logo
२०८१ बैशाख १४ शुक्रवार



उपत्यकामा निषेधाज्ञा खुकुलो

मुख्य समाचार |


उपत्यकामा निषेधाज्ञा खुकुलो


देवबहादुर कुँवर

काठमाडौँ, भदौ २५ गते । कोरोना भाइरस (कोभिड–१९) महामारी सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा २४ गते बुधबार रातिबाट ३१ गते बुधबार रातिसम्म साविकभन्दा खुकुलो बनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै नयाँ व्यवस्था गरिएको हो ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त छलफलपछि उपत्यकाभर लागू हुनेगरी लकडाउन खुुकुुलो बनाइएको हो । निषेधाज्ञाबाट जनजीवनमा परेको प्रत्यक्ष प्रभावमा ध्यान दिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अपनाई अधिकांश क्षेत्र सहज बनाइएकोे छ ।
गत भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा २० दिनको अवधिमा १० र १७ थप सहज बनाइएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अब सबै आफैँ सतर्क हुनुपर्ने बेला आएको बताउनुभयो ।
विषम परिस्थितिको मूल्याङ्कनपछि निषेधाज्ञा थप परिमार्जन गरी नागरिकको जीविका सहज बनाउन आवश्यक मापदण्ड तयार पारी उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।

सवारीमा जोर–बिजोर
स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी बिहीबारदेखि जोर–बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको छ । १६ सिटभन्दा बढी क्षमता भएका यातायातका साधन सञ्चालन गर्न पनि अनुमति दिइएको छ ।
यसका लागि कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म लैजान सकिनेछ ।
अत्यावश्यक तथा खाद्यान्न, तरकारी, फलफूल र माछामासु लगायत मालबाहक तथा ढुवानीका सवारी साधनको हकमा जोर–बिजोर प्रणाली लागू हुनेछैन । यस्ता सवारी साधनले चालक र सहयोगी सहचालक बाहेक अन्य व्यक्तिलाई बोक्न पाउनेछैनन् ।

किराना पसल बिहान र बेलुुका
उपत्यकामा सञ्चालित खाद्यान्न थोक तथा किराना, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा–मासु लगायत पसल बिहान ५–११ बजेसम्म र साँझ ५–७ बजेसम्म खोल्न पाउने व्यवस्था लागू गरिएको छ ।
भौतिक पूर्वाधार तथा विकास निर्माण सामग्री, पसल तथा व्यवसाय लगायत ढुवानीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै अनलाइन सेवा मार्फत वस्तु, परिकार तथा अन्य सेवा दिँदै आएका सवारी चालकका लागि मध्याह्न १२ देखि साँझ ७ बजेको समय निर्धारण गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्न बिहान ११ देखि ३ बजेसम्मको समय तोकिएको छ । विभिन्न सेवामा आबद्ध कर्मचारीका लागि बिहान ९ देखि १०.३० सम्म कार्यालय र अपराह्न ३.३० देखि बेलुकी ५ बजेसम्म घर फर्किसक्नुपर्ने व्यवस्था लागू गरिएको थियो ।
विभिन्न सपिङ मल, फेन्सी स्टोर, जुत्ताकपडा, कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्र खुल्न दिने निर्णय भएको छ । भाँडा र भान्साजन्य तथा सोही प्रकृतिका पसल सञ्चालन तथा व्यापार गर्न साताको आइतबार, मङ्गलबार र शुक्रबार छुट्याइएको छ ।
त्यस्तै काठजन्य वस्तु र अटोमोबाइल पसलका लागि सोमबार र बुधबार, फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रोनिक, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म खुला रहनेछन् । सवारी साधन मर्मत सम्भार तथा वर्कसप पसल बिहान ८ देखि राति ८ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।
उद्योग कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्था अनिवार्य रूपमा उद्योग परिसरमा नै क्याम्प स्थापना गरी गर्नुपर्ने छ । कामदारको असुरक्षित ओसारपसार निषेध गरिएको छ । घर तथा भवन निर्माण कम्पनीले मजदुरको सम्पूर्ण व्यवस्था निर्माणस्थल परिसरमा नै मिलाउनुपर्ने छ ।

भीडभाड हुने स्थानमा निषेध

नागरिकको बाक्लो भीडभाड हुने क्षेत्र चलचित्र भवन, उद्यान पार्क, पार्टी प्यालेस, मठ मन्दिर, लामो दूरीका सवारी, सामूहिक भोज, पार्टी, जात्रा–मेला, सभा–जुलुस तथा भेला लगायतका कार्यक्रम निषेध गरिएको छ ।
मठमन्दिर, मस्जिद र चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य गतिविधिमा रोक लगाइएको छ । धार्मिक तथा सांस्कृतिक चाडवाडका नाममा जमघट, भेला रोकिएका छन् । खेलकुद, जिमखाना, स्विमिङ पुल, मसाज पार्लर, सैलुन, स्पा, प्रदर्शनी चिडियाखाना लगायत नागरिकको बाक्लो उपस्थिति रहने स्थान बन्द गरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?