logo
२०७७ माघ ६ मंगलवार

पाथार्दी बन्यो बोयर गाउँ: एकै गाउँका कृषकले बेचे दुई करोडको बाख्रा

समाज |


2020-08-12-20336


अमरराज नहर्की

तनहुँ, साउन २८ गते । तनहुँको एक गाउँ बोयर जातको बाख्रा पालनमा नमुना बनेकाे छ । भिमादनगरपालिका–९ स्थित पाथार्दीलाई अचेल बोयर गाउँ भन्नेर चिन्न थालिएको छ । त्यहाँका अधिकांश कृषकले बोयर बाख्रा पालन गरेकाले बोयर गाउँको उपनामले प्रख्याती कमाएको हो । पाथार्दीका कृषकले बोयर बाख्रा बिक्री गरेर मनग्गे कमाइ गरिरहेका छन् भने गाउँ नै बोयर बाख्रा 'हब' बन्दैगएको छ । उक्त क्षेत्रमा रहेका ६० घरपरिवारले व्यवसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाख्रापालनमा हब बन्न मद्दत पु-याएको छ ।

नौ वर्षअघि देखि बोयर बाख्रा पाल्न शुरु गर्नुभएका शिवकुमार आलेले वार्षिक लाखाैँ कमाइ गर्दैआउनुभएको छ । उहाँले अष्ट्रेलिया र अफ्रिकाबाट ल्याएर बाख्रा पाल्न शुरुवात गरेपछि स्थानीयबासीहरूले समेत चासो देखाएका हुन् । उहाँको खोरमा अहिले ७० भन्दा बढी बाख्राहरू रहेका छन् । प्रतिकिलो चौध सयदेखि तीन हजारसम्म खसीबोका बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । बाख्रामा कति प्रतिशत बोयर क्रस भएको छ, सो अनुरुप मूल्य निर्धारण गरी बिक्री गर्ने गरिएको छ ।

वार्षिक रुपमा १५ लाख कमाइ हुने गरेको आलेले बताउनुभयो । पाथार्दी बोर बाख्रा स्रोत केन्द्रका अध्यक्ष खेमबहादुर थापाले पनि बोयर बाख्रा बेचेर मनग्गे कमाइ गरिरहनुभएको छ । चालीस वटा बाख्रा पालेको छु, अध्यक्ष थापाले भन्नुभयो, ‘वार्षिक दशदेखि एघार लाखसम्म सजिलै कमाउन सकिएको छ ।’ तीन महिनाको पाठापाठीको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । स्थानीय जातका बाख्रा पाल्दा एक वर्षको अवधिमा उक्त किलोग्रामको पनि हुँदैनन् उहाँले भन्नुभयो, ‘छिटो बढ्ने भएकोले बोयर जातका बाख्रा मासुको लागि फाइदाजनक बनेको छ ।’

अध्यक्ष थापाका अनुसार त्यस क्षेत्रका बाख्रापालन कृषकहरू सबैले वार्षिक नौ/दश लाख बराबरको बाख्रा सजिलै बिक्री गर्दैआएका छन् । उक्त क्षेत्रबाट वार्षिक दुई करोडको बिक्री भएको अध्यक्ष थापा बताउनुहुन्छ । बाख्रापालन क्षेत्रमा सामुदायिक स्तरमा यति धेरै समुदायलाई एकमुष्ट आर्थिक क्षेत्रमा समावेश गराएको नेपालकै नमुना भएको दाबी गरिएको छ । सात वटा बोका अष्ट्रेलियाबाट ल्याएर शतप्रतिशत अनुदानमा त्यसक्षेत्रका कृषकलाई प्रदान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भिमाद नगरपालिकाको पाथार्दी र भानुनगरपालिकाको वरभञ्ज्याङ गरी दुई स्थानमा बोयर जातको बाख्रा पालन हुँदैआएको छ । बोर बोका नश्ल सुधारको लागि प्रदान गरिँदैआए पनि पछिल्लो समय मासुको लागि प्रभावकारी बन्दैगएको उहाँले बताउनुभयो । 'पाथार्दीमा बाख्रा विकास कार्यक्रमअन्तर्गत छुट्टै बच्चा उत्पादन गर्ने योजना रहेको छ । बाख्रामा कति प्रतिशत क्रस भएको छ', त्यसको अनुसन्धान गर्दैलैजाने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठ बताउनुहुन्छ ।

सात वर्षअघि नेपाल सरकारले पाथार्दी बोयर बाख्रा स्रोत केन्द्र बनाउने योजना अनुरुप कृषकहरूलाई खोरगोठको नमुना, समूह गठन, पाथार्दी बोर बाख्रा स्रोत विकास केन्द्र नामाकरण गरेर उत्प्रेरणा गराउनुको साथै प्राविधिक सहयोग गरेको थियो । छ वर्षअघि हेफर इन्टरनेशलन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले खोर निर्माण गर्ने, महिलाहरूलाई सङ्गठित गर्ने आन्तरिक पूँजी परिचालन गर्न सिकाउने, व्यक्तित्व विकास गर्ने र पशु व्यवस्थापनलगायत कार्य गर्न थालेपछि यहाँका कृषकहरू आर्कर्षित भएका हुन् ।

विश्व खाद्य सुरक्षा परियोजनाले उक्त केन्द्रलाई जमेको वीर्य प्रदान गरेपछि बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरको प्राविधिक सहयोगमा बाख्रामा कृत्रिम गर्भधानसमेत गराएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप