logo
२०८१ बैशाख १४ शुक्रवार



पारिवारिक सुख, शान्तिको लागि व्रतीले भरे भगवतीको ‘खोइछा’

समाज |


पारिवारिक सुख, शान्तिको लागि व्रतीले भरे भगवतीको ‘खोइछा’


धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ९ गते । पारिवारिक सुख, शान्ति, तथा सन्तोष प्राप्तिको लागि श्रद्धालु व्रती महिलाले आराध्यादेवी दुर्गा भगवतीको खोइछा (पोल्टा) भरिएको छ ।
प्रत्येक वर्ष झै यस वर्ष पनि बडादशैं पर्वको महासप्तमीका दिन भगवती देवीको प्रतिमामा श्रद्धालु भक्तजन व्रती महिलाहरुले खोंइछा (पोल्टा) भरेका हुन । दशैंको फूलपातीको दिन सूर्यास्तसँगै महानवमीसम्म खोइछा भर्ने गरिन्छ । श्रद्धालु व्रती महिलाहरुले सप्तरीको राजविराज स्थित भगवती मन्दिर परिसरमा निर्माण गरिएको भगवतीको कलात्मक माटोको प्रतिमा खोइछा भरिएको ब्रतालु महिला सुनिताकुमार साहले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणको महामारीबीच मनाइरहेको दशैमा खोइछा भर्नेहरुको संख्यामा पनि कमी आएको भगवती मन्दिरका मूल पुजारी दुर्गानन्द मिश्रले बताउनुभयो । कोरोनाको प्रभावले दर्शनार्थी, श्रद्धालु भक्तजन तथा खोइछा भर्ने व्रती महिलाहरुमा पनि कमी आएको उहाँको कथन छ । स्थानीय प्रशासनले पनि दशैंदेखि छठसम्म शक्तिपीठ तथ मन्दिर क्षेत्रभित्र निषेधाज्ञा आदेश जारी गरेको कारण यसमा कमी आएको उहाँको भनाइ छ ।
भगवती देवीको खोइछामा नगद, श्रृङ्गारका सामग्री, अक्षता (अरवा चामल), फूल र नयाँ बस्त्र चढाउने गरिएको अर्की ब्रती प्रियंका यादवले बताउनुभयो । खोइछा भर्ने काम महासप्तमीको दिन सूर्यास्तपछि शुरु हुने गरिन्छ । भगवती देवीलाई पुकारा गरी भाकल गर्ने व्रतीले खोइछा भर्ने बताइएको छ ।
भगवती देवीकाे प्रतिमालाई सजाएर लगाइएको सारीको अगाडि भागको कुनामा खोइछा भरेर पारिवारिक सुख, शान्ति एवं विषेश भाकल गर्न दुबै हात जोडेर प्रार्थना गरिन्छ । ब्रती महिलाहरुले लगाइएको सारीको आँचल दुबै हातकोबीचमा राखेर ढोग्ने, प्रार्थना गर्ने, एवं भाकल गर्ने गरिन्छ ।
मनोरथ पूरा गराउन वा भाकल मनाउन पनि भगवती देवीको खोइछा भर्ने चलन चलेको पण्डित बद्रीनारायण झाले बताउनुभयो । दुर्गाभवानीको लक्ष्मीस्वरुप र बिघ्नहरणीको रुप सम्झेर खोइछा भरिने परम्परा बनेको उहाँको कथन छ ।
भगवती देवीको खोइछा भरेपछि घरमा दरिद्रता, सन्ताप र शारीरिक कष्टबाट मोक्ष प्राप्त भइ पारिवारिक सुख, शान्ति, एवं सन्तुष्टि प्राप्त हुने जनविश्वास रहेकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?