरको बनाउने गरी तालिम र बजार प्रवद्र्धनका लागि प्रदेश सरकारबाट समेत यस वर्ष २५ लाख रुपियाँ बजेट बिनियोजन भएको अध्यक्ष पहरीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?